सल्यान ,२२ कार्तिक ।
देशका विभिन्न जिल्लामा बिरुवा पुर्याउँदै आएका सल्यानका एक युवा उद्यमीले तिहारका लागि दाङमा सयपत्री फूल समेत उत्पादन गरेका छन् ।
पाँच लाख रुपैयाँको लगानीबाट सुरु गरेको नर्सरी व्यवसायको उत्पादनलाई देशका करिब ४० जिल्लासम्म विस्तार गरेका बागचौर नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय नवराज वलीले दाङमा यस वर्ष ११ क्विन्टल सयपत्री फूल उत्पादन गरेका हुन् ।
करिब १० वर्षअघि नर्सरी फर्म स्थापना गरेर कृषि व्यवसायमा लागेका वलीले अहिले फलफूल तथा विभिन्न प्रजातिका बिरुवा उत्पादन र बिक्री गर्दै आएका छन् । सल्यानमा करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको उनको नर्सरीबाट सुन्तला, कागती, टिमुर, ओखर, किवीलगायत फलफूल र घाँसका बिरुवा उत्पादन हुँदै आएका छन् ।
उनको नर्सरीले देशका करिब ४० जिल्लामा बिरुवा पठाउँदै आएको छ । यसबाट वार्षिक करिब ५० लाख रुपैयाँको कारोबार हुने गरेको वलीले बताएका छन् ।
पछिल्लो तीन वर्षदेखि दाङको तुलसीपुर उपमहानगरपालिका ८, दुधेनमा समेत नर्सरी सञ्चालन गर्दै आएका वलीले यस वर्ष सात कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेका हुन् । करिब एक हजार २०० बिरुवा रोपेर गरिएको खेतीबाट झन्डै ११ क्विन्टल फूल उत्पादन भएको छ ।
तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूलको बिक्रीका लागि फर्मले अग्रिम बुकिङ खुला गरेको छ । तिहारका साथै विभिन्न पूजा, समारोह र विशेष कार्यक्रमका लागि थोक तथा खुद्रा बिक्री गर्ने तयारी गरिएको वलीले बताए ।
गत वर्ष सयपत्री फूल प्रतिकिलो ४५० रुपैयाँभन्दा बढीमा बिक्री भएको थियो । तर यस वर्ष विभिन्न ठाउँमा उत्पादन बढेकाले मूल्य केही घट्न सक्ने उनको अनुमान छ । उत्पादन बढेसँगै बजार व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उनले बताए ।
सुरुमा पाँच लाख रुपैयाँ लगानी गरेर व्यवसाय थालेका वलीले अहिले नर्सरीलाई थप विस्तार र विविधीकरण गर्ने योजना बनाएका छन् । फलफूलका बिरुवासँगै बहुमूल्य जडीबुटी र सजावटका बिरुवा उत्पादन गर्ने उनको तयारी छ ।
बिरुवा उत्पादनबाट सुरु भएको व्यवसायलाई फूलखेतीसम्म विस्तार गरेका वलीले मेहनत र निरन्तरता दिन सके कृषिमा पनि राम्रो आम्दानी र रोजगारीको सम्भावना रहेको अनुभव सुनाए ।








