प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडान र सुख्खा बन्दरगाहको मुद्दा उठाउन माग

  • नमस्ते कर्णाली

  • बाँके ,२ मंसिर ।
    प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन र नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणको विषयलाई प्राथमिकताका साथ उठाउन बाँकेका राजनीतिक दल, उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका अगुवाले सरकारसँग माग गरेका छन् ।

    नेपालगञ्जसहित समग्र पश्चिम नेपालको आर्थिक, व्यापारिक तथा पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने यी दुई योजनालाई प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा समावेश गरी भारत सरकारसँग उच्चस्तरीय छलफल गर्न आग्रह गरिएको हो ।

    नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा मङ्गलबार बिहान प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्री शाहलाई ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्र बुझाउँदै सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले लामो समयदेखि उठ्दै आएका यी दुई महत्त्वपूर्ण मागलाई यसपटकको प्रधानमन्त्रीको भारत भ्रमणमा प्राथमिकताका साथ सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

    यसअघि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा सोमबार नेपालगञ्जमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालगञ्जका आर्थिक तथा पूर्वाधार विकाससँग जोडिएका मुद्दा उठाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

    ज्ञापनपत्रमा नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरिएको छ । नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सुख्खा बन्दरगाह निर्माणको विषयलाई पनि भारतसँगको उच्चस्तरीय छलफलमा प्राथमिकताका साथ समावेश गर्न आग्रह गरिएको छ ।

    नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन हुन सके पश्चिम नेपालका नागरिकलाई राजधानी दिल्लीसहित भारतका विभिन्न सहर र अन्तर्राष्ट्रिय गन्तव्यसम्मको यात्रा सहज हुने अपेक्षा गरिएको छ । यसबाट पर्यटन प्रवर्द्धन, व्यापारिक गतिविधि विस्तार, स्वास्थ्य उपचार तथा अन्य व्यावसायिक प्रयोजनका लागि भारत आवतजावत गर्ने नागरिकलाई समेत प्रत्यक्ष लाभ पुग्नेछ ।

    त्यस्तै, नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माण हुन सके आयात–निर्यात व्यापारलाई व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने निजी क्षेत्रको विश्वास छ । सीमावर्ती भारतीय बजारसँगको व्यापारिक सम्बन्ध विस्तार हुनुका साथै ढुवानी तथा भन्सार प्रक्रियालाई व्यवस्थित गर्न र पश्चिम नेपालको औद्योगिक विकासलाई गति दिन पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको माग यसअघि पनि विभिन्न समयमा उठ्दै आएको छ । निजी क्षेत्र, उद्योगी व्यवसायी, राजनीतिक दल तथा नागरिक समाजले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि अहिलेसम्म उक्त माग कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी, सुख्खा बन्दरगाह निर्माणको विषय पनि लामो समयदेखि चर्चामा रहे पनि ठोस प्रगति हुन सकेको छैन ।

    पश्चिम नेपालका लागि व्यापार, पर्यटन, स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय सम्पर्क विस्तारका दृष्टिले महत्त्वपूर्ण मानिएका यी योजनाको कार्यान्वयनले नेपालगञ्जको मात्र नभई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने सरोकारवालाको अपेक्षा छ ।

    प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि दुईदिने भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । लामो समयदेखि उठ्दै आएका विकास र पूर्वाधारसँग सम्बन्धित मागलाई यसपटकको भ्रमणमा प्राथमिकता दिइए नेपालगञ्जसहित समग्र पश्चिम नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा स्थानीय उद्योगी व्यवसायी तथा सरोकारवालाले गरेका छन् ।

  • ३ मंसिर २०८३, बुधबार १०:३४ प्रकाशित

  • Nabintech