सुर्खेत, २४ असोज ।
मानसीक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल सिएमसी नेपालको पहलमा काम गरिरहेके सस्था मानसिक स्वास्थ्य स्वावलम्बन समूह सञ्जाल, कर्णाली प्रदेशले शुक्रबार मुख्यमन्त्री मंगलबहादुर शाहीलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धन सम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको छ । कार्यक्रमका निर्देशक हिमाल गैरेको नेत्रत्वमा अएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगरमा भएको भेटमा सञ्जालका प्रतिनिधिहरूले प्रदेशमा आत्महत्याको दर उच्च रहेको, जनचेतनाको अभाव, दक्ष जनशक्तिको कमी र औषधिको पहुँचमा समस्या रहेको भन्दै ८ बुँदे माग सहितको पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हरेक ८ मा १ व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुने, नेपालमा दैनिक करिब २० जनाले आत्महत्या गर्ने गरेको र आर्थिक वर्ष २०८२/०८३ मा मात्र ७ हजार १४० जनाले आत्महत्याका कारण ज्यान गुमाएको उल्लेख छ । विशेष गरी १५ देखि २९ वर्ष उमेर समूहको मृत्युको प्रमुख कारण आत्महत्या हुनु चिन्ताजनक रहेको भन्दै कर्णालीमा यसको रोकथामका लागि प्रदेशस्तरीय नीति र बजेट आवश्यक रहेको सञ्जालले जनाएको छ ।
पत्र बुझेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘मानसिक स्वास्थ्यको समस्या अब लुकाउने विषय रहेन। यो गम्भीर जनस्वास्थ्यको विषय हो । नागरिकको अस्वाभाविक मृत्युको कारण बन्दै गएको आत्महत्या जस्तो समस्यालाई रोक्न प्रदेश सरकार प्रतिबद्ध छ र यस क्षेत्रमा काम गर्न तयार छ ।’
मुख्यमन्त्री शाहीले स्वावलम्बन समूहले उठाएका विषय जायज रहेको र सरकारले आगामी नीति तथा कार्यक्रममा सम्बोधन गर्दै जाने बताए । सञ्जालले कर्णालीका सबै जिल्ला अस्पतालमा मानसिक रोग विशेषज्ञको व्यवस्था गर्न, स्थानीय स्वास्थ्य संस्थाबाटै निःशुल्क औषधि पाउने व्यवस्था मिलाउन, मनोसामाजिक अपाङ्गता परिचयपत्र वितरण प्रक्रिया सहज बनाउन, विपन्न वर्गका लागि जीविकोपार्जन तथा सीप विकास कार्यक्रम ल्याउन र समुदायमा क्रियाशील ३ वटा जिल्लास्तरीय सञ्जाल र ३० भन्दा बढी स्वावलम्बन समूहको क्षमता अभिवृद्धिका लागि बजेट र साझेदारीको व्यवस्था गर्न माग गरेको छ । शनिबार (२४ असाेज) अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । सोही सन्दर्भमा सञ्जालले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।









