बर्दिया ,१६ कार्तिक ।
बालबालिकाको स्वास्थ्य तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको स्वर्णविन्दु प्रासन सेवा बर्दियामा अभिभावकको आकर्षण बन्दै गएको छ। आयुर्वेदिक उपचार पद्धतिप्रति अभिभावकको विश्वास र बालबालिकाको स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै स्वर्णविन्दु प्रासन सेवा लिन आउनेको सङ्ख्या पनि बढ्दै गएको हो।
बर्दियाको सदरमुकाम गुलरियास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा जिल्लाका विभिन्न स्थानीय तहका साथै दूरदराजका क्षेत्रबाट समेत अभिभावक आफ्ना बालबालिका लिएर स्वर्णविन्दु प्रासन सेवा लिन पुग्ने गरेका छन्। एक वर्षको अवधिमा यस सेवाबाट १३ हजार ३ सय ६१ जना बालबालिका लाभान्वित भएका छन्।
बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ३ सय ६१ जना बालबालिकाले स्वर्णविन्दु प्रासन सेवा लिएका हुन्। गत साउन महिनामा मात्रै १ हजार १ सय ६१ बालिका र १ हजार ३ सय ८० बालक गरी २ हजार ५ सय ४१ जनाले सेवा लिएका छन्। सेवा लिन आउने बालबालिकाको सङ्ख्याले पनि यसप्रति अभिभावकको आकर्षण बढ्दै गएको देखाउँछ।
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउन र स्वास्थ्य अवस्थालाई सुदृढ बनाउन आयुर्वेदिक विधिबाट स्वर्णविन्दु प्रासन गराउने गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ। विशेषगरी १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी यो सेवा सञ्चालन गरिएको हो।
आफ्ना बालबालिकाको स्वास्थ्य र समग्र विकासमा सहयोग पुग्ने अपेक्षासहित अभिभावकले नियमित रूपमा स्वर्णविन्दु प्रासन गराउन थालेका छन्। अभिभावक अर्जुन यादव र अमृता थारु पनि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै सेवा लिन स्वास्थ्य केन्द्र पुग्ने गर्नुभएको छ। त्यस्तै, जिल्लाका विभिन्न पालिकाबाट बालबालिका लिएर आउने गरेको अभिभावक गीता थारुले बताउनुभयो। उहाँका अनुसार स्वर्णविन्दु प्रासन सेवाबारे जानकारी पाएपछि टाढाबाट समेत अभिभावक बालबालिका लिएर आउने गरेका छन्।
बर्दियामा स्वर्णविन्दु प्रासन कार्यक्रम गत असोजदेखि सुरु गरिएको हो। स्वास्थ्य केन्द्रले प्रत्येक महिनाको मसान्तका दिन यो सेवा प्रदान गर्दै आएको छ। बालबालिकालाई खाली पेटमा औषधि सेवन गराउनुपर्ने भएकाले बिहान ५ बजेदेखि १० बजेसम्म सेवा सञ्चालन गर्ने गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र बर्दियाका चिकित्सक डा. विष्णु बरालले जानकारी दिनुभयो।
उहाँका अनुसार निर्धारित समयमै बालबालिकालाई स्वास्थ्य केन्द्रमा ल्याएर स्वर्णविन्दु प्रासन गराउनुपर्ने हुन्छ। सेवा लिन आउने बालबालिकाको सङ्ख्या बढ्दै जानुले अभिभावकमा आयुर्वेदिक उपचार पद्धतिप्रतिको चासो र बालस्वास्थ्यसम्बन्धी सचेतना बढेको देखिएको उहाँको भनाइ छ।
स्वर्णविन्दु प्रासन सेवाप्रति अभिभावकको आकर्षण बढे पनि जिल्लाका सबै बालबालिकाको सहज पहुँचमा भने यो सेवा पुग्न सकेको छैन। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका अभिभावकले सेवा लिन गुलरिया पुग्नुपर्ने बाध्यता छ। टाढाबाट आउँदा लाग्ने समय, यातायात खर्च र अन्य असुविधाका कारण कतिपय बालबालिका नियमित सेवाबाट वञ्चित हुन सक्ने अवस्था छ।
त्यसैले स्वर्णविन्दु प्रासन सेवालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा मात्र सीमित नराखी स्थानीय तहका आयुर्वेद तथा अन्य स्वास्थ्य संस्थामार्फत पनि विस्तार गर्न सके यसको पहुँच अझ व्यापक बनाउन सकिने देखिन्छ। अभिभावकको बढ्दो चासोलाई मध्यनजर गर्दै सेवा विस्तार, नियमित सञ्चालन र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिन सके जिल्लाका धेरै बालबालिकालाई आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सकिनेछ।









