नरैनापुरमै सुरु भयो जग्गा पास र कित्ताकाट सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

  • नमस्ते कर्णाली

  • बाँके ,२० कार्तिक ।
    बाँकेको विकट क्षेत्रका रूपमा चिनिँदै आएको नरैनापुर गाउँपालिकाका नागरिकले अब जग्गा पास, कित्ताकाट, नामसारीलगायत भूमि प्रशासनसम्बन्धी सेवा आफ्नै गाउँपालिकाबाटै पाउने भएका छन्। यसअघि सामान्य जग्गासम्बन्धी कामका लागि समेत जिल्ला सदरमुकाम नेपालगञ्ज तथा भूमि प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता रहेकामा गाउँपालिकाले बिहीबारदेखि आफ्नै कार्यालयबाट उक्त सेवा सञ्चालनमा ल्याएको हो।

    गाउँपालिकाले भूमि प्रशासनसम्बन्धी छुट्टै शाखा स्थापना गरी जग्गा पास, कित्ताकाट, नामसारीलगायत सेवा सुरु गरेको हो। सेवाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीय नागरिकले अब जग्गासम्बन्धी कामका लागि टाढा धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो।

    उहाँले लामो समयदेखि सामान्य जग्गासम्बन्धी कामका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै स्थानीय तहमै सेवा उपलब्ध हुँदा नागरिकको समय, खर्च र झन्झट कम हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार गाउँपालिकामै भूमि प्रशासन सेवा सञ्चालन हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि हो।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले देशभर स्थापना भएका भूमि व्यवस्थापनसम्बन्धी शाखामध्ये नरैनापुर ३४औँ शाखा भएको जानकारी दिनुभयो। आवश्यक जनशक्ति तथा प्राविधिक व्यवस्थापन मिलाएर सेवा सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उहाँले सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभयो।

    सेवा शुभारम्भकै अवसरमा पहिलो सेवाग्राहीका रूपमा नरैनापुर–५ का विनय दीक्षित र नरैनापुर–४ का अर्का एक सेवाग्राहीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्रदान गरिएको थियो। आफ्नै गाउँपालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा पाउन थालेपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।

    भौगोलिक विकटता, कमजोर सडक पूर्वाधार र सहज यातायात पहुँचको अभावका कारण लामो समयदेखि सरकारी सेवा सुविधाको पहुँचमा कठिनाइ भोग्दै आएका नरैनापुरवासीका लागि यो सेवा सञ्चालनले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी जग्गासम्बन्धी सामान्य कामका लागि समेत नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हट्दा स्थानीय नागरिकको आर्थिक भार र समयको बचत हुने देखिएको छ।

    पछिल्लो समय नरैनापुर गाउँपालिका सडक सञ्जालमार्फत जिल्ला सदरमुकामसँग जोडिने क्रम बढेसँगै स्थानीयस्तरमै सरकारी सेवा तथा सुविधा विस्तार हुन थालेका छन्। सडक पहुँचसँगै प्रशासनिक सेवा पनि गाउँमै उपलब्ध हुन थालेपछि नागरिकको राज्यका निकायसम्मको पहुँच सहज बन्दै गएको छ।

    यसअघि प्रमुख प्रशासकीय अधिकृत वलीकै पहलमा केही दिनअघि गाउँपालिकामा करदाता सेवा केन्द्रसमेत सञ्चालनमा ल्याइएको थियो। छोटो अवधिमै भूमि व्यवस्थापन शाखा र करदाता सेवा केन्द्र सञ्चालनमा आउनुले स्थानीय नागरिकलाई सरकारी सेवा आफ्नै घरआँगनमा उपलब्ध गराउने गाउँपालिकाको प्रयासलाई थप गति दिएको छ।

    गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीले स्थानीय तहबाटै सेवा सञ्चालन हुँदा विशेषगरी ग्रामीण क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो। उहाँका अनुसार सेवा लिन टाढा जानुपर्ने अवस्थाको अन्त्यसँगै नागरिकको समय र खर्च बचत हुनुका साथै प्रशासनिक कामसमेत सहज हुनेछ।

    सेवा शुभारम्भ कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मसूद अहमद शाह, वडा नम्बर ४ का अध्यक्ष मनोज शर्मा, अलेपा सागर आचार्य, सूचना प्रविधि अधिकृत जुना शाहीसहित गाउँपालिकाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

    वर्षौंदेखि भौगोलिक विकटता र प्रशासनिक पहुँचको कठिनाइ झेल्दै आएको नरैनापुरमा पछिल्लो समय सरकारी सेवा विस्तार हुन थालेको छ। भूमि प्रशासन र करदाता सेवा गाउँपालिकामै उपलब्ध हुनुले दुर्गम क्षेत्रका नागरिकलाई राज्यका सेवा सुविधासँग नजिक ल्याउनुका साथै स्थानीयस्तरमै सुशासन र सहज सेवा प्रवाहको अपेक्षासमेत बढाएको छ।

  • २१ कार्तिक २०८३, शुक्रबार ०६:१० प्रकाशित

  • Nabintech