जाजरकोट, ३० भदौ ।
१७ कात्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले घरबारविहीन बनाएका जाजरकोटका नागरिक अझै स्थायी आवासको पर्खाइमा छन्। भूकम्पपछि सरकारले उपलब्ध गराएको अस्थायी टहरोमा बस्दै आएका उनीहरूमाथि अहिले बाढी र पहिरोको अर्को विपत्ति थपिएको छ।
भूकम्प गएको तीन वर्ष पुग्न लाग्दासमेत निजी आवास पुनर्निर्माण र प्रवलीकरणको कामले अपेक्षित गति लिन नसक्दा हजारौँ प्रभावित परिवार अस्थायी टहरामै बस्न बाध्य छन्। यही अवस्थामा आएको बाढी र पहिरोले कतिपय भूकम्पपीडितको अस्थायी आश्रयसमेत बगाउन थालेपछि उनीहरू फेरि विस्थापित हुने अवस्थामा पुगेका छन्।
भूकम्पबाट जाजरकोटका भेरी र नलगाड नगरपालिका क्षेत्रमा ठूलो क्षति भएको थियो। भूकम्पमा परी जाजरकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। घर पुनर्निर्माणको पर्खाइमा रहेका नागरिकले अस्थायी टहरामै दुई वर्षभन्दा बढी समय बिताइसकेका छन्। तर स्थायी घरमा फर्कने उनीहरूको सपना अझै पूरा हुन सकेको छैन।
सोमबार नलगाड नगरपालिका–१ र २ को बीचमा पर्ने बौलाह खोलामा वर्षापछि आएको बाढीले भूकम्पपीडितका अस्थायी आवाससहित पसल तथा अन्य संरचनामा ठूलो क्षति पुर्याएको छ।
इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक किरण सापकोटाका अनुसार बाढीबाट मानवीय क्षति भने हुन पाएन। तर बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीले नलगाड–१, बैरितालका मानबहादुर विकको तीनकोठे अस्थायी टहरा पूर्ण रूपमा बगाएको छ। सोही ठाउँकी बविता महराको अस्थायी टहरा र किराना पसल, कृष्ण महराको एककोठे अस्थायी टहरा, मेघराज कुमाईले बोइलर कुखुराको दाना राख्न प्रयोग गरेको टहरा तथा नन्दे महराको कपडा पेल्ने मेसिनसहितको अस्थायी टहरामा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ।
स्थानीय बलबहादुर विकको किराना पसल रहेको अस्थायी टहरा पनि बाढीले पूर्ण रूपमा बगाएको छ। जनक भण्डारीको अस्थायी टहरामा सञ्चालनमा रहेको फ्रेस हाउस र त्यहाँ रहेका करिब एक हजारभन्दा बढी बोइलर कुखुरा बाढीले बगाएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो।
त्यस्तै, दले कामीको अस्थायी टहरामा रहेको किराना पसलमा हिलो र पानी पसेर आंशिक क्षति पुगेको छ। स्थानीय छवि महराको भे १ ह २६३३ नम्बरको अटो र हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्र्याक्टर पनि माटोले पुरिएर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। नलगाड–२ का सत्यदेव चनाराको पानीघट्टसमेत बाढीले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ।
अस्थायी टहरो पनि सुरक्षित रहेन
भूकम्पले घर ढालेपछि सरकारले स्थायी आवास निर्माण गरिदिने आश्वासन दिएर अस्थायी टहरामा राखेका नागरिकका लागि अहिले त्यही टहरो पनि सुरक्षित आवास बन्न सकेको छैन। पुनर्निर्माणको पर्खाइमा वर्षौँदेखि अस्थायी संरचनामा बस्दै आएका परिवारलाई बाढी र पहिरोले पुनः विस्थापित बनाएको छ।
स्थायी घर नबन्दा एकातिर भूकम्पको त्रासबाट मुक्त हुन नसकेका नागरिक अर्कोतर्फ बर्खाको बाढी र पहिरोको जोखिममा बस्न बाध्य छन्। अस्थायी टहरोमा बितेको समय लम्बिँदै जाँदा बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपांगता भएका व्यक्तिको दैनिकी झन् कठिन बन्दै गएको छ।
भेरीमा पहिरोले सयौँ परिवार प्रभावित
बाढी र पहिरोको जोखिम नलगाडमा मात्रै सीमित छैन। गत ३० साउनमा परेको अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ गाउँको सिरानबाट खसेको पहिरोले ३२३ घर प्रभावित भएका थिए। पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।
पहिरोमा पुरिएर भेरी नगरपालिका–२, चिसापानीका ७४ वर्षीय भीमबहादुर कार्की र केदारबहादुर कार्की तथा सोही वडाको फारुला गाउँका उमाप्रसाद खत्री र रती खत्रीले ज्यान गुमाएका थिए।
पहिरोका कारण घर बस्न नमिल्ने भएपछि अहिले ४६९ जना विभिन्न स्थानमा निर्माण गरिएका अस्थायी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। उनीहरूमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संख्या उल्लेख्य छ।
भेरी नगरपालिकाको विपद् शाखाका प्रमुख यज्ञप्रसाद गौतमका अनुसार सेल्टरमा १३३ बालबालिका, पाँच गर्भवती महिला र पाँच अपांगता भएका व्यक्ति आश्रय लिइरहेका छन्। रिसाङ गाउँका १२, स्याँलाका एक र कोलचौरका एक गरी १४ घरमा पहिरोले पूर्ण क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो।
‘शरीर सेल्टरमा छ, मन गाउँमै छ’
पहिरोपछि अस्थायी सेल्टरमा बस्न बाध्य भएका नागरिकका लागि सरकारले तत्कालको आश्रयको व्यवस्था गरे पनि उनीहरूको मन भने आफ्नै गाउँ र घरवरपर नै अड्किएको छ। भूकम्पको पीडा नसेलाउँदै पहिरोको त्रास थपिँदा प्रभावित परिवार मानसिक रूपमा समेत तनावमा छन्।
रिसाङ गाउँकी ६२ वर्षीया धनसरी कामीलाई अहिले परिवारलाई कहाँ र कसरी राख्ने भन्ने चिन्ताले सताएको छ। पहिरोले गाउँको ठूलो भूभागमा चिरा पारेकाले तत्काल घर फर्कन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ।
“गाउँको सिरानमा पहिरोले ठूलो क्षति पुर्याएको छ। पहिरोले अधिकांश क्षेत्रमा चिरा पारेकाले तत्काल घरमा फर्कन सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो।
उहाँका अनुसार गाउँको सिरानमा सडक खनेपछि माथिल्लो भूभाग कमजोर बनेको थियो। अहिले वर्षापछि त्यही क्षेत्रबाट पहिरो खस्दा सिंगो गाउँ नै जोखिममा परेको उहाँको भनाइ छ।
“सडक खनेपछि माथिल्लो भाग कमजोर भएको थियो। अहिले वर्षापछि त्यही क्षेत्रबाट पहिरो खस्दा गाउँ नै जोखिममा परेको छ,” उहाँले भन्नुभयो।
पहिरोले आफ्नो जमिनसमेत बगाएपछि परिवारलाई सुरक्षित रूपमा कहाँ राख्ने भन्ने चिन्ता थपिएको बताउँदै उहाँले प्रभावित बस्तीको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले तत्काल बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने माग गर्नुभयो।
आवास अनुदानका लागि तीन वर्ष कुर्नुपर्यो
भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण र प्रवलीकरणका लागि सरकारले दिने भनेको अनुदान प्राप्त गर्नसमेत जाजरकोटका भूकम्पपीडितले लामो समय कुर्नुपरेको छ।
भूकम्प गएको ३४ महिनापछि मात्रै जाजरकोटका १८८ जना लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको रकम पठाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई पहिलो किस्ताबापत प्रतिघरधुरी ५० हजार रुपैयाँ उपलब्ध गराइएको हो।
विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदानसम्बन्धी दोस्रो संशोधन कार्यविधि, २०८३ अनुसार लाभग्राहीसँग सम्झौता भएपछि आवास अनुदान रकम उनीहरूको खातामा पठाइएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
पहिलो किस्ताबाट लाभग्राहीले आवास निर्माणलाई प्लिन्थ लेभलसम्म पुर्याउनुपर्नेछ। त्यसपछि प्राविधिक जाँच पास भएको प्रतिवेदनका आधारमा दोस्रो किस्ता उपलब्ध गराइने जनाइएको छ।
तर भूकम्पपीडितका लागि समस्या केवल अनुदानको रकम पाउनुमा सीमित छैन। घर ढलेको तीन वर्ष पुग्न लाग्दासमेत स्थायी आवास निर्माण हुन नसक्नु, अस्थायी टहरो बाढी र पहिरोको जोखिममा पर्नु र फेरि विस्थापित हुनुपर्ने अवस्थाले पुनर्निर्माणको ढिलाइले निम्त्याएको अर्को संकटलाई उजागर गरेको छ।
भूकम्पपछि अस्थायी टहरोमा सरेका जाजरकोटका नागरिक अब स्थायी घरको प्रतीक्षामा मात्रै छैनन्, बाढी र पहिरोबाट सुरक्षित बासको समेत खोजीमा छन्। पुनर्निर्माणको कामले गति नलिए उनीहरूको अस्थायी जीवन अझै कति वर्ष लम्बिने हो भन्ने प्रश्नसमेत उत्तिकै गम्भीर बनेको छ।









