कर्णालीमै पहिलोपटक देउती यातायातले भित्र्यायो उच्च प्रविधिका बीएस सिक्स बस

  • नमस्ते कर्णाली

  • सुर्खेत ,१७ कार्तिक ।

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि काठमाडौंका लागि यात्रा गर्न चाहने यात्रुका लागि देउती नागरिक यातायात प्रालिले उच्च प्रविधिसहितका ८ वटा बस भित्र्याएको छ ।
    कर्णालीमा पहिलोपटक उक्त कम्पनीले बीएस सिक्स मोडेलका बसहरु भित्र्याएको अध्यक्ष कमल खड्काले जानकारी दिए ।

    ‘गोल्डेन भेन्चर नामक अत्याधुनिक आठ वटा बस ल्याएका छौँं । थप तीन वटा बस आइरहेका छन् । यी बसहरुको कुल लागत एक करोड ५० लाख पर्न गएको छ,’ अध्यक्ष खड्काले भने, ‘सुर्खेत-काठमाडौं रुटमा यात्रा गर्ने यात्रुलाई आरामदायी यात्रा गराउने योजनाअनुरुप कम्पनी सधै लागि परेको छ ।’
    उनका अनुसार गाडीमा खराबी आएमा, वा अन्य कुनै समस्या देखिएमा उक्त गाडीले चालकलाई जानकारी दिने गर्दछ । गाडीमा ४५ वटा आरामदायी सिट र स्लिपर नाै वटा छन् । यी गाडीहरुमध्ये चार वटा गाडी सुर्खेत बसपार्कबाट दुई वटा क्युमा छुट्ने छन् ।
    कोहलपुर हुँदै बुटवल काठमाडौं जाने रुटका लागि बसपार्कबाट साढे चार र साढे पाँच बजेका लागि बस छुट्ने समय तोकिएको छ भने विएस ३ बसहरु सुर्खेतको मालारानी, लमही हुँदै काठमाडौं जाने रुटका लागि साढे दुई बजे गाडी छुट्ने समय तालिका बनाइएको छ ।
    यसैबीच, कम्पनीले सञ्चालन गर्दै आएका रुटहरुका उत्कृष्ट चालकलाई सोमबार एक कार्यक्रमबीच नगद पुरस्कार र सम्मान गरेको छ ।
    भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्काको उपस्थितिमा जुम्ला, दैलेख, काठमाडौं लगायतका रुटमा गाडी चलाउने उत्कृष्ट चालकलाई जनही नगद पाँच हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।

     

     

     

     

     

  • १८ कार्तिक २०८३, मंगलवार १५:०२ प्रकाशित

  • Nabintech