कर्णालीबाट संगठन विस्तारको रणनीतिमा रास्वपा, राजनीतिक आधार बलियो बनाउने चुनौती

  • नमस्ते कर्णाली

  • बाँके ,१३ मंसिर ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो समय कर्णाली प्रदेशलाई आफ्नो राजनीतिक तथा सांगठनिक गतिविधिको केन्द्र बनाउँदै आएको छ । पाँचवर्षे चुनावी वाचापत्र सार्वजनिक गर्नेदेखि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेसम्मका गतिविधि कर्णालीबाटै सुरु गरेको पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारको रणनीति अघि सारेको छ । तर, गत निर्वाचनमा प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये एउटामा मात्रै जित हासिल गरेको रास्वपाका लागि कर्णालीमा राजनीतिक प्रभाव र सांगठनिक आधार विस्तार गर्नु चुनौतीपूर्ण देखिएको छ ।

    गत फागुन ७ गते २०८२ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट रास्वपाले आफ्नो पाँचवर्षे चुनावी वाचापत्र सार्वजनिक गरेको थियो । पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, डोलप्रसाद अर्याल र वरिष्ठ नेता बालेन्द्र शाहले सार्वजनिक गरेको वाचापत्रमार्फत रास्वपाले कर्णालीलाई राजनीतिक प्राथमिकतामा राखेको सन्देश दिएको थियो ।

    वाचापत्र सार्वजनिक कार्यक्रममा सभापति लामिछानेले कर्णालीमा व्याप्त रोग, भोक, गरिबी र अशिक्षाको अवस्थालाई विगतका राजनीतिक दलहरूको असफलतासँग जोड्दै रास्वपा त्यसको विकल्पका रूपमा आएको दाबी गर्नुभएको थियो । पटक–पटक अवसर पाएर पनि पुराना दलले कर्णालीको अवस्था सुधार गर्न नसकेको उहाँको भनाइ थियो । लोकतन्त्र जोगाउने लडाइँमा रास्वपा एक्लै उभिएको उद्घोषसमेत उहाँले गर्नुभएको थियो ।

    तर, निर्वाचन परिणामले कर्णालीमा रास्वपाको राजनीतिक प्रभाव अपेक्षित रूपमा विस्तार हुन नसकेको देखाएको छ । प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत–२ मा मात्रै रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटा विजयी हुनुभयो । बाँकी ११ क्षेत्रमा पार्टीले जित हासिल गर्न सकेन । यसले राष्ट्रिय राजनीतिमा पार्टीको उपस्थिति र प्रदेशस्तरमा संगठनात्मक आधार निर्माणबीचको अन्तर स्पष्ट पारेको छ ।

    कर्णालीको विकासमा विगतका राजनीतिक दलको असफलतालाई चुनावी मुद्दा बनाएको रास्वपाले त्यसलाई प्रदेशव्यापी मतमा रूपान्तरण गर्न सकेन । यसबाट पुराना दलप्रतिको असन्तुष्टि मात्रै नयाँ राजनीतिक शक्तिको पक्षमा मत आउने पर्याप्त आधार नहुने देखिन्छ । मतदातासँगको स्थानीय सम्बन्ध, उम्मेदवारको पहुँच, संगठनको सक्रियता तथा क्षेत्रगत मुद्दामा पार्टीको स्पष्ट दृष्टिकोण पनि राजनीतिक समर्थनका महत्त्वपूर्ण आधार हुन् ।

    निर्वाचनपछि भने रास्वपाले पुनः कर्णालीबाटै सांगठनिक गतिविधिलाई तीव्रता दिएको छ । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको पार्टीले शनिबार र आइतबार वीरेन्द्रनगरमा दुईदिने प्रशिक्षण सञ्चालन गरेको हो । प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्य–मान्यता, अनुशासन र राजनीतिक संस्कारका विषयमा छलफल भइरहेको छ ।

    प्रशिक्षणलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपाली राजनीतिमा स्थापित ‘झोले संस्कृति’ अन्त्य गर्ने घोषणा गर्नुभयो । पार्टीका अधिवेशन तथा प्रशिक्षणमा झोला वितरण नगर्ने र त्यसको सट्टा स्मार्ट डायरी तथा फाइल प्रयोग गर्ने अभ्यास सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    जनताका मुद्दा र गुनासा टिपोट गर्न फाइल प्रयोगमा ल्याइएको बताउँदै उहाँले पार्टीलाई गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा बाह्य प्रायोजकको प्रभावबाट मुक्त राख्न फाइल खरिदमा कुनै प्रायोजन नलिइएको स्पष्ट पार्नुभयो । हुनेले किन्ने र नहुनेलाई आर्थिक रूपमा सक्षम साथीले सहयोग गर्ने अभियान अघि बढाउन उहाँले निर्देशन दिनुभयो ।

    आर्थिक अवस्था कमजोर भएका कम्तीमा १० जना सहभागीका लागि आफ्नै खर्चमा फाइल खरिद गरिदिने घोषणा गर्दै उहाँले त्यसका लागि कोषाध्यक्षलाई रकमसमेत हस्तान्तरण गर्नुभएको थियो ।

    निर्वाचनमा कर्णालीबाट कमजोर प्रतिनिधित्व भए पनि विकासका सवालमा प्रदेशलाई विभेद नगरिने प्रतिबद्धता सभापति लामिछानेले दोहोर्‍याउनुभयो । उहाँले भन्नुभयो, ‘कर्णालीले एक भोट पनि नदिओस् वा एकजना पनि प्रतिनिधि नपठाओस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली सधैं प्राथमिकतामा रहनेछ । हामी भोटसँग विकास साट्ने सौदाबाजी गर्न आएका होइनौं, चोखो मनले यहाँका मुद्दा सम्बोधन गर्न आएका हौं ।’

    कर्णालीलाई प्राथमिकता दिने उहाँको प्रतिबद्धता अब बजेट विनियोजन, विकास आयोजना, सार्वजनिक सेवा प्रवाह र प्रदेशका प्राथमिकतासम्बन्धी सरकारी निर्णयबाट परीक्षण हुनेछ । संघीय शासन व्यवस्थामा निर्वाचन परिणामका आधारमा कुनै प्रदेशलाई विकासका अवसरबाट वञ्चित गर्न मिल्दैन । त्यसैले कर्णालीलाई प्राथमिकतामा राख्ने पार्टीको प्रतिबद्धता नीति, कार्यक्रम र कार्यान्वयनमा देखिनुपर्ने हुन्छ ।

    लामिछानेले विगतको सशस्त्र विद्रोहले कर्णालीलाई दिएको पीडाको स्मरण गर्दै रास्वपाले रगत नबगाई ‘निलो क्रान्ति’ मार्फत शान्त विद्रोह गरिरहेको बताउनुभयो । नेताहरू कार्यकर्ताको घेरामा बस्ने, फोटो खिचाउने र त्यसैका आधारमा टिकटको दाबी गर्ने प्रवृत्तिको आलोचना गर्दै उहाँले नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

    ‘मलाई भिड र फोटोको लोभ छैन, म नेताहरूबाट होइन, सोझै जनताबाट घेरिन चाहन्छु,’ उहाँले भन्नुभयो ।

    रास्वपाले देशका ६ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा कर्णालीको सुर्खेतबाट कार्यक्रम सुरु गरेको पार्टीले सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गर्ने जनाएको छ । अन्य प्रदेशमा पनि क्रमशः प्रशिक्षण सञ्चालन गरिने पार्टीको भनाइ छ ।

    कर्णालीको प्रशिक्षणमा सभापति लामिछाने, उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पार्टीका पदाधिकारी तथा नेताहरू सहभागी छन् । प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका नेतृत्वसँग संगठनको वर्तमान अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीका विषयमा छलफल गरिएको थियो ।

    दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, चुनावी वाचापत्र कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ ।

    प्रशिक्षणको विषयवस्तुले रास्वपाले राष्ट्रिय राजनीतिमा प्राप्त गरेको उपस्थितिलाई स्थानीय तहसम्म विस्तार गर्ने प्रयास गरिरहेको देखाउँछ । जिल्ला तथा पालिका तहका नेतृत्वसँग संगठनको अवस्था र चुनौतीबारे छलफल गर्नु त्यसैको हिस्सा हो । आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने लक्ष्यसहित पार्टीले संगठनलाई व्यवस्थित बनाउने प्रयास थालेको देखिन्छ ।

    यद्यपि, प्रशिक्षण र नेताहरूका प्रतिबद्धताले मात्रै संगठन बलियो बन्ने छैन । प्रशिक्षणबाट प्राप्त निष्कर्षलाई व्यवहारिक कार्ययोजनामा रूपान्तरण गर्ने, स्थानीय तहमा नियमित संगठन सञ्चालन गर्ने, सक्षम नेतृत्व विकास गर्ने र नागरिकका दैनिक समस्या तथा सरोकारका विषयमा निरन्तर काम गर्ने संरचना निर्माण गर्नु रास्वपाका लागि मुख्य चुनौती हुनेछ ।

    कर्णालीलाई राजनीतिक प्राथमिकतामा राखेको सन्देश दिएको रास्वपाले अब त्यसलाई व्यवहारमा कति उतार्न सक्छ भन्ने प्रश्न महत्त्वपूर्ण छ । निर्वाचनमा कमजोर प्रतिनिधित्वका बाबजुद प्रदेशको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता पूरा गर्न सके मात्रै पार्टीप्रति कर्णालीवासीको विश्वास बढ्नेछ । अन्यथा, कर्णालीबाट गतिविधि सुरु गर्ने र प्राथमिकताको घोषणा गर्ने राजनीतिक रणनीति चुनावी नारामै सीमित हुने जोखिम रहनेछ ।

  • १४ मंसिर २०८३, आईतवार ०६:४६ प्रकाशित

  • Nabintech