बाँकेमा पाटेबाघको सफल उद्धार: मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको पहल

  • नमस्ते कर्णाली

  • ११, फाल्गुन २०८१
    बाँके ।बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ बालापुरस्थित एक सामुदायिक वनबाट पाटेबाघको उद्धार गरेको छ। उक्त बाघ वन क्षेत्रमा लुकेर बस्ने तथा साँझपख मानव वस्तीमा छिरेर स्थानीयले पालेका घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि उद्धार गरिएको हो।

    ‘स्थानीयको आग्रहपछि अन्दाजी साढे ८ बजेको समयमा हाम्रो प्राविधिक टोलीले अन्दाजी तीन वर्ष उमेर पुगेको पोथी बाघ (बघिनी) लाई नियन्त्रणमा लिएर उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत मन्दीप पंगेनीले जानकारी दिनुभयो।

    पंगेनीका अनुसार, उक्त बाघले मानवीय क्षति भने नगरे पनि स्थानीयका गोठमा पसेर बाख्रा, पाडापाडी, बाच्छाबाच्छीमाथि आक्रमण गरेर क्षति गर्दै आएको थियो। स्थानीयहरूले गएराति बालापुर नजिकको खोल्सामा बाघ देखेपछि निकुञ्जलाई खबर गरेका थिए। त्यसपछि हात्तीसहितको निकुञ्जको प्राविधिक टोली परिचालन गरेर बाघलाई नियन्त्रणमा लिएको थियो।

    नियन्त्रणमा लिइएको बाघलाई उद्धार गरेर निकुञ्जको खैरीखोलास्थित खैरीपोष्टको खोरमा राखिएको छ। ‘हात्तीसहितको प्राविधिक टोली परिचालन गरेर बाघलाई उद्धार गरेका छौँ, उद्धार गरेको बाघलाई खैरीपोष्टमा रहेको खोरमा राखेका छौँ,’ पंगेनीले भन्नुभयो, ‘केही दिन अब्जर्भेसनमा राख्छौँ, तत्काल छाड्दैनौँ।’

    बाँके राष्ट्रिय निकुञ्ज नजिक रहेका विभिन्न सामुदायिक वन क्षेत्रका मानव बस्तीमा पाटेबाघले घरपालुवा जनावरलाई क्षति गर्दै आएको थियो। यस उद्धारसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने प्रयासमा एक सकारात्मक कदम अघि बढेको निकुञ्जको विश्वास छ।

     

  • ११ फाल्गुन २०८१, आईतवार २१:०५ प्रकाशित

  • Nabintech