खगेन्द्र सुनारलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै रास्वपालाई पत्र

  • नमस्ते कर्णाली

  • रुपन्देही ,२३ असोज ।

    बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि उठेका आरोपको छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै पार्टी नेतृत्वलाई पत्र बुझाइएको छ।
    बाँकेका नागरिक, युवा तथा रास्वपाका मतदाताको गुनासोसहित संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरेर पत्र पठाइएको हो। पत्रमा सुनारलाई ‘राइट टु रिकल’ प्रक्रियामार्फत सांसद पदबाट फिर्ता बोलाउने प्रक्रिया अघि बढाउन माग गरिएको छ।

    पत्रमा निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धताअनुसार काम नगरेको, निर्वाचन क्षेत्रका समस्या समाधान र विकास निर्माणमा पर्याप्त चासो नदिएको आरोप लगाइएको छ। साथै, उनको सार्वजनिक अभिव्यक्ति र गतिविधिले सामाजिक सद्भाव तथा पार्टीको छविमा असर परेको दाबी गरिएको छ।
    सुनारमाथि विभिन्न विषयमा सार्वजनिक रूपमा आरोप उठेको उल्लेख गर्दै पत्रमा सम्बन्धित निकायमा परेका उजुरीको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरिएको छ। आरोप प्रमाणित भएमा कानुन र पार्टीको विधिविधानअनुसार कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।


    पत्र बुझाउने पक्षले जनताको अपेक्षाअनुसार काम नभए आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई समेत राजनीतिक क्षति पुग्न सक्ने चिन्ता व्यक्त गरेको छ। मागलाई गम्भीरतापूर्वक सम्बोधन नगरिए बाँकेवासी शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ।
    पत्रमा केन्द्रीय विधेयक मन्थन विभागका सदस्य, महाधिवेशन प्रतिनिधि तथा बाँकेस्थित अरनिको युवा क्लबका अध्यक्ष विक्रम ओलीले हस्ताक्षर गरेका छन्।

  • २३ आश्विन २०८३, शुक्रबार १६:४२ प्रकाशित

  • Nabintech