सुर्खेत ,१५ कार्तिक ।
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगढमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार उनीहरू केही दिनदेखि भएको भारी हिमपातका कारण उक्त क्षेत्रमा फसेका हुन् । प्रशासनले कात्तिक १४ गते उनीहरू फसेको जानकारी प्राप्त गरेको थियो ।
आइतबार हेलिकप्टरमार्फत उद्धार भइरहेको सूचनामा उल्लेख छ ।
उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष रहेका छन् । उनीहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना विश्वास र राजेश डे छन् । उनीहरू सबै भारतीय नागरिक हुन् ।

उनीहरू डोल्पाको शे–फोक्सुण्डो ताल भ्रमणका लागि आएका थिए । भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा उनीहरू फसेका हुन् ।
जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार भइरहेको जानकारी दिइएको छ ।
मौसम प्रतिकूलताका कारण थप जोखिम सिर्जना हुनसक्ने भन्दै प्रशासनले सबैलाई सजग, सतर्क र सुरक्षित रहन आग्रह गरेको छ ।









