बाँके , १६ कार्तिक ।
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप एक सय हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो । सिक्टा आयोजनाले ५४ करोड तीन लाख लागत अनुमानका चार वटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म दुई अर्ब ४८ करोड ३० लाख बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र तीन सय हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ । बबई आयोजनाले पनि पुस मसान्तसम्म तीन सय हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताए । आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत सङ्कलन गरी त्यसका आधारमा जल व्यवस्थापन गर्न थालेको छ । आयोजनाले पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखाबाट सिँचाइ सुविधा लिइरहेका तथा भविष्यमा लिने किसानको लगत सङ्कलन गरिरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए ।
सिँचाइ सेवा प्राप्त गर्न जल उपभोक्ता सदस्यता अनिवार्य हुने भएकाले किसानको लगत सङ्कलन अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । स्थानीय जनप्रतिनिधि र किसानसँग छलफल गरेर लगत सङ्कलन गरिएको हो । ‘सिँचाइ सेवा लिन जल उपभोक्ता सदस्यता अनिवार्य छ । यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ,’ निर्देशक आचार्यले भने, ‘लगतका आधारमा आयोजनाले सिँचाइ विस्तार र आवश्यक पूर्वाधार निर्माणसहित जल व्यवस्थापनको काम गर्नेछ ।’ पश्चिमी मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा र पर्सेनीपुर शाखा तथा पूर्वी मूल नहरअन्तर्गत राजकुलो र फत्तेपुर शाखाका उपभोक्ता किसानसँग लगत सङ्कलनका लागि छलफल गरिएको उनले बताए । आयोजनाको आगामी योजना निर्माणमा सहजता ल्याउन सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन गरिएको पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले बताए । उनका अनुसार पूर्वी मूल नहरअन्तर्गतका किसानको लगत सङ्कलन अन्तिम चरणमा पुगेको छ । आयोजना निर्देशक आचार्यका अनुसार आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ । हालसम्म पूर्वाधार निर्माणमा करिब २४ अर्ब खर्च भएको छ । मर्मतसम्भारको काम नियमित रूपमा भइरहे पनि निर्माणको बाँकी काम पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए । आर्थिक वर्ष २०६२/६३ मा निर्माण सुरु भएको आयोजनाअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा तीन सय १७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ । आयोजनाले ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको आयोजनाको पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । हालसम्म २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले जानकारी दिए ।
रानी जमराको भौतिक प्रगति १५ प्रतिशत
विभागका अनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजना, टिकापुर (कैलाली) ले एक अर्ब ३३ करोड ३५ लाख लागत अनुमानका ६ वटा बोलपत्र आह्वान गरेको छ । आयोजनाको भौतिक प्रगति साउनमा आठ प्रतिशत रहेकामा भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति पनि सोही अवधिमा ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ । आयोजनाले पुस मसान्तसम्म दुई अर्ब ३० करोड बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध बनाउने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाले पुस मसान्तसम्म ६१ करोड बराबरका चार वटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ । सुनकोशी मरिन डाइभर्सन आयोजनामा भने पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ र ६.१८ किलोमिटर तटबन्धको लक्ष्य राखिएको छ ।









