बाँकेको कोरियनपुरमा भीषण आगलागी, पाँच करोडभन्दा बढीको क्षती

  • नमस्ते कर्णाली

  • बाँके ,२३ कार्तिक ।
    बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरमा रहेका दुईवटा व्यापारिक फर्ममा भीषण आगलागी हुँदा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । आइतबार राति विद्युत्को तार सर्ट भएर आगलागी हुँदा लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अर्डर सप्लायर्स र जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्समा ठूलो क्षति पुगेको हो ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अमर ओलीले सञ्चालन गर्दै आउनुभएका दुवै फर्म एकै स्थानमा रहेका थिए । विद्युत्को तार सर्ट भई आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । बिजुलीका विभिन्न सामग्री भण्डारण गरिएका गोदाममा आगो तीव्र गतिमा फैलिँदा ठूलो परिमाणमा सामान जलेर नष्ट भएको हो ।

    प्रहरीका अनुसार आगलागीबाट दुवै फर्ममा गरी पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गोदाममा विद्युत्सम्बन्धी सामग्री बढी मात्रामा भण्डारण गरिएकाले आगो नियन्त्रणमा लिनसमेत कठिनाइ भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका तीन, कोहलपुर नगरपालिकाको एक, नरैनापुर गाउँपालिकाको एक र नेपाल आयल निगम राँझाको एक गरी छवटा दमकल परिचालन गरिएको थियो ।

    करिब साढे दुई घण्टाको निरन्तर प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिनुभयो । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसमेत खटिएका थिए ।

    आगो तीव्र रूपमा फैलिँदै जाँदा आसपासका घरहरूमा समेत सल्किने जोखिम बढेपछि सम्भावित क्षति रोक्न नजिकै रहेका केही घर खाली गराइएको थियो । सुरक्षाकर्मी, दमकलकर्मी र स्थानीयवासीको संयुक्त प्रयासबाट थप घर तथा बस्तीमा आगो फैलिन नपाएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट दुईवटै व्यापारिक फर्ममा ठूलो आर्थिक क्षति भए पनि आसपासका घरहरूमा आगो फैलिन नदिन समयमै गरिएको प्रयासले थप क्षति हुनबाट जोगिएको छ ।

  • २४ कार्तिक २०८३, सोमबार १५:५८ प्रकाशित

  • Nabintech