” फुटबल मैदानबाट खेलाडी उत्पादन गरौँ, विदेश पलायन रोकौँ” – खेलकुद मन्त्री चौधरी

  • नमस्ते कर्णाली

  • सरला सुवेदी 
    ६, फाल्गुन २०८१
    बाँके । सङ्घीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवा खेलाडीहरूको विदेश पलायन बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले खेलाडीहरूको भविष्य सुनिश्चित गर्न सरकार योजनाबद्ध रूपमा अगाडि बढिरहेको बताउनुभएको छ।

    कोहलपुर नगरपालिका-२ तेह्र बिघामा आयोजित प्रथम नेशनल बाँके फुटबल कप उद्घाटन समारोहमा मन्त्री चौधरीले खेल क्षेत्रलाई प्रवर्द्धन गर्न खेलाडी उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाली फुटबलको विकासमा कोहलपुरले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै, खेलाडीहरूलाई अध्ययनमा पनि सहुलियत दिनुपर्ने धारणा राख्नुभयो।

    मन्त्री चौधरीले संस्थागत विद्यालयहरूले दुई प्रतिशत रकम छुट्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका छोराछोरीलाई निःशुल्क अध्ययनको अवसर दिनुपर्ने तर्क राख्नुभयो। उहाँले हाल संस्थागत विद्यालयहरूले ११ प्रतिशत छात्रवृत्ति उपलब्ध गराइरहेकोमा खुशी व्यक्त गर्दै, बालबालिकालाई सानै उमेरदेखि फुटबलमा आकर्षित गर्नुपर्ने बताउनुभयो।
    कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले कोहलपुरलाई खेलकुदको केन्द्र (हब) बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार नगरपालिकाले खेलकुदका लागि एक करोडभन्दा बढी बजेट विनियोजन गरिसकेको छ। कोहलपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण, मुख्यमन्त्री गोल्ड कप, उपमेयर छात्रा क्रिकेट प्रतियोगिता, मेयर कप तथा विद्यालयस्तरमा खेल शिक्षकको व्यवस्था गरिसकिएको उहाँले बताउनुभयो।

    कार्यक्रमका सभापति तथा नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोरराज मल्लले बालबालिकालाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्न यस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताउनुभयो।
    युवा खेलाडीहरूको पलायन रोक्न, उनीहरूलाई नेपालमै अवसर सिर्जना गर्न र खेलकुदको विकासका लागि सरकारले ठोस नीति ल्याउनु पर्नेमा सहभागीहरूले जोड दिएका थिए।

     

  • ६ फाल्गुन २०८१, मंगलवार ०७:०२ प्रकाशित

  • Nabintech