सहकारी संस्थाको मूल आधार सुशासन हो : केन्द्रीय सदस्य योगी

  • नमस्ते कर्णाली

  • सुर्खेत,२५ असोज ।

    राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले सहकारी संस्थाको दिगोपन, विश्वसनीयता र प्रभावकारी सञ्चालनका लागि सुशासन, नीति, विधि र प्रणालीको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ।
    जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारणसभालाई शनिबार वीरेन्द्रनगर नगरपालिका–४, कालागाउँस्थित संस्थाको आफ्नै प्राङ्गणमा सम्बोधन गर्दै योगीले सहकारी संस्थाको मूल आधार नै सुशासन भएको उल्लेख गर्नुभयो। उहाँले सञ्चालक, कर्मचारी र सदस्य सबैले संस्थाका नीति, विधि र प्रणालीको पालना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
    स्थापना कालदेखि नै जनहितकारी साकोसले संस्थागत प्रणालीलाई आधार बनाएर काम गर्दै आएको उल्लेख गर्दै उहाँले संस्थालाई सुशासनयुक्त बनाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो। सहकारी संस्थाले बैंक तथा वित्तीय संस्थाबाट सेवा लिँदा सर्वसाधारणले भोग्नुपर्ने कठिनाइ न्यूनीकरण गर्ने, सदस्य तथा समुदायको हितमा पुँजी परिचालन गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र सदस्यको आयआर्जन वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्य राख्नुपर्ने उहाँको भनाइ थियो।

    कठिन आर्थिक परिस्थितिका बाबजुद पनि संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको र लाभांश वितरण गर्न सक्ने अवस्थातर्फ अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो। संस्थालाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न ४५ भन्दा बढी कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको जनाउँदै योगीले आगामी दिनमा पनि नीति, विधि र प्रणालीलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
    १० हजार ५८६ पुगे शेयर सदस्य
    सभामा प्रस्तुत प्रतिवेदनअनुसार जनहितकारी साकोसका शेयर सदस्यको सङ्ख्या बढेर १० हजार ५८६ पुगेको छ। आर्थिक वर्ष २०८१/०८२ मा १० हजार ३६९ जना शेयर सदस्य रहेको संस्थामा चालु समीक्षा अवधिमा २१७ जना नयाँ सदस्य थपिएका हुन्।
    संस्थाका अध्यक्ष नवराज कँडेलले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। आगामी आर्थिक वर्षमा सदस्य विस्तार तथा स्थायित्व, शेयर पुँजी र बचत सङ्कलन, कर्जा लगानी तथा असुली व्यवस्थापन, सहकारी शिक्षा, तालिम र सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखिएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो।
    बचत तथा निक्षेप ८९ करोड ७२ लाख
    संस्थाका कोषाध्यक्ष सञ्जय योगीले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो।
    प्रस्तुत विवरणअनुसार समीक्षा अवधिमा संस्थाको कुल शेयर पुँजी सात करोड ७३ लाख ४५ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, कुल बचत तथा निक्षेप ८९ करोड ७२ लाख ७१ हजार १६५ रुपैयाँ ४१ पैसा कायम भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ दशमलव ५६ प्रतिशतले बढी हो। संस्थाको कुल सम्पत्तिमा बचत तथा निक्षेपको हिस्सा ८४ दशमलव ०६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
    यसैगरी, संस्थाको कुल ऋण लगानी ७६ करोड ३८ लाख १५ हजार ३९६ रुपैयाँ ८७ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण लगानीमा १ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ। कुल सम्पत्तिमा ऋण लगानीको हिस्सा ७१ दशमलव ५६ प्रतिशत रहेको विवरणमा जनाइएको छ।
    आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल सम्पत्ति दुई करोड ४३ लाख ५१ हजार ७८ रुपैयाँ ८४ पैसाले वृद्धि भई एक अर्ब छ करोड ७३ लाख ७८ हजार ८४० रुपैयाँ पाँच पैसा पुगेको छ। यस अवधिमा कुल सम्पत्तिको वृद्धिदर २ दशमलव ३३ प्रतिशत रहेको छ।
    वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको कुल आम्दानी १० करोड ५९ लाख ८० हजार १४१ रुपैयाँ १३ पैसा रहेको छ भने कुल खर्च नौ करोड ७४ लाख ६९ हजार ८६४ रुपैयाँ ८९ पैसा रहेको छ। आम्दानी र खर्चबीचको अन्तरअनुसार संस्थाले ८५ लाख १० हजार २७६ रुपैयाँ २४ पैसा बचत गरेको देखिन्छ।
    सहकारी शिक्षा र वित्तीय अनुशासनमा जोड
    सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक हिरालाल सुनारले आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारणसभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, आगामी कार्ययोजना तथा वित्तीय व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।
    संस्थाका अध्यक्ष नवराज कँडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
    कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका–४ का वडाध्यक्ष शेरबहादुर केसी, जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष प्रकाशकुमार तिमिल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष भक्तिप्रसाद सापकोटा, वीरेन्द्रनगर नगरपालिकाका सहकारी शाखा प्रमुख दिपेन सुवेदी, राष्ट्रिय सहकारी बैंक लिमिटेड सुर्खेत शाखाका प्रमुख सागरनाथ योगी, नेफ्स्कून फिल्ड कार्यालयका प्रमुख विष्णुप्रसाद जोशी तथा सहकारी कर्मचारी क्लब सुर्खेतका अध्यक्ष लछिराम बुढालगायत विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधि, सञ्चालक समिति, उपसमिति र सदस्यहरूको उपस्थिति रहेको थियो।
    सहकारी संस्थाको वित्तीय पारदर्शिता, सदस्यको विश्वास र संस्थागत उत्तरदायित्वलाई बलियो बनाउँदै सदस्य तथा समुदायको आर्थिक हितमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नु साधारणसभाको प्रमुख सन्देशका रूपमा रहेको थियो।

  • २५ आश्विन २०८३, आईतवार ०९:३१ प्रकाशित

  • Nabintech