‘कालापहाडमा भोगेको दुःखले आफ्नै माटोमा सुन फलाउँदै भक्तबहादुर’

  • नमस्ते कर्णाली

  • ४, असार २०८२
    जुम्ला।जुम्लाको कनकासुन्दरी गाउँपालिका – १ सिफ्टी गाउँका भक्तबहादुर कठायत २२ वर्षको कलिलो उमेरमै सदरमुकाम खलंगामा आइपुगे।अहिले उनी ६० वर्षका भए। सदरमुकाम खलंगामै बसेकाे १८ वर्ष पुरा पुग्यो। एउटा दुर्गम गाउँको मान्छे सदरमुकाम खलंगामा आएर बसाेबास गर्नु सामान्य हुन्थेन्।कठायत गाउँको ५६ हजार वर्गमिटर जग्गा सबै बेचेर सदरमुकाम आएको बताउँछन्।

    भाेकचलन गरेको जग्गा सबै बिक्री गरि सदरमुकाम झरेकोले गाउँ घर फर्किने अवस्था भएन,उनलेे सुनाए। उतिबेला तीन लाख रुपैयाँ हात परेको थियो।उक्त रुपैयाँ पनि मास्यौं भने सुकुम्बासी भइने डर थियो । भक्तबहादुरले भोगेका दुःख सम्झँदा अहिले पनि आँखा रसाउँछन् । गाउँबाट ल्याएको पैसाले जुम्लाको चन्दननाथ नगरपालिका-३ बिगाराचाँगामा सानो झुपडी बनाएकाे बताए।गरिब परिवारमा जन्मिएकाले स्कुल त देखिनँ, घरमा पनि अक्षर चिनाउने कोही भएनन् । तर छोराछोरीलाई दुःख गरेर भए पनि अक्षर चिनाउने ठूलो धोको थियो । भक्तबहादुर भन्छन् १६ वर्षको उमेरमा विवाह गरेँ।९ छोराछोरी जन्मिए । जिम्मेवारी बढ्यो,लालनपालन र पठनपाठन मुख्य चुनौती बन्यो।कालापहाडको भरमा परिवार पाल्नुपर्ने वाध्यता थियो । कहिले जुत्ता च्यातिएको हुने, कहिले कपडा च्यातिएको देखिने, कहिले टाउकोमा टोपी नदेखिने अवस्थाले मन भक्कानिन्थ्यो । छोराछोरीले कापीकलम सकियो भन्दा मनभरी चिन्ता हुन्थ्यो, अब कहाँबाट किन्दिने भन्ने समस्या थपिन्थ्यो । जेनतेन छोराछोरी हुर्काएँ । सबैले उच्च शिक्षा पढेका छन् । अहिले ९ छोराछोरीमध्ये ८ जना प्रहरीमा जागिरे छन् ।

    उनी २० वर्षको उमेरमा मजदुरीका लागि कालापहाड पुगेको सम्झन्छन्। भारतमा रोड बनाउने, स्याउ बोक्ने, बालुवा बोक्ने, बगैंचामा विरुवा रोप्ने र बगैंचाको रेखदेख गर्ने काम मिल्थ्यो, निरन्तर ७ वर्ष गरेँ,बर्सेनि कालापहाडमा यस्तै काम गरेर वर्षको ७० हजार रुपैयाँसम्म घर पुर्‍याउँथेँ। उनलेे भने,त्यही रकमले खानाखर्च, लत्ताकपडाको जोहो हुन्थ्यो,पछि हिङ, शीलाजित बेच्ने, रुद्रराक्ष मालाको व्यापार गर्न थालेँ। कठायतले अहिले पनि हिउँदको तीन महिना कालापहाडमै बिताउँछन्। हिउँदका तीन महिनामा ७० हजारभन्दा बढी कमाइ हुने गरेको छ । जागिरे छोराछोरीले महिनैपिच्छे पैसा पठाइरहन्छन् ।अहिले कठायतका अनुसार सदरमुकाममा २० हजार वर्गमिटरभन्दा बढी जमिन छ । जग्गा जोड्दै गएपछि तरकारी खेतीमा पनि चासो बढ्यो । अहिले आलु, लसुन, प्याज, टमाटर, साग, धनियाँ, सिमी, काउली, गाजर, काँक्रा बारीमा टन्न फलाइरहेका छन्।

    नजिकै खलंगा बजार भएकाले उत्पादन बजारमा लैजान खासै समस्या छैन। बारीमा जडिबुटीमा अत्तिस, सेतक चिनी र पदमचाल पनि छन् । जौ, गहुँ, मकै, कोदो, उवा, धान र फापर खेती पनि उत्तिकै लोभलाग्दो छ । फलफूलमा स्याउ, ओखर र विभिन्न जातका आरुका बिरुवा छन्।राताे लसुन र सेतो लसुन रोपेको छ । लसुन बेचेरै वर्षमा लाखभन्दा आम्दानी भइरहेको छ।स्याउका २ सय ५० र ओखरका ३ सय विरुवा लगाइएको छ। खरायो पनि छन्।अहिलेसम्म कुनै निकायले सहयोग गरेका छैनन्। कालापहाडमा सिकेको सीप र भोगेको दुःखले अहिले आफ्नै माटोमा सुन फलाइरहेछु।कठायतले सुनाए।२०५८ सालमा माओवादीका कारण भूमिगत हुनु पर्‍यो।

    कालापहाड गएर थोरैथोरै पैसा कमाउने भएकाले आफन्तहरूले माओवादी लगाएर दुःख दिए । उतिबेलाको ४० हजार माओवादीलाई चन्दा दिएँ। तर पछि त त्यही माओवादीमै सामेल हुन पुगेँकाे सुनाए।घरवरिपरि अहिले १० वटा मौरीघार छन् । हरेक दिन मौरीको भुनभुन आवाजले निकै आनन्द मिल्छ । एक घारबाट पाँच केजीसम्म मह निस्कन्छ । बजारमा महको मूल्य प्रतिकिलो २ हजार ५ सय रुपैयाँ छ । पाँच महिनाअघिसम्म ९० भेडासमेत पालेको थिएँ। ९ लाख ९० हजार रुपैयाँमा सबै भेडा बेचेँ । अहिले पाँच जनाको परिवार यही खेतीबाटै चलेको छ । श्रीमती कोइरे कठायतले साथ दिएकी छिन् । स्याउ र ओखरको कलमी गरेर आफ्नै विरुवा हुर्काइरहेको छन् । स्याउ र ओखर पनि बेच्ने र दाना पनि बेचेर मनग्गे आम्दानी गर्ने काेईरे कठायतले बताइन्। उमेरले ६० वर्ष पुगेपनि भक्तकाे जागर मरेको छैन ।

  • ४ असार २०८२, बुधबार ०६:१२ प्रकाशित

  • Nabintech