सुर्खेत, १६ कार्तिक ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनौट गरेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिद्धारा आइतबार आयोजित छलफलमा मुख्यमन्त्री शाहीले पदकका सामु बजेटको समस्या ठूलो नभएको बताए । ‘तपाईँहरु राम्रा खेलाडी छनौट गर्नुस्, निष्पक्ष भएर खेलाडी छनौट गर्नुस्, राम्रा प्रशिक्षक ल्याउनुस र पदक जित्ने तयारीमा लाग्नुस्, बजेटको कुनै समस्या हुँदैन्, तपाइँहरुले मागेको भन्दा बढी बजेट दिन प्रदेश सरकार तयार छ,’ उनले भने, ‘१० औँ राष्ट्रिय खेलकुद हाम्रो लागि अवसर र चुनौती सबै हो, सबै मिलेर चुनौतीको सामना गरौं, अवसरको उपयोग पनि गरौं ।’ मुख्यमन्त्री शाहीले १० औँ राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि प्रदेश सरकार, परिषद् वा सरकारी निकायले मात्र सम्भव नभएकाले सबै सरोकारवालाको उत्तिकै सहयोग र सहकार्य जरुरी रहेको औल्याए । प्रतियोगिताको आयोजक संघीय सरकार भएपनि कर्णाली प्रदेशमा हुने भएकाले कुनै कमीकमजोरी नहुने गरी सबै निकायबीच समन्वय हुनुपर्ने उनको भनाई थियो । साथै उनले अब पनि प्रतियोगिता स्थगित हुन्छ की भनेर आशंका नगर्न आग्रह गरे ।
छलफलमा सामाजिक विकासमन्त्री जितबहादुर मल्लले कर्णाली प्रदेशले जिम्मेवारी पाएका चार वटै उपसमितिले हालसम्म सन्तोषजनक कामहरु गरेको धारणा राखे । ‘बाँकी उपसमितिले के कति काम गरिरहेका छन्, त्यसमा हाम्रो पनि चासो छ,’ उनल भने, ‘प्रतियोगिता व्यवस्थापनको ठूलो जिम्मेवारी हाम्रो काँधमा आएकाले कुनै कसर बाँकी नराखी काम गरौं ।’ छलफल कार्यक्रम प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, होटल व्यवसायी महासंघका पदमबहादुर शाही, तर्कबहादुर शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष मधुवन बिसी लगायतले सुझाव दिएका थिए । प्रतियोगिता यही मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ ।









