१२, असार २०८२
बाजुरा । अदानचुली गाउँपालिकाको १६औं गाउँसभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि ३४ करोड ३७ लाख ९९ हजार ७ सय २३ रुपैयाँ बराबरको अनुमानित बजेट सर्वसम्मतिले पारित गर्दै गाउँसभा सम्पन्न भएको हो।
बुधबार सम्पन्न गाउँसभामा गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा नीति, कार्यक्रम तथा बजेट पारित गरिएको हो। सभामा उपाध्यक्ष कर्ण रोकाया, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मिहरूको उपस्थिति रहेको थियो।
सभामा अध्यक्ष सिंहले “समृद्ध कर्णाली, सुखी कर्णालीबासी” भन्ने अभियानलाई सार्थक बनाउने उद्देश्यसहित दीर्घकालीन योजना ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट निर्माणमा स्थानीय जनताको सहभागिता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइएको छ।
सभामा उपाध्यक्ष रोकायाले आगामी आर्थिक वर्षको लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्नुभएको थियो। कुल बजेटमध्ये चालु खर्चतर्फ २२ करोड १५ लाख ९५ हजार ७ सय २३ रुपैयाँ र पुँजीगत खर्चतर्फ १२ करोड २२ लाख ४ हजार रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको क्षेत्रगत विनियोजन यस प्रकार छ:
- आर्थिक विकास: ३ करोड ८ लाख ७ सय २३ रुपैयाँ
- सामाजिक विकास: ३ करोड ५० लाख ९९ हजार रुपैयाँ
- पूर्वाधार विकास: ६ करोड ९० लाख रुपैयाँ
- वन, वातावरण तथा विपद् व्यवस्थापन: ५ करोड २० लाख रुपैयाँ
- सुशासन तथा संस्थागत विकास: १५ करोड ६९ लाख रुपैयाँ
सभामा बजेट र नीति कार्यक्रममाथि गम्भीर छलफल भएको र उठेका विषयहरूमध्ये केही कार्यान्वयनमा पुगिसकेको तथा केही कार्यपालिकाको बैठकबाट निर्णय गरी अघि बढाइने अध्यक्ष सिंहले बताउनुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारीले प्रस्तुत नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित भएको जानकारी दिनुभयो।
गाउँसभा मार्फत पारित बजेटले अदानचुलीको समावेशी विकासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।