सिमकोट गाउँपालिका स्वास्थ्य क्षेत्र अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा लगातार चौथो आर्थिक वर्ष पनि प्रथम हुन सफल भएको छ ।
आर्थिक वर्ष २०८३/०८४ को जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सिमकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाह तथा सञ्चालित स्वास्थ्य कार्यक्रमका विभिन्न प्रगति सूचकमा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाका ७ वटा स्थानीय तहमध्ये प्रथम स्थान हासिल गरेको हो । यसअघि पनि सिमकोट गाउँपालिका लगातार तीन आर्थिक वर्ष जिल्ला प्रथम हुँदै आएको थियो । यससँगै स्वास्थ्य क्षेत्रमा सिमकोटले लगातार चार आर्थिक वर्ष जिल्ला प्रथम हुने उपलब्धि हासिल गरेको हो ।
आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा ७९.३ प्रतिशत अंक प्राप्त गरी जिल्लाका स्थानीय तहमध्ये प्रथम स्थान हासिल गरेको सिमकोटले स्वास्थ्य सेवा तथा कार्यक्रम कार्यान्वयनमा निरन्तर उत्कृष्टता कायम गर्दै आएको छ । स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा, कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा विभिन्न स्वास्थ्य सूचकमा भएको प्रगतिका आधारमा गाउँपालिकाले यो उपलब्धि हासिल गरेको हो ।
लगातार चार वर्ष जिल्ला प्रथम हुने उपलब्धिले सिमकोट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा गरिएको संस्थागत प्रयास, स्वास्थ्यकर्मीहरूको निरन्तर सक्रियता तथा जनमुखी सेवा प्रवाहलाई थप उत्साह प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
यो उपलब्धिमा सिमकोट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुखहरू, सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले नमस्ते कर्णाली लाई जानकारी दिनु भयो । स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख, विभिन्न फोकल पर्सन तथा जिल्लाका अन्य स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूको समन्वय र सहकार्यले पनि स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पुगेको जनाइएको छ ।
स्वास्थ्य क्षेत्रमा सहकार्य तथा साझेदारी गर्दै आएका आधार विकास हुम्ला, SIDC/One Heart Worldwide, GNI, MDI-Nepal लगायतका साझेदार संघ–संस्थाप्रति पनि गाउँपालिकाले विशेष आभार व्यक्त गरेको छ । साथै स्वास्थ्य क्षेत्रका गतिविधि तथा उपलब्धिलाई आमनागरिकसम्म पुर्याउन सहयोग गर्ने सञ्चारकर्मी तथा सञ्चार माध्यमहरू प्रति समेत धन्यवाद व्यक्त गरिएको छ ।
सिमकोट गाउँपालिकाले यो उपलब्धिलाई केवल पुरस्कार वा मूल्याङ्कनको परिणामका रूपमा नभई स्वास्थ्य सेवा अझ गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री बनाउने थप जिम्मेवारी र अवसरका रूपमा लिएको जनाएको छ । आगामी दिनमा पनि स्वास्थ्यकर्मीहरूको पेशागत दक्षता, इमानदारी र प्रतिबद्धतालाई जनताको सेवामा समर्पित गर्दै स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तार गर्ने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ ।
लगातार चार आर्थिक वर्ष स्वास्थ्य कार्यक्रममा जिल्ला प्रथम हुन सफल हुनु सिमकोट गाउँपालिकाका लागि गौरवको विषय हुनुका साथै स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्ति, साझेदार संस्था तथा सरोकारवालाको सामूहिक प्रयासको परिणामका रूपमा लिइएको छ ।









