बाँके ,११ मंसिर ।
बाँकेको जानकी गाउँपालिका–३ स्थित कुष्ठरोग उपचारमा समर्पित साइनिङ अस्पतालले एक वर्षको अवधिमा १९ हजारभन्दा बढीलाई बहिरङ्ग (ओपीडी) सेवा प्रदान गरेको छ। कुष्ठरोगको पहिचान, उपचार तथा यसका कारण उत्पन्न हुने जटिलताको व्यवस्थापन गर्दै आएको अस्पतालबाट आर्थिक वर्ष २०८२/८३ मा १९ हजार ६०३ जनाले ओपीडी सेवा लिएका हुन्।
अस्पतालबाट सेवा लिनेहरूमध्ये २ हजार ९७४ जना कुष्ठरोगका बिरामी रहेको अस्पतालका प्रमुख मंगलबहादुर थारूले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त आर्थिक वर्षमा १४८ जनाले अस्पतालबाट अन्तरङ्ग अर्थात् भर्ना भएर उपचार सेवा लिएका छन्।
साइनिङ अस्पताल तथा आइएनएफ नेपाल बाँकेको सामाजिक परीक्षण तथा सल्लाहकार समितिको बुधबार नेपालगन्जमा आयोजित बैठकमा अस्पताल प्रमुख थारूले अस्पतालको सेवा प्रवाह, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउनुभएको हो।
२५ शय्याको क्षमता रहेको अस्पतालमा शनिबारबाहेक दैनिक ओपीडी सेवा सञ्चालन हुँदै आएको छ। अस्पतालले कुष्ठरोगको उपचारसँगै विभिन्न छालासम्बन्धी रोगको परीक्षण तथा उपचार र कुष्ठरोगका कारण उत्पन्न हुने शारीरिक जटिलताको पहिचान, उपचार तथा व्यवस्थापन गर्दै आएको छ।
‘हाम्रो प्रयास कुष्ठरोग निवारण गर्नु हो,’ अस्पताल प्रमुख थारूले भन्नुभयो, ‘अस्पतालमा ओपीडी सेवासँगै आवश्यकताअनुसार बिरामी भर्ना गरेर पनि उपचार सेवा प्रदान गर्दै आएका छौँ।’
अस्पतालले उपचार सेवासँगै समुदायस्तरमा कुष्ठरोगीको खोजपड्ताल र पहिचानका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको छ। विभिन्न स्वास्थ्य शिविर तथा खोजपड्ताल कार्यक्रमका क्रममा एक वर्षमा १९३ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्। नयाँ पहिचान भएकामध्ये सबैभन्दा धेरै ८१ जना बाँके जिल्लाका रहेको अस्पतालले जनाएको छ।
अस्पताल प्रमुख थारूका अनुसार समुदाय केन्द्रित खोजपड्ताल कार्यक्रम सञ्चालन गर्दा नयाँ कुष्ठरोगी पहिचान हुने क्रम बढेको छ। समुदायमा पुगेर स्वास्थ्य परीक्षण तथा खोजपड्ताल गर्न सके रोग लुकाएर बसेका वा उपचारको पहुँचमा नपुगेका बिरामीसमेत पहिचान गर्न सहज हुने उहाँको भनाइ छ।
‘समुदायमा जति धेरै खोजपड्तालका कार्यक्रम सञ्चालन हुन्छन्, नयाँ कुष्ठरोगी पहिचान हुने दर पनि त्यति नै बढ्छ,’ उहाँले भन्नुभयो। उहाँका अनुसार कुष्ठरोगको जोखिमका दृष्टिले बाँकेका सबै स्थानीय तह संवेदनशील अवस्थामा रहेका छन्।
सरकारले सन् २०१० मै नेपाललाई कुष्ठरोग जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरेको थियो। तर, त्यसको १६ वर्ष बितिसक्दा पनि देशमा कुष्ठरोगका नयाँ बिरामी पहिचान हुने क्रम रोकिएको छैन। बाँकेमा समेत उल्लेख्य सङ्ख्यामा नयाँ बिरामी फेला पर्नुले समुदायस्तरमा रोगको जोखिम र खोजपड्तालको आवश्यकतालाई उजागर गरेको छ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले बाँकेमा अझै पनि नयाँ कुष्ठरोगी पहिचान हुनु चिन्ताजनक विषय भएको बताउनुभयो। उहाँले समुदायस्तरमै पुगेर बिरामीको खोजी गर्ने, रोगको समयमै पहिचान गर्ने र उपचारको पहुँचमा ल्याउने कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार कुष्ठरोगको प्रारम्भिक अवस्थामै पहिचान गरी उपचार सुरु गर्न सके रोगका कारण उत्पन्न हुने जटिलता तथा अपाङ्गता न्यूनीकरण गर्न सकिन्छ। रोग पहिचानमा ढिलाइ हुँदा बिरामीको स्वास्थ्यमा थप समस्या आउन सक्ने भएकाले समुदायमा जनचेतना अभिवृद्धि र नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उहाँको भनाइ छ।
सल्लाहकार समितिको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, उपप्रमुख सीता कार्की, स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख गोविन्द पौडेल, जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना तथा खजुरा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि दीपक ढकाललगायतले अस्पतालको सेवा प्रवाह, चुनौती र आगामी दिनमा गर्नुपर्ने कामबारे सुझाव राख्नुभएको थियो। बैठकमा अस्पतालको सेवा अझ प्रभावकारी बनाउन स्थानीय तह र स्वास्थ्य संस्थाबीच समन्वय तथा सहकार्य बढाउनुपर्ने विषयमा समेत छलफल भएको थियो। कार्यक्रमको सहजीकरण पत्रकार भेषराज वस्नेतले गर्नुभएको थियो।
नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई कुष्ठरोगमुक्त बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। तर, बाँकेमा नयाँ कुष्ठरोगी पहिचान भइरहनुले लक्ष्य हासिल गर्न समुदायस्तरको खोजपड्ताल, समयमै रोग पहिचान, नियमित उपचार र जनचेतना अभिवृद्धिलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।
कुष्ठरोग समयमै पहिचान गरी नियमित उपचार गरे निको हुने रोग भएकाले यसप्रति रहेको भ्रम, डर र सामाजिक विभेद हटाउनु पनि उत्तिकै आवश्यक छ। उपचार सेवासँगै समुदायमा सचेतना फैलाउने, बिरामीलाई सम्मानजनक व्यवहार गर्ने र उपचारबाट कोही पनि वञ्चित हुन नदिने प्रयासले मात्रै कुष्ठरोग नियन्त्रणको लक्ष्य हासिल गर्न सहयोग पुग्ने देखिन्छ।









