सुर्खेत, ६ असोज ।
कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सचिवालय गठन गरेका छन् । साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले झन्डै दुई महिना पुग्न लाग्दा सचिवालय गठन गरेका हुन् ।
‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन’ अनुसार मुख्यमन्त्रीले ८ जना कर्मचारी राख्न पाउँछन् । जस अनुसार एक जना प्रमुख स्वकीय सचिव, दुई स्वकीय सचिव (एक तृतीय श्रेणी वा सो सरह, अर्को प्रथम श्रेणी वा सो सरह), एक जना सूचना/प्रविधि, दुई जना हलुका सवारी चालक र दुई जना कार्यालय सहयोगी राख्न पाउने व्यवस्था छ ।
मुख्यमन्त्री शाहीले हालसम्म आफ्नो सचिवालयमा ५ जनालाई नियुक्त गरेका छन्, जसमध्ये ४ जना उनको आफ्नै गृह जिल्ला मुगुका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, शाहीको प्रमुख स्वकीय सचिवमा नरेश शाही (राकेश) नियुक्त भएका छन् । मंगलबहादुर शाही प्रदेश सभा सदस्यको भूमिकामा मात्र रहँदा पनि नरेश नै स्वकीय थिए भने यसअघि भौतिकमन्त्री हुँदा पनि स्वकीयकै रूपमा कार्यरत थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि पनि राकेश मुख्यमन्त्रीसँगै हुन्थे । मुख्यमन्त्रीको गृहनगर मुगु सोरु गाउँपालिका—१, का शाही तत्कालीन माओवादीले थालेको सशस्त्र युद्धका होलटाइमर लडाकु हुन् । ०५८ सालमा युद्धकालमा होलटाइमर भएका उनले जुम्लादेखि कपिलवस्तुसम्मका विभिन्न लडाइँ लडेका थिए । जनमुक्ति सेनाको कम्पनी कमान्डरसम्म भएका उनी जनयुद्धका घाइते तथा अपाङ्ग हुन् । कक्षा–१२ सम्मको अध्ययन गरेका उनी हाल नेपाली कम्युनिस्ट पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य छन् ।
स्वकीय सचिवका रुपमा नियुक्त भएका अर्का सन्तोष मल्ल मुगुकै छायानाथ रारा नगरपालिका—१ का हुन् । नेकपाको प्रदेश कमिटी वैकल्पिक सदस्य रहेका उनी पहिले एनजीओमा काम गर्थे । सूचना/प्रविधिमा भने गणेशकन्चन भारती नियुक्त भएका छन् । सुर्खेत निवासी उनी माओवादी निकट प्रेस सेन्टरका नेता हुन् । युद्धकालमै जनादेश पत्रिकामा काम गरेका उनी नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्वअध्यक्ष हुन् ।
सुर्खेतमा छापा तथा रेडियो चलाउँदै आएका उनी रेन्टुरेन्ट व्यवसायी पनि हुन् । कार्यालय सहयोगीमा नियुक्त भएका जस विष्ट पनि मुगुको सोरुकै हुन् भने सवारी चालकमा नियुक्त गरिएका मेलबहादुर भण्डारी मुगुकै छायानाथ रारा नगरपालिका—१४ का हुन् ।
मुख्यमन्त्रीले आवश्यकता अनुसार विज्ञ सल्लाहकारहरू पनि राख्ने गरेका छन् । यसअघिका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञ सल्लाहकार राखेका थिएनन् । त्यही भएर अहिले विज्ञ सल्लाहकारका लागि छुट्टै बजेट विनियोजन गरिएको छैन ।
स्रोतका अनुसार, मुख्यमन्त्री शाहीले विज्ञ सल्लाहकार राख्ने वा नराख्ने भन्ने विषयमा कुनै योजना बनाएका छैनन् । मुख्यमन्त्री शाहीको निजी सचिवको जिम्मेवारीमा मुकुन्द्र शर्मा छन् ।









