बाँके ,२१ कार्तिक ।
वर्षौंदेखि सडक पूर्वाधारको अभाव र यातायातको असहजताका कारण औद्योगिक विकासमा पछि परेको बाँकेको खजुरा क्षेत्रले अब आर्थिक समृद्धिको नयाँ बाटो समात्ने सङ्केत देखाएको छ । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गको खजुरा बजार खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेसँगै यस क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित हुन थालेको छ । सडक पूर्वाधारमा आएको सुधार, विद्युत् आपूर्तिका लागि भइरहेका संरचना निर्माण र यातायातको सहजताले खजुरालाई उद्योग, व्यापार तथा पर्यटनको सम्भावित नयाँ केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार हुँदै गएको छ ।
कुनै समय बाँकेको अन्न भण्डारका रूपमा परिचित खजुरा कृषि उत्पादनका साथै औद्योगिक तथा व्यावसायिक विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । तर, सडकको दयनीय अवस्था, विद्युत् आपूर्तिको समस्या र कमजोर सञ्चार पहुँचका कारण यहाँ अपेक्षाअनुसार उद्योगधन्दा स्थापना हुन सकेका थिएनन् । पर्याप्त जग्गा, श्रमशक्ति र बजारको सम्भावना हुँदाहुँदै पनि पूर्वाधारको अभावले बाहिरी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई आकर्षित गर्न सकेको थिएन ।
पछिल्लो समय भने परिस्थितिमा परिवर्तन देखिन थालेको छ । हुलाकी राजमार्गको स्तरोन्नति, विद्युत् पूर्वाधार निर्माण र नेपालगञ्जसँगको सहज आवागमनले निजी क्षेत्रको विश्वास बढाएको छ । राजमार्ग आसपासमा ठूला लगानीका परियोजना अघि बढ्नुले पनि खजुरा र आसपासका क्षेत्रमा औद्योगिक गतिविधि विस्तार हुने सम्भावना बलियो बनाएको छ ।
जानकी गाउँपालिका–३ मानपुरमा पौवा ग्रुपले पाँचतारे होटल निर्माण गरिरहेको छ भने खजुरा गाउँपालिका–५ गोदहनानजिक बहुराष्ट्रिय लगानीमा पार्ले–जी बिस्कुट उद्योग निर्माण भइरहेको छ । यसैगरी, हुलाकी राजमार्गको पहुँचलाई उपयोग गर्ने गरी बर्दियामा कर्णाली डिस्टिलरीका सञ्चालकहरूले चिनी उद्योग निर्माणको काम अघि बढाएका छन् । यी परियोजना सम्पन्न भई सञ्चालनमा आएमा यस क्षेत्रको आर्थिक गतिविधि विस्तार हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीका अनुसार नयाँ वर्ष २०८४ देखि पाँचतारे होटल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ । पौवा ग्रुपका २१ शाखामध्ये बाँकेमा निर्माण भइरहेको यो पहिलो पाँचतारे होटल हुने उहाँले बताउनुभयो ।
‘हुलाकी राजमार्ग भविष्यमा सुदूरपश्चिमलाई देशको मूल प्रवाहसँग जोड्ने महत्त्वपूर्ण मार्ग बन्ने सम्भावना छ’, भण्डारीले भन्नुभयो, ‘सुदूरपश्चिम र भारतको उत्तराखण्डबाट नेपाल प्रवेश गर्ने प्रमुख मार्गका रूपमा यसको सम्भावना देखेर नै हामीले यहाँ लगानी गर्ने निर्णय गरेका हौँ ।’
हुलाकी राजमार्गको विस्तारले केवल यातायातलाई सहज बनाउने मात्र नभई यस क्षेत्रको आर्थिक तथा व्यावसायिक गतिविधिलाई समेत नयाँ गति दिने उहाँको विश्वास छ ।
खजुराका पुराना व्यवसायी शिवराज श्रेष्ठ पनि सडक स्तरोन्नतिसँगै यस क्षेत्रको व्यावसायिक वातावरणमा सकारात्मक परिवर्तन देखिन थालेको बताउनुहुन्छ । विगतमा सडकको सहज पहुँच नहुँदा बाहिरी जिल्लाका उद्योगी तथा व्यवसायी खजुरामा लगानी गर्न कम इच्छुक हुने गरेको उल्लेख गर्दै उहाँले अब लगानी भित्रिने क्रम बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
‘राजमार्ग स्तरोन्नतिको काम अन्तिम चरणमा पुग्दा नपुग्दै खजुराको व्यवसायमा सकारात्मक सङ्केत देखिन थालेको छ’, श्रेष्ठले भन्नुभयो, ‘विगतमा विमानस्थल विस्थापनले खजुराको विकासमा पारेको असरलाई हुलाकी राजमार्गले केही हदसम्म पूर्ति गर्न सक्छ ।’
खजुराको औद्योगिक विकासका लागि सडकसँगै विद्युत् पूर्वाधार पनि उत्तिकै महत्त्वपूर्ण रहेको उद्योगी नेत्र रानाभाटको भनाइ छ । खजुरामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन सञ्चालनमा आएपछि उद्योगलाई आवश्यक विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
उद्योग स्थापनाका लागि मुख्य राजमार्गसँग जोडिएको महँगो जग्गाभन्दा आसपासका भित्री क्षेत्रमा रहेको जग्गा बढी उपयुक्त हुने उल्लेख गर्दै रानाभाटले भित्री सडक निर्माणमा स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । उद्योगीलाई मुख्य राजमार्गदेखि उद्योगस्थलसम्म सहज पहुँच उपलब्ध गराउन सके थप लगानी आकर्षित गर्न सकिने उहाँको धारणा छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले पालिकालाई लगानीमैत्री क्षेत्रका रूपमा विकास गर्ने प्रयास भइरहेको बताउनुभयो । सडक, ऊर्जा, तुलनात्मक रूपमा सस्तो जग्गा र पर्याप्त श्रमशक्ति उपलब्ध हुनुका साथै उद्योगी व्यवसायीका परिवारका लागि आवश्यक शिक्षा, स्वास्थ्य र सुरक्षासम्बन्धी पूर्वाधारसमेत विकास गरिएको उहाँको भनाइ छ ।
‘उद्योगी व्यवसायीलाई आवश्यक पर्ने आधारभूत सुविधा खजुरामा उपलब्ध छन्’, अध्यक्ष विकले भन्नुभयो, ‘स्थानीय सरकार लगानीका लागि आवश्यक सहजीकरण गर्न तयार छ । ढुक्क भएर खजुरामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्दछौँ ।’
खजुरामा यसअघि नै पश्चिमाञ्चल इँटा उद्योग, बर्दियाको गुलरिया नगरपालिकामा लेमिनार टायल उद्योग, चिनियाँ लगानीको मासु प्रशोधन केन्द्र तथा विभिन्न धानचामल उद्योग सञ्चालनमा छन् । नयाँ परियोजनासमेत थपिँदै जाँदा यस क्षेत्रको उत्पादन, रोजगारी र व्यापारिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।
नौ वर्षको सास्तीपछि सडक स्तरोन्नति अन्तिम चरणमा
खजुराको आर्थिक तथा औद्योगिक विकासको मुख्य आधारका रूपमा हेरिएको हुलाकी राजमार्गको खजुरा बजार खण्डको स्तरोन्नति पनि अहिले अन्तिम चरणमा पुगेको छ । नेपालगञ्ज–गुलरिया सडकका दायाँबायाँका करिब २७ किलोमिटर सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आइसके पनि बीचमा रहेको खजुरा बजार खण्ड भने लामो समयसम्म अलपत्र परेको थियो ।
चार लेन सडक निर्माण गर्ने योजनासहित २०७४ सालमा सडक डिभिजनले ठेक्का लगाएको एक हजार आठ सय मिटर सडक गुणस्तरहीन र अधुरो कामका कारण अलपत्र परेको थियो । ठेकेदार कम्पनीले निर्धारित समयभित्र काम सम्पन्न नगरेपछि स्थानीय बासिन्दा तथा यात्रुले करिब नौ वर्षसम्म धुलो, हिलो र असहज यात्राको सास्ती खेप्नुपरेको थियो ।
अघिल्लो वर्ष उक्त सडकखण्ड हुलाकी राजमार्ग निर्देशनालयको जिम्मामा आएपछि स्तरोन्नतिको कामले गति लिएको हो । अहिले १६ मिटर चौडाइमा अस्फाल्ट कालोपत्रे र करिब दुई मिटर फुटपाथसहित सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हुलाकी सडक निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।
योजना प्रमुख लीलाबहादुर भण्डारीका अनुसार सडक स्तरोन्नतिसँगै पेडारी नाला र किरण नालामा पुल निर्माणको काम पनि अघि बढाइएको छ । पेडारी नालाको पुल निर्माण सम्पन्न भइसकेको छ भने किरण नालामा दुई लेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
‘हुलाकी राजमार्गको दायाँबायाँका २७ किलोमिटर सडक सम्पन्न भएर सञ्चालनमा आइसक्दा खजुरा खण्ड मात्रै अलपत्र थियो’, योजना प्रमुख भण्डारीले भन्नुभयो, ‘निर्देशनालयबाट ठेक्का व्यवस्थापन भएपछि अहिले स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।’
धम्बोझीदेखि गुलरियासम्म चार लेन सडकको तयारी
हुलाकी राजमार्गको पहुँच र प्रभावकारिता बढाउने उद्देश्यले नेपालगञ्जको धम्बोझी चोकदेखि खजुराको नन्दनी मिलसम्मको नौ सय मिटर सडक विस्तारका लागि पनि ठेक्का प्रक्रिया अघि बढाइएको छ । उक्त सडक स्तरोन्नतिका लागि हिमसगरमाथा कन्स्ट्रक्सन प्रालिले ३९ करोड ८४ लाख एक हजार २१९ रुपैयाँमा ठेक्का कबोल गरेको छ ।
योजना प्रमुख भण्डारीका अनुसार कुनै अवरोध नभए एक वर्षभित्र नेपालगञ्जको धम्बोझीदेखि बर्दियाको सदरमुकाम गुलरियासम्म चार लेन सडकबाट यात्रा गर्न सकिनेछ । यसले बाँके र बर्दियाबीचको आवागमन सहज बनाउनुका साथै व्यापारिक तथा औद्योगिक गतिविधि विस्तारमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
खजुरा बजारका स्थानीय दीपक ढकालका अनुसार सडक सहज भएपछि नेपालगञ्ज आवतजावतमा लाग्ने समय उल्लेख्य रूपमा घटेको छ । विगतमा करिब आठ किलोमिटर दूरी पार गर्न एक घण्टासम्म लाग्ने गरेकामा अहिले १० देखि १५ मिनेटमै नेपालगञ्ज पुग्न सकिने भएको उहाँले बताउनुभयो ।
७० वर्ष पुरानो पुलको विकल्पमा नयाँ संरचना
खजुरा बजार क्षेत्रमा रहेको पेडारी नालाको करिब ७० वर्ष पुरानो पुल जीर्ण भएपछि त्यसको विकल्पमा नयाँ पुल निर्माण गरिएको छ । ३४ दशमलव ४ मिटर लम्बाइ र २२ मिटर चौडाइको उक्त पुल पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको थियो ।
पुलसँगै दुवैतर्फ ५०–५० मिटर एप्रोच सडक कालोपत्रे गर्ने कामसमेत सम्पन्न भएको योजना कार्यालयले जनाएको छ । पुरानो पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम रहनुका साथै वर्षायाममा बाढीका कारण पटकपटक सडक अवरुद्ध हुने समस्या थियो । नयाँ पुल निर्माणसँगै यात्रुको आवागमन सुरक्षित र सहज हुने तथा वर्षायाममा हुने अवरोध न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
हुलाकी राजमार्ग सञ्चालनमा आएपछि नेपालगञ्जबाट धनगढी, टीकापुर र महेन्द्रनगर जाने यात्रुले पनि यो मार्ग प्रयोग गर्न थालेका छन् । पूर्वपश्चिम राजमार्गको तुलनामा दूरी छोटो पर्ने तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागू हुने समयतालिका र वन्यजन्तुका कारण यात्रामा हुने असहजता कम हुने भएकाले हुलाकी राजमार्ग यात्रुको रोजाइमा पर्न थालेको हो ।
पूर्वाधारसँगै लगानीको वातावरण बनाउनुपर्ने चुनौती
सडक पूर्वाधारमा आएको सुधार र निजी क्षेत्रका ठूला परियोजनाले खजुरा तथा आसपासका क्षेत्रको आर्थिक भविष्यप्रति आशा जगाएका छन् । होटल, खाद्य उद्योग, चिनी मिल तथा अन्य उत्पादनमूलक उद्योगमा लगानी विस्तार हुँदै जाँदा यस क्षेत्र कृषि उत्पादनमा मात्र निर्भर नरही उद्योग, व्यापार, पर्यटन र सेवामूलक आर्थिक गतिविधिको केन्द्र बन्न सक्ने सम्भावना देखिएको छ ।
यद्यपि, सडक निर्माण र केही ठूला उद्योगको स्थापना हुँदैमा औद्योगिक विकासका सबै चुनौती समाधान हुने छैनन् । लगानीलाई दीर्घकालीन र उत्पादनमुखी बनाउन नियमित विद्युत् आपूर्ति, भित्री सडकको विस्तार, सञ्चार सुविधा, औद्योगिक प्रयोजनका लागि उपयुक्त जग्गाको व्यवस्थापन, दक्ष जनशक्ति उत्पादन तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष ध्यान दिन आवश्यक छ ।
त्यसैगरी, स्थानीय युवालाई उद्योगमा रोजगारीको प्राथमिकता, स्थानीय कृषि उत्पादनको औद्योगिक उपयोग र साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्न सके विकासको प्रत्यक्ष लाभ स्थानीय समुदायसम्म पुग्न सक्छ ।
वर्षौँदेखि पूर्वाधार अभावका कारण पछि परेको खजुराका लागि हुलाकी राजमार्गको स्तरोन्नति केवल सडक निर्माणको विषय मात्र होइन, आर्थिक सम्भावनाको ढोका खुल्ने अवसर पनि हो । अब सडकसँगै लगानीमैत्री नीति, प्रभावकारी सरकारी सहजीकरण र आवश्यक औद्योगिक पूर्वाधार विकास गर्न सकिए खजुरा बाँकेकै मात्र नभई समग्र लुम्बिनी प्रदेशको नयाँ आर्थिक केन्द्रका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिएको छ ।









