संगम सांस्कृतिक गानेचौर घाँसे मेला असोज १ देखि ३ सम्म

स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै देउडा तथा सांस्कृतिक कार्यक्रमको विशेष आकर्षण


  • अशोक भण्डारी

  • कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुस्थित गानेचौरमा संगम सांस्कृतिक गानेचौर घासे मेला–२०८३ आयोजना हुने भएको छ। लामो समयदेखि स्थानीय कला, संस्कृति, परम्परा तथा मौलिकताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको मेला यस वर्ष पनि स्थानीय आमसमुदायको जनचासो र इच्छालाई मध्यनजर गर्दै असोज १ गते बिहीबारदेखि ३ गते शनिबारसम्म सञ्चालन हुने भएको हो।

    स्थानीय कला, संस्कार र संस्कृतिको पहिचानलाई उजागर गर्दै मनोरञ्जनसँगै सामाजिक तथा सांस्कृतिक एकताको सन्देश दिने उद्देश्यले मेला आयोजना गर्न लागिएको मेला मूल समारोह व्यवस्थापन समितिले जनाएको छ।
    मेलामा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानबाट आउने दर्शक तथा कलाकारहरूको सहभागिता रहनेछ। मेलाको प्रमुख आकर्षणका रूपमा ख्यातिप्राप्त देउडा खेलाडीहरूको बेजोड प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति, विद्यालयस्तरीय नृत्य तथा विभिन्न समूहका देउडा खेल रहने आयोजकले जनाएको छ।
    त्यसैगरी स्थानीय मौलिक संस्कृति झल्काउने झोडा, मागल, भारी खेल, परम्परागत पञ्चेबाजा तथा हुड्केनाच समेत प्रस्तुत गरिनेछ। स्थानीय कृषि उपज तथा अन्य उत्पादनहरूको प्रदर्शनी र बिक्री–वितरणका लागि समेत मेला स्थलमा व्यवस्था गरिने आयोजकको भनाइ छ।
    मेलामा चर्चित देउडा खेलाडीहरू नेत्रराज शाही (मौसम), राम साउँद, यशोदा देवकोटा, रामप्यारी साउँद, कमला रोकाया, अमना रोकाया र गौरी रोकाया लगायतको प्रस्तुति रहनेछ। त्यस्तै लोक तथा देउडा गायक जनक कार्की, कलाकार एवं साहित्यकार रत्नकमल विष्ट तथा हास्य कलाकार मानबहादुर कुँवर (भैरे) को प्रस्तुति रहने आयोजकले जनाएको छ।
    स्थानीय देउडा खेलाडी तथा कलाकारहरू गंग रावल, दुरा बि.क., मनरूप सहकारी (औल्याल), मनबहादुर बटाला, पंख शाही, तपेन्द्र शाही, मंगल शाही, लालपुरा बोहरा, प्रमोद बोहरा, गोर्खबहादुर शाही लगायतको समेत प्रस्तुति रहनेछ।
    मेलामा कर्णाली प्रदेश सभा सदस्य माननीय हिक्मतबहादुर विष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। जिल्ला समन्वय समिति कालिकोटका संयोजक धनजित शाही (आदर्श) विशेष अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यस्तै नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्ट, उपाध्यक्ष कमलकुमार शाही (लिला) लगायतका जनप्रतिनिधि, सामाजिक अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।
    यसैबीच, नरहरिनाथ गाउँपालिका–९ का वडा अध्यक्ष प्रदीप बोहराले स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि यस्ता सांस्कृतिक कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभएको छ। उहाँले गानेचौर घासे मेलाले स्थानीय प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै गाउँको सांस्कृतिक पहिचानलाई व्यापक रूपमा उजागर गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मेलालाई सभ्य, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न स्थानीयवासी, कलाकार, व्यवसायी तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि उहाँले आग्रह गर्नुभएको छ।
    मेला नरहरिनाथ गाउँपालिका–९ लालुस्थित गानेचौर खेल मैदानमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ।
    आयोजकका अनुसार मेलास्थलको तोकिएको चारकिल्लाभित्र मदिरा तथा सरकारद्वारा प्रतिबन्धित वस्तुको बिक्री–वितरण र सेवन पूर्ण रूपमा निषेध गरिएको छ। नियम उल्लंघन गरी बिक्री–वितरण वा सेवन गर्दै हुलहुज्जत तथा अशान्ति सिर्जना गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी आयोजकले दिएको छ।
    मेलालाई सफल बनाउन कृष्णबहादुर शाहीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। मञ्च व्यवस्थापन, प्रचार–प्रसार, अतिथि सत्कार तथा पञ्चेबाजा व्यवस्थापनका लागि छुट्टाछुट्टै उपसमिति परिचालन गरिएको छ।

  • ३१ भाद्र २०८३, बुधबार २१:१४ प्रकाशित

  • Nabintech