जुम्ला,१४ भदौ ।
जुम्लामा काँचै स्याउ टिपेर बजार पठाउने पुरानो प्रवृत्ति रोक्दै परिपक्व स्याउ मात्रै बजारमा पठाउने नयाँ अभ्यास सुरु गरिएको छ। स्याउको गुणस्तर कायम राख्दै किसानले उचित मूल्य पाउने वातावरण बनाउन जिल्लामै पहिलोपटक स्याउ टिपाइ महोत्सव आयोजना गरी औपचारिक रूपमा स्याउ टिप्ने अभियान सुरु गरिएको हो।
तातोपानी गाउँपालिका–६ गैरा भवानीस्थित सामूहिक स्याउ बगैँचाबाट यस वर्षको औपचारिक स्याउ टिपाइ अभियान सुरु गरिएको हो। तातोपानी गाउँपालिका, कृषि विकास कार्यालय जुम्ला र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको संयुक्त आयोजनामा भएको महोत्सवले उत्पादनसँगै स्याउको गुणस्तर, उचित मूल्य र व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिएको छ।
गैरा भवानीमा ५२ किसानका ६ हजार ५ सय स्याउका बोट छन्। सात हेक्टर एक सय ४० रोपनी क्षेत्रफलमा फैलिएको बगैँचाबाट यस वर्ष करिब ३४ देखि ३५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित स्याउ बिक्रीबाट ३० लाख ६० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको छ।
महोत्सवकै अवसरमा किसान र बजारीकरण गर्ने संस्थाबीच बगैँचामै प्रतिकिलो ९० रुपैयाँमा स्याउ खरिद गर्ने सम्झौता भएको छ। उत्पादित स्याउको बिक्री तथा बजारीकरणका लागि चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरिएको हो।
विगतमा बजारको माग, मूल्य पाउने आशा र सडकमार्गबाट हुने ढुवानीको अनिश्चितताका कारण किसानले हतारमा काँचै स्याउ टिपेर बाह्य बजार पठाउने गरेका थिए। यसले जुम्ली स्याउको गुणस्तरमाथि प्रश्न उठ्नुका साथै किसानले समेत उचित मूल्य पाउन नसकेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।
यसपटक भने परिपक्व स्याउ मात्रै टिपेर बजार पठाउने अभ्यास सुरु गरिएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार भदौको पहिलो सातापछि टिपिएको स्याउमा रस, गुलियोपन र रंग राम्रोसँग विकास हुन्छ। परिपक्व स्याउ लामो समयसम्म टिक्ने, स्वादिलो हुने र बजारमा राम्रो मूल्य पाउने भएकाले किसानलाई हतारमा स्याउ नटिप्न आग्रह गरिएको उहाँले बताउनुभयो।
जिल्लाका विभिन्न क्षेत्रमा लगाइएका स्याउका जात टिप्न योग्य अवस्थामा पुगेको भन्दै उहाँले महोत्सवपछि स्थानीय तहअनुसार स्याउ टिपेर बाह्य बजारमा पठाउने क्रम बढ्ने जानकारी दिनुभयो।
किसान लक्ष्मीचन्द्र विष्टले यस वर्ष ढिलो गरी स्याउ टिप्न थालेपछि फलको आकार र तौल बढेको अनुभव सुनाउनुभयो। विगतमा छवटा स्याउले एक किलो पुग्ने गरेकामा अहिले चारवटा स्याउले नै एक किलो पुग्ने गरेको उहाँले बताउनुभयो।
“विगतमा प्रतिकिलो ६० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका थियौँ। भदौको दोस्रो सातातिर टिपिएको स्याउ पोटिलो, रसिलो र स्वादिलो हुन्छ,” उहाँले भन्नुभयो। काँचै स्याउ टिपेर बिक्री गर्दा किसानले राम्रो मूल्य नपाएको र बजारमा समेत जुम्ली स्याउको गुणस्तरमाथि प्रश्न उठ्ने गरेको उहाँको भनाइ छ।
बगैँचामै मूल्य निर्धारण गरेर परिपक्व स्याउ बिक्री गर्न पाउँदा किसान उत्साहित भएको विष्टले बताउनुभयो।
महोत्सवमा सहभागीले किसानका बगैँचामै पुगेर स्याउ टिपेका थिए। प्रत्येक सहभागीले दुई किलोका दरले स्याउ टिपेर उपहारका रूपमा लगेका थिए। सहभागीले बगैँचामै न्यूनतम प्रतिकिलो एक सय रुपैयाँका दरले स्याउ खरिदसमेत गरेका थिए।
स्याउ टिप्ने क्रममा बगैँचामा हुने क्षतिको रकम कृषि विकास कार्यालयले सम्बन्धित किसानलाई उपलब्ध गराउने जनाएको छ।
महोत्सव उद्घाटन गर्दै पूर्ववन तथा वातावरणमन्त्री माधव चौलागाईंले जुम्ली स्याउको मौलिक पहिचान जोगाउनुपर्ने बताउनुभयो। स्याउ जुम्लाको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको उल्लेख गर्दै उहाँले उत्पादनसँगै बजारीकरण, सडक तथा अन्य पूर्वाधार सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो।
जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले स्याउलाई जुम्लाको पहिचानसँगै आम्दानीको प्रमुख स्रोत बनाउन उत्पादन वृद्धि, गुणस्तर सुधार र बजार विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो। आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन र गुणस्तर दुवै बढाउन सकिने उहाँको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जुम्ली स्याउको पहिचान कायम राख्दै सुरक्षित ढुवानी र व्यवस्थित बजारीकरणका लागि सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। जिल्ला प्रहरी प्रमुख चिरञ्जीवी दाहालले कृषि उपजको सुरक्षित ढुवानी र बजारसम्म सहज पहुँचका लागि सुरक्षा तथा यातायात व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
यसैबीच बुधबार सिँजा गाउँपालिकामा पनि स्याउ दिवस मनाइएको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार सिँजाका किसानलाई स्याउ टिपेर बिक्री गर्न खुला गरिएको छ। कार्यक्रममा किसानका समस्या, बगैँचा सुधार, समाधानका उपाय तथा आगामी दिनमा स्याउ खेती प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको थियो।
कृषि विकास कार्यालयका अनुसार जुम्लामा चार हजार ६ सय चार दशमलव ५३ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। जिल्लाका करिब १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीसँग स्याउका बगैँचा रहेका छन्।









