सिक्टा सिँचाइ आयोजनाको उल्लेखनीय प्रगति: पश्चिम नहरको छैटौँ शाखा नहरबाट सिँचाइ सुरु, हजारौं किसान लाभान्वित

  • नमस्ते कर्णाली

  • १८, असार २०८२
    बाँके ।राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले पछिल्लो समय तीव्र गतिमा कार्य अघि बढाउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। बाँकेको ४३ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माणाधीन यस आयोजनाले हालै पश्चिम मूल नहरअन्तर्गत छैटौँ शाखा गुरुवागाउँ नहर निर्माण सम्पन्न गरी पानी प्रवाह सुरु गरेको छ।

    बैजनाथ गाउँपालिका–५ मा निर्माण सम्पन्न गुरुवागाउँ शाखा नहरमा मंगलबार परीक्षणका लागि पानी छाडिएको हो। परीक्षण कार्यक्रम आयोजना प्रमुख राजु आचार्य, वडा नम्बर ५ का अध्यक्ष देब बहादुर रावत, वडा नम्बर ६ का अध्यक्ष भुपाल पुन मगर, जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगी, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थितिमा सम्पन्न भएको हो।

    सम्झौताअघि नै निर्माण सम्पन्न
    भैरव–सुभानी जेभी काठमाडौंले निर्माण जिम्मा लिएको ११ किलोमिटर लामो यो नहर २०८३ चैत १७ गतेसम्म सक्नुपर्ने सम्झौतामा रहे पनि तय म्यादभन्दा अगावै निर्माण सम्पन्न गरिएको छ। ३७ करोड ८२ लाख ८४ हजार रुपैयाँ लागतमा सम्पन्न यो आयोजनाले हालसम्म ९८ प्रतिशत भौतिक प्रगति गरिसकेको इन्जिनियर विनेश श्रेष्ठले जानकारी दिनुभयो।

    उहाँका अनुसार नहर सञ्चालनमा आएसँगै ७ हजार ८१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ भने करिब एक लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन्। अहिले नहरमार्फत पानी प्रवाह सुरु भएसँगै रोपाइँमा व्यस्त किसानहरू उत्साहित भएका छन्।

    स्रोत व्यवस्थापन र कार्यसम्पादन प्रशंसनीय
    आयोजना प्रमुख राजु आचार्यले स्रोत र साधनको समुचित व्यवस्थापन, मुआब्जा वितरण र प्रभावकारी समन्वयकै कारण म्यादभित्रै कार्य सम्पन्न गर्न सफल भएको जानकारी दिनुभयो। साथै अब यसपछि शाखा नहरको प्रशाखा तथा उपशाखा विस्तार गरिने जानकारी पनि दिइएको छ।

    स्थानीय सुविधालाई प्राथमिकता
    स्थानीयको सुरक्षालाई ध्यानमा राख्दै नहरको आसपासका बस्ती क्षेत्रमा तारजाली तथा कतिपय स्थानमा सिँढी निर्माण गरिएको छ। आयोजनाका उपसचिव (लेखा) तुकमान पुन मगर, सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार साह, निर्माण कम्पनी प्रतिनिधि, पत्रकार तथा इन्जिनियरहरूको उपस्थितिमा पानी परीक्षणपछि ११ किलोमिटर नहर क्षेत्रको अवलोकन पनि गरिएको थियो।

    लामो समयदेखि चलिरहेको राष्ट्रिय परियोजना
    सिक्टा सिँचाइ आयोजना आर्थिक वर्ष २०६२/६३ मा प्रारम्भ गरिएको थियो। सुरुमा १२ अर्बको लागत अनुमानमा सीमित रहेको आयोजनाको कार्यक्षेत्र बिस्तार हुँदै जाँदा हालसम्म तीनपटक गुरुयोजना परिमार्जन भई वर्तमानमा ५२ अर्बको स्वीकृति प्राप्त भइसकेको छ।

    यो परियोजना अबको केही वर्षभित्र बाँकेको प्रमुख सिँचाइ आधार बन्ने अपेक्षा गरिएको छ। किसानलाई भरपर्दो सिँचाइ सेवा दिने यो आयोजनाको गति देखेर स्थानीय उत्साहित छन्।

    सिक्टा सिँचाइ आयोजना देशकै उदाहरणीय आयोजना बन्न सक्ने सम्भावनातर्फ अघि बढिरहेको छ। प्रभावकारी कार्यान्वयन, समयपालना र किसानको जीवनस्तर सुधारमा यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ।

     

  • १८ असार २०८२, बुधबार ०७:१५ प्रकाशित

  • Nabintech