टीबीएमले तोकिएको समयअगावै सुरुङ छिचोल्यो, तर भेरी–बबई आयोजना अझै ७० प्रतिशतमा सीमित

  • नमस्ते कर्णाली

  • सुर्खेत ,१४ असोज ।

    राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरी निर्धारित समयभन्दा अगावै १२ दशमलव २० किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेर चर्चा कमाएको आयोजना अहिले भने निर्माणमा ढिलाइका कारण अल्झिएको छ।
    आर्थिक वर्ष २०६८/६९ देखि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा अघि बढाइएको भेरी–बबईले पाँच वर्षभित्र अर्थात् आर्थिक वर्ष २०७७/७८ मै सम्पन्न हुने लक्ष्य राखेको थियो। तर, गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६८ प्रतिशतमा सीमित रहेको छ।
    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागबाट कार्यान्वयन भइरहेको यो आयोजना नेपाल सरकारकै स्रोतमा निर्माण भइरहेको बहुउद्देश्यीय जलपथान्तरण आयोजना हो। अद्यावधिक गुरुयोजनाअनुसार आयोजनाको कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षसम्म आयोजनामा १९ अर्ब ४४ करोड रुपैयाँ खर्च भइसकेको छ।
    आयोजनाले संशोधित कार्यतालिकाअनुसार आर्थिक वर्ष २०८७/८८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। आयोजना सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर हरिबहादुर थापाका अनुसार पछिल्लो समय निर्माणको गति बढाउने गरी काम भइरहेको छ।
    उहाँका अनुसार निर्माण व्यवसायीसँग सम्बन्धित विषय तथा विभिन्न प्राविधिक कारणले आयोजना निर्माणमा ढिलाइ भएको हो। अब दुईदेखि तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने कार्यतालिकाअनुसार काम अघि बढाइएको उहाँले बताउनुभयो।
    ‘यसअघि निर्माण व्यवसायीसँगै विविध प्राविधिक कारणले आयोजना निर्माणमा केही बिलम्ब भएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘अब दुई/तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने कार्यतालिकाअनुसार कामको गति अघि बढ्छ। निर्माण व्यवसायीले सर्तसहित तोकिएको मितिमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएकाले पनि आयोजनाले गति लिने अपेक्षा छ।’
    ४८.८ मेगावाट विद्युत् उत्पादनको लक्ष्य
    सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा भेरी नदीमा एक सय ४५ मिटर लामो ब्यारेज निर्माण गरी एक सय ५७ मिटर लामो सेटलिङ बेसिन हुँदै ४ दशमलव २ मिटर व्यास र १२ दशमलव २० किलोमिटर लामो सुरुङमार्फत पानी बबई नदीमा खसाल्ने आयोजनाको योजना छ।
    भेरीगंगा नगरपालिका–५ हात्तिखालमा पानी खसालेर ४८ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट भेरी नदीको ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा पुर्‍याइनेछ।
    भेरीबाट बबईमा थपिने पानीमार्फत बबई सिँचाइ आयोजनाबाट बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ।
    यसैगरी बबई नदीमा उपलब्ध हुने पानीमध्ये करिब १५ घनमिटर प्रतिसेकेन्ड बहाव उपयोग गरी बबई–मानखोला डाइभर्सन आयोजना निर्माण गर्ने लक्ष्यसमेत भेरी–बबई आयोजनाले राखेको छ। त्यसैले आयोजना विद्युत् उत्पादनमा मात्रै सीमित नभई सिँचाइ विस्तार र पानीको बहुउद्देश्यीय उपयोगसँग जोडिएको छ।
    प्राविधिक जनशक्तिको अभाव पनि चुनौती
    राष्ट्रिय गौरवको आयोजना भए पनि भेरी–बबईले आवश्यक प्राविधिक जनशक्तिको अभाव झेलिरहेको छ। आयोजनामा कुल ३४ कर्मचारीको दरबन्दी स्वीकृत भए पनि आयोजना निर्देशकसहित २२ जनामात्रै कार्यरत छन्।
    स्वीकृत २२ प्राविधिक दरबन्दीमध्ये ११ पदमा मात्रै पदपूर्ति भएको छ। कार्यरत केही इन्जिनियरसमेत सरुवा हुने प्रक्रियामा रहेकाले प्राविधिक जनशक्तिको संख्या अझ घट्न सक्ने सूचना अधिकारी थापाले बताउनुभयो।
    आयोजनामा सिभिल, हाइड्रोपावर, हाइड्रोजियोलोजी, इलेक्ट्रिकललगायत विभिन्न प्राविधिक समूहका पद रिक्त छन्। लेखातर्फको उपसचिव पदसमेत पदपूर्ति हुन सकेको छैन।
    आयोजनाका एक इन्जिनियरका अनुसार जटिल भौगोलिक अवस्था, नयाँ प्रविधिको प्रयोग र जटिल डिजाइनका कारण आयोजनामा आउने कतिपय प्राविधिक कर्मचारी लामो समय बस्न इच्छुक देखिँदैनन्। निश्चित अवधि काम गर्नुपर्ने व्यवस्था नहुँदा कर्मचारीले आफूअनुकूल सरुवा मागेर जाने अवस्था रहेको उहाँको भनाइ छ।
    यति ठूलो लागत र राष्ट्रिय प्राथमिकतासहित अघि बढाइएको आयोजनामा आवश्यक प्राविधिक जनशक्ति नहुँदा निर्माण अनुगमन तथा व्यवस्थापनमा समेत चुनौती थपिएको छ।
    कुन प्याकेजको प्रगति कति ?
    भेरी–बबई आयोजना पाँच मुख्य प्याकेजमार्फत अघि बढाइएको छ। पहिलो प्याकेजअन्तर्गत सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ। बाँकी प्याकेजमा सिभिल संरचना, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने संरचना निर्माण रहेका छन्।
    पहिलो प्याकेजअन्तर्गत चीनको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले १० अर्ब ५६ करोड ९६ लाख रुपैयाँमा सुरुङ निर्माणको जिम्मा लिएको थियो। २०७१ माघ १५ मा सम्झौता भएको यो प्याकेजअन्तर्गत नेपालमै पहिलोपटक टीबीएम प्रविधि प्रयोग गरिएको थियो।
    सम्झौता मितिभन्दा अगावै २०७६ वैशाख ३ गते ४ दशमलव २० मिटर व्यास भएको १२ दशमलव २० किलोमिटर लामो सुरुङ छिचोलिएको थियो। सुरुङ निर्माण तोकिएको समयभन्दा अगावै सम्पन्न भएपछि आयोजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा पाएको थियो।
    तर, त्यसपछि सुरु भएको मुख्य सिभिल संरचना निर्माण भने अपेक्षित गतिमा अघि बढ्न सकेन।
    दोस्रो प्याकेजअन्तर्गत बाँध, सर्ज साफ्ट, पेनस्टक र पावरहाउसका सिभिल संरचना निर्माण भइरहेका छन्। २०७६ साउन १३ गते ग्वाङडोङ युआन्तियान/रमन जेभीसँग ६ अर्ब ८८ करोड ८९ लाख रुपैयाँमा सम्झौता भएको थियो। २०८० साउनभित्र सम्पन्न हुनुपर्ने यो प्याकेजको भौतिक प्रगति हालसम्म ४८ प्रतिशत मात्रै छ।
    मुख्य सिभिल संरचनामा भइरहेको ढिलाइका कारण त्यसपछिका प्याकेजसमेत प्रभावित भएका छन्। कोभिड महामारीका समयमा निर्माण सामग्रीको अभाव, परामर्शदाता कम्पनी कालोसूचीमा पर्नु तथा विभिन्न प्राविधिक समस्याका कारण आयोजना लम्बिएको जनाइएको छ।
    आयोजनाका अनुसार मुख्य बाँधका ६ वटा बेमध्ये दुई वटा सम्पन्न हुने चरणमा पुगेका छन्। सेटलिङ बेसिनको करिब ७० प्रतिशत काम सकिएको छ। पेनस्टक पाइपका लागि एंकर ब्लक, विद्युत्गृह र सर्ज साफ्ट निर्माणको कामसमेत जारी छ।
    तेस्रो प्याकेजअन्तर्गत हाइड्रोमेकानिकल संरचना निर्माणको सम्झौता २०७८ मंसिर ७ गते भएको थियो। चीनको झेजियाङ ओरिएन्ट इन्जिनियरिङले दुई अर्ब १३ करोड ७४ लाख ९३ हजार रुपैयाँमा यसको जिम्मा लिएको छ। २०८१ पुस ४ गते सम्पन्न हुनुपर्ने यो प्याकेजको भौतिक प्रगति हालसम्म ६० प्रतिशत छ। गेट स्टपलग तथा पेनस्टक पाइप उत्पादनको काम करिब ८५ प्रतिशत सकिएको र साइटमा जडान सुरु भएको आयोजनाले जनाएको छ।
    चौथो प्याकेजअन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ। २०७९ साउन १९ गते चीनको झेजियाङ ओरिएन्ट इन्जिनियरिङसँग तीन अर्ब २८ करोड ८० लाख २२ हजार रुपैयाँमा सम्झौता भएको थियो। २०८२ भदौ १४ गते सम्पन्न हुनुपर्ने यो प्याकेजको भौतिक प्रगति ५५ प्रतिशत छ।
    आयोजनाका अनुसार यस प्याकेजअन्तर्गत टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर र ओभरहेड क्रेन उत्पादन भइसकेको छ भने जडानको काम बाँकी छ।
    पाँचौँ प्याकेजअन्तर्गत आयोजनाबाट उत्पादन हुने विद्युत् कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोड्न करिब एक हजार सात सय मिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ। यसका लागि आयोजनाले अध्ययन सम्पन्न गरी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत पूरा गरेको जनाएको छ। परामर्शदातामार्फत थप अध्ययनको काम भइरहेको छ।
    सुरुङ निर्माणमा नेपालकै प्रविधिगत इतिहास बनाएको भेरी–बबई आयोजना अहिले मुख्य संरचना निर्माणको ढिलाइ, प्राविधिक जनशक्तिको अभाव र ठेक्कागत जटिलताका कारण लक्ष्यभन्दा निकै पछाडि परेको छ। संशोधित कार्यतालिकाअनुसार अब आर्थिक वर्ष २०८७/८८ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

  • १४ आश्विन २०८३, बुधबार १४:२८ प्रकाशित

  • Nabintech