१० औं राष्ट्रिय खेलकुदमा आयोजक कर्णाली पदकविहीन, बागमती शीर्ष स्थानमा

  • नमस्ते कर्णाली

  • सुर्खेत ,१२ मंसिर ।
    कर्णाली प्रदेशमा जारी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको समग्र पदक तालिकामा आयोजक कर्णाली प्रदेश पदकविहीन बनेको छ ।

    प्रतियोगितामा सहभागी अन्य प्रदेश तथा विभागीय टोलीले पदक जितिरहँदा घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको कर्णालीले भने अहिलेसम्म स्वर्ण, रजत र कास्य कुनै पनि पदक जित्न सकेको छैन ।प्रतियोगिताको समग्र पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम गरेको छ । बागमतीले १७ स्वर्ण, ११ रजत र १२ कास्य गरी ४० पदक जित्दै पहिलो स्थान हासिल गरेको छ । प्रतियोगितामा स्वर्ण पदकको सङ्ख्याका आधारमा बागमती अन्य टोलीभन्दा अगाडि देखिएको हो ।
    सर्वाधिक पदक आर्मीको, स्वर्णमा बागमती अगाडि
    पदक तालिकामा एनआरएनए १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदकसहित दोस्रो स्थानमा छ । नेपाल आर्मी क्लबले १० स्वर्ण, १७ रजत र १७ कास्य गरी कुल ४४ पदक जितेको छ । कुल पदक सङ्ख्याका आधारमा आर्मी सबैभन्दा अगाडि रहे पनि स्वर्ण पदकको सङ्ख्याका आधारमा तेस्रो स्थानमा छ ।
    नेपाल प्रहरीले आठ स्वर्ण, १५ रजत र १७ कास्य गरी ४० पदक जित्दै चौथो स्थान कायम गरेको छ ।


    त्यस्तै, तीन स्वर्णसहित कोशी प्रदेश पाँचौँ स्थानमा रहँदा दुई स्वर्ण, चार रजत र एक कास्यसहित सुदूरपश्चिम प्रदेश छैटौँ स्थानमा छ ।
    एपीएफ क्लब दुई स्वर्णसहित सातौँ स्थानमा रहेको छ । लुम्बिनी प्रदेश दुई रजत र दुई कास्यसहित आठौँ, गण्डकी प्रदेश एक रजत र दुई कास्यसहित नवौँ तथा एक कास्य जितेको मधेश प्रदेश दसौँ स्थानमा रहेका छन् ।
    घरेलु मैदानमा कर्णालीको चुनौती
    राष्ट्रिय खेलकुदको सहआयोजक रहेको कर्णाली प्रदेशले आफ्नै भूमिमा प्रतियोगिता आयोजना भइरहँदा पनि पदकको खाता खोल्न सकेको छैन ।
    प्रतियोगिताका विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहे पनि कर्णालीका खेलाडीले अहिलेसम्म पदक जित्न नसक्दा प्रदेशको खेल प्रदर्शनमाथि प्रश्न उठेको छ ।
    राष्ट्रियस्तरका खेलाडी उत्पादन, नियमित प्रशिक्षण, खेल पूर्वाधार र प्रतिस्पर्धात्मक तयारीका विषयमा कर्णालीले अझै धेरै काम गर्नुपर्ने अवस्थालाई यसले उजागर गरेको छ । प्रतियोगिता जारी रहेकाले बाँकी खेलमा कर्णालीले पदक जित्ने अवसर भने बाँकी नै छ ।
    कर्णालीमा पहिलोपटक आयोजना भइरहेको १० औं राष्ट्रिय खेलकुद प्रदेशको खेल क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर समेत हो । तर, प्रतियोगिता आयोजनाको उत्साहसँगै घरेलु टोलीको पदकविहीन अवस्थाले कर्णालीको खेल तयारी र लगानीको प्रभावकारिताबारे बहस सिर्जना गरेको छ ।

     

     

     

     

     

     

     

     

     

     

  • १३ मंसिर २०८३, शनिबार ०९:२६ प्रकाशित

  • Nabintech