राप्तीसोनारीमा चौबीसै घण्टा अस्पताल सेवा, गाउँमै उपचार पाउने भएपछि स्थानीय हर्षित

  • नमस्ते कर्णाली

  • बाँके ,३० भदौ।
    बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा राप्तीसोनारी अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले गाउँमै चौबीसै घण्टा स्वास्थ्य सेवा पाउन थालेका छन्। अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारदेखि आकस्मिक र प्रसूति सेवाका लागि कोहलपुर तथा नेपालगञ्ज पुग्नुपर्ने स्थानीयको बाध्यता कम हुने अपेक्षा गरिएको छ।
    यसअघि सामान्य बिरामी पर्दासमेत उपचारका लागि कोहलपुर वा नेपालगञ्ज पुग्नुपर्ने अवस्था थियो। विशेषगरी रातको समयमा सवारीसाधन खोज्नुपर्ने, लामो दूरी यात्रा गर्नुपर्ने र समयमै उपचार नपाउने जोखिम स्थानीयले भोग्दै आएका थिए। प्रसूति सेवाका लागि महिलाले समेत घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता थियो।
    भदौ १ गतेदेखि सञ्चालनमा आएको अस्पतालले हाल एक जना चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीबाट आकस्मिक तथा नियमित उपचार सेवा प्रदान गरिरहेको छ। अस्पतालमा सामान्य उपचार, आकस्मिक सेवा, प्रसूति तथा बाल स्वास्थ्य सेवामा प्राथमिकता दिइएको छ।
    गाउँमै अस्पताल सञ्चालन भएपछि स्थानीयवासीमा तत्काल उपचार पाउने आशा बढेको छ। स्थानीय बिनय केसिले यसअघि सामान्य बिरामी पर्दासमेत कोहलपुर पुग्नुपर्ने बाध्यता रहेकोमा अहिले गाउँमै उपचार पाउने अवस्था बनेकाले निकै सहज भएको बताउनुभयो। उहाँले अस्पतालमा चौबीसै घण्टा स्वास्थ्यकर्मी र आवश्यक औषधि उपलब्ध हुने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
    त्यस्तै, अएका स्थानीय गोपाल थारुले विशेषगरी रातको समयमा बिरामी पर्दा अस्पताल लैजान निकै समस्या हुने गरेको स्मरण गर्दै गाउँमै आकस्मिक सेवा सुरु हुनु स्थानीयका लागि ठूलो राहत भएको बताउनुभयो। उहाँले प्रसूति, सर्पदंश, दुर्घटना तथा अन्य आकस्मिक अवस्थामा तत्काल उपचार पाउने व्यवस्था अझै बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।
    गाउँपालिकाका अनुसार आगामी असोजदेखि प्रसूतिको शल्यक्रियासहित केही अन्य शल्यक्रिया सेवा विस्तार गर्ने तयारी भइरहेको छ। त्यस्तै, विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउन भेरी अस्पतालसँग सहकार्य गर्ने तयारी गरिएको छ। सहकार्यअन्तर्गत भेरी अस्पतालका विशेषज्ञ चिकित्सकलाई मासिक रूपमा राप्तीसोनारी अस्पतालमा ल्याएर सेवा दिने योजना गाउँपालिकाको छ।
    गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले अस्पताल सञ्चालन गर्नु पहिलो चरण भएकाले अब सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकता दिइने बताउनुभयो। आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधार क्रमशः थप गर्दै स्थानीयवासीलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उहाँको भनाइ छ।
    प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अस्पताललाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि तथा उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइएको बताउनुभयो।
    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडाध्यक्ष मिनराज खड्काले अस्पताललाई नाम मात्रको स्वास्थ्य संस्था नभई प्रभावकारी सेवा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
    ग्रामीण क्षेत्रमा सर्पदंश, दुर्घटना, आकस्मिक बिरामी तथा प्रसूतिका क्रममा देखिने जटिल अवस्थामा समयमै उपचार पाउनु महत्वपूर्ण मानिन्छ। त्यसैले राप्तीसोनारीमा चौबीसै घण्टा अस्पताल सेवा सुरु हुनु स्थानीयस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तारतर्फ महत्वपूर्ण सुरुवातका रूपमा लिइएको छ।
    अस्पतालमा आवश्यक जनशक्ति, औषधि तथा उपकरणको नियमित उपलब्धता सुनिश्चित गर्दै विशेषज्ञ सेवा पनि प्रभावकारी बनाउन सके उपचारका लागि कोहलपुर र नेपालगञ्ज धाउनुपर्ने स्थानीयवासीको बाध्यता थप घट्ने अपेक्षा गरिएको छ।

  • ३० भाद्र २०८३, मंगलवार १०:०९ प्रकाशित

  • Nabintech