बाँके ,१३ भदौ।
रसुवा जिल्लामा आएको भीषण बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिका–११, लोकनगर निवासी २३ वर्षीय कविरलाल थारूको आज बिहान ९ बजे कोहलपुरस्थित शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ ।
करिब एक वर्षदेखि रसुवास्थित एक हाइड्रोपावरमा काम गर्दै आएका कविरलाल बाढी आएपछि सम्पर्कविहीन भएका थिए । उनको शव नारायणी नदीमा फेला परेको थियो ।
कविरलालका दाजु सुग्रिब थारूले चितवन पुगेर शवको पहिचान गरेका थिए । बाढी आएको खबर पाएपछि भाइको अवस्थाबारे चिन्तित बनेका सुग्रिबले पटक–पटक मोबाइलमा सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि चितवन पुगेको बताए ।
भावुक हुँदै उनले भने, “नयाँ वर्ष मानेर पछि आउँछु भनेको भाइ फर्केर आएन ।”
१० जनाको परिवारमा चार भाइमध्ये कविरलाल साइलो भाइ थिए । रसुवामा बाढी आएको खबरपछि परिवारमा चिन्ता बढेको र अन्ततः भाइको शव बुझेर घर ल्याउनुपरेको सुग्रिबले बताए ।
सरकारले शव घरसम्म ल्याउन एम्बुलेन्सको व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार कविरलालको शव गएराति करिब १२ बजे कोहलपुर ल्याइएको सुग्रिबले जानकारी दिए ।
उनका अनुसार कविरलालको आज बिहान ९ बजे कोहलपुरस्थित शवदाह गृहमा अन्त्येष्टि गरिनेछ ।









