कम उत्पादन, उच्च मूल्य : बाँकेका किसान कालानमक धानखेतीतर्फ आकर्षित

  • नमस्ते कर्णाली

  • बाँके ,२३ कार्तिक ।
    परम्परागत तथा हाइब्रिड धानखेतीबाट अपेक्षाकृत कम आम्दानी हुन थालेपछि बाँकेका किसान उच्च मूल्यमा बिक्री हुने कालानमक धानखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम उत्पादन भए पनि बजारमा राम्रो मूल्य पाउने, स्वादिलो चामलको माग रहने र उत्पादित धान खेतबाटै बिक्री गर्न सकिने भएपछि किसानले कालानमक धानखेती विस्तार गर्न थालेका हुन् ।

    विशेषगरी हाइब्रिड धानको तुलनामा कालानमक धानको बिक्री मूल्य निकै बढी भएपछि किसानले यसलाई आम्दानीको वैकल्पिक स्रोतका रूपमा लिन थालेका छन् । उत्पादन केही कम हुने भए पनि मूल्य बढी पाउने र व्यापारी आफैँ किसानको घर तथा खेतसम्म पुगेर धान खरिद गर्ने भएकाले यसको खेतीप्रति आकर्षण बढेको किसानको अनुभव छ ।

    जानकी गाउँपालिका–५ गुर्वागाउँका रमेशकुमार बर्माले विगत तीन वर्षदेखि कालानमक धानखेती गर्दै आउनुभएको छ । सुरुमा परीक्षणका रूपमा सात कट्ठा जमिनमा खेती सुरु गर्नुभएका उहाँले राम्रो मूल्य र आम्दानीको सम्भावना देखेपछि यस वर्ष खेती विस्तार गरी ६० कट्ठामा कालानमक धान लगाउनुभएको छ ।

    बर्माका अनुसार हाइब्रिड धान प्रतिक्विन्टल करिब तीन हजार रुपैयाँमा बिक्री हुने गरेको छ भने कालानमक धानले प्रतिक्विन्टल आठदेखि १० हजार रुपैयाँसम्म मूल्य पाउने गरेको छ । उत्पादनका हिसाबले हाइब्रिड धान अगाडि देखिए पनि बिक्री मूल्यका कारण कालानमक धानबाट बढी आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

    “हाइब्रिड धान एक कट्ठामा करिब दुई क्विन्टल उत्पादन हुन्छ भने कालानमक धान डेढ क्विन्टलजति मात्रै फल्छ । उत्पादन कम भए पनि मूल्य धेरै राम्रो पाइने भएकाले आम्दानीका हिसाबले कालानमक धानखेती फाइदाजनक देखिएको छ”, बर्माले भन्नुभयो ।

    उहाँले यस वर्ष ६० कट्ठा जमिनबाट करिब ७० क्विन्टल कालानमक धान उत्पादन हुने अनुमान गर्नुभएको छ । उत्पादित धान बिक्री गर्न बजार खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । व्यापारीहरू आफैँ किसानको घरमै पुगेर धान खरिद गर्ने भएकाले बिक्री प्रक्रियासमेत सहज भएको उहाँले बताउनुभयो ।

    कालानमक धानको बजार मूल्य र बिक्रीमा देखिएको सहजताले अन्य किसानलाई समेत यसको खेतीतर्फ आकर्षित गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–९ समावेशी टोलका कुलाराम चौधरीले यस वर्ष पहिलोपटक कालानमक धानखेती गर्नुभएको छ । पहिलो वर्षको खेतीमा उत्पादन राम्रो देखिएपछि आगामी वर्ष थप क्षेत्रफलमा खेती गर्ने उहाँको योजना छ ।

    त्यस्तै, जानकी गाउँपालिका–३ इन्द्रपुरका रामनरेश यादवले पनि कालानमक धानखेती गर्नुभएको छ । उहाँका अनुसार कालानमक धान अन्य हाइब्रिड जातको तुलनामा पाक्न ढिलो हुन्छ । यसको खेतीबाट उत्पादन लिन कम्तीमा पाँच महिना लाग्ने भएकाले किसानले समय र सिँचाइ व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

    नेपालगन्ज उपमहानगरपालिका–२० राँझाका दिनेश कुर्मीले भने घरायसी उपभोगलाई प्राथमिकता दिँदै १० कट्ठा जमिनमा कालानमक धान लगाउनुभएको छ । घरमा उपभोग गरेर बाँकी रहने उत्पादन बिक्री गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

    किसानका अनुसार कालानमक धानखेतीबाट राम्रो आम्दानीको सम्भावना भए पनि यसको उत्पादन प्रक्रियामा केही चुनौती छन् । अन्य धानको तुलनामा बढी पानी आवश्यक पर्ने र पाक्न लामो समय लाग्ने भएकाले पर्याप्त सिँचाइ सुविधा भएको तथा पानी जमिरहने खेतमा यसको खेती उपयुक्त हुने उनीहरूको अनुभव छ । लामो समय खेतमा बाली रहने भएकाले समयमै रोपाइँ, सिँचाइ तथा अन्य कृषि व्यवस्थापन गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ ।

    यद्यपि, बजारमा उच्च मूल्य पाउनु र व्यापारीले खेतबाटै खरिद गर्ने प्रवृत्तिले किसानलाई यसको खेती विस्तार गर्न हौसला दिएको छ । परम्परागत तथा हाइब्रिड धानखेतीमा उत्पादन बढी भए पनि बिक्री मूल्य कम हुँदा अपेक्षित आम्दानी लिन नसकिरहेका किसानका लागि कालानमक धान नयाँ विकल्पका रूपमा देखिन थालेको छ ।

    किसानहरूले कालानमक धानको खेती विस्तारसँगै यसको बीउको सहज उपलब्धता, प्राविधिक सहयोग, सिँचाइ व्यवस्थापन र बजार प्रवद्र्धनमा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

    कम उत्पादन भए पनि प्रतिक्विन्टल आठदेखि १० हजार रुपैयाँसम्म मूल्य पाउन थालेपछि बाँकेका किसानले कालानमक धानलाई आम्दानी बढाउने सम्भावनायुक्त बालीका रूपमा लिन थालेका छन् । केही किसानले परीक्षणबाट सुरु गरेको खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने तयारी गरिरहेका छन् । यसले बाँकेमा धानखेतीको परम्परागत अभ्याससँगै उच्च मूल्य दिने जातको खेती विस्तार हुने सङ्केत देखाएको छ ।

  • २४ कार्तिक २०८३, सोमबार १४:२६ प्रकाशित

  • Nabintech