धान रोपाइँको चटारोमा मल अभाव: किसान तस्करीको भरमा, उत्पादन जोखिममा

  • नमस्ते कर्णाली

  • १०, असार २०८२
    बाँके ।धान रोपाइँको मौसम सुरु भइसकेको बेला बाँके र बर्दिया जिल्लाका किसानहरू मल अभावको चरम समस्यामा परेका छन्। कृषि सामग्रीको अभावका कारण किसानहरू भारतबाट तस्करी गरिएको मल प्रयोग गर्न बाध्य छन्। तर, तस्करीको मल पाउनु पनि कठिन बन्दै गएको छ। प्रहरीले तस्करीको मल जफत गर्न थालेपछि किसानहरू दोहोरो समस्यामा परेका छन्।

    बाँके र बर्दियाका अधिकांश किसान अहिले रोपाइँको लागि युरिया, पोटास र डिएपी मल खोज्दै भौतारिन बाध्य छन्। कृषि सामग्री संस्थान कम्पनी लिमिटेडका अनुसार मल पर्याप्त नहुँदा जिल्लामा अभाव सृजना भएको हो।

    बाँकेका लागि अहिले ३ हजार मेट्रिक टन युरिया, ६ हजार मेट्रिक टन डिएपी र १ सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री संस्थानको तथ्यांक छ। तर यति परिमाणमा मल आपूर्ति हुन सकेको छैन। बाँके जिल्लामा १५० सहकारी संस्थाहरू कृषि सामग्री लिमिटेडमा दर्ता भए पनि उनीहरूले माग अनुसार मल उपलब्ध गराउन सकेका छैनन्।

    यस्तै, बर्दियाका लागि युरिया, पोटास र डिएपी गरी १२ हजार मेट्रिक टन मल आवश्यक पर्ने अनुमान छ। तर आपूर्ति नहुँदा त्यहाँका किसानहरू पनि मलको खोजीमा भारतसम्म धाउन बाध्य छन्। बर्दियामा १२० वटा सहकारी संस्थाहरू मल विक्रिका लागि दर्ता छन् तर वितरण प्रभावकारी छैन।

    अहिले तस्करी गरेर ल्याइएको “सरदार” ब्रान्डको डिएपी मल किसानले प्रतिकेजी १८०० देखि २५०० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ। त्यो पनि सजिलै उपलब्ध हुँदैन। प्रहरीले तस्करी रोक्न निगरानी बढाएको छ, जसका कारण खेतमै रोपाइँ गर्ने बेलामा मल नपाएर किसानहरू मर्कामा परेका छन्।
    किसानहरू भन्छन्, “हामी पैसा तिर्न तयार छौं, तर मल कहाँबाट ल्याउने?”

    सरकारको तर्फबाट समयमा मल आपूर्ति हुन नसक्दा उत्पादनमा गम्भीर असर पर्न सक्ने चिन्ता किसानहरूको छ। कृषि याम चुक्दा खाद्य सुरक्षामा समेत प्रभाव पर्ने खतरा बढेको छ।
    धान उत्पादनमा देशकै भर पर्ने तराईका मुख्य जिल्लाहरूमा मलको चरम अभाव हुँदा किसानहरू हतोत्साहित भएका छन्। तस्करीको भरमा खेती गर्नुपर्ने अवस्था र कानुनी कारबाहीको डरले किसानहरू थप जोखिममा परेका छन्। सरकारले यथाशीघ्र मल आपूर्ति गर्नसके मात्र यो संकट समाधान हुने देखिन्छ।

     

  • १० असार २०८२, मंगलवार ०६:०७ प्रकाशित

  • Nabintech