कर्णाली राजमार्गको बेहाल : सडक छैन, सास्ती मात्र छ

  • नमस्ते कर्णाली

  • १९, असार २०८२

    जुम्ला।वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्गमा यात्रा गर्नु यात्रुहरूका लागि कहालीलाग्दो अनुभव बन्न थालेको छ। सडक साँघुरो, खाल्डाखुल्डीले भरिएको, हिलाम्य र जोखिमपूर्ण हुँदा यात्रुहरू दिनहुँ सास्ती खेप्न बाध्य छन्। राज्य उदासीन भएको गुनासो स्थानीयको छ भने बजेट र दिगो योजना अभावमा सुधारको आशा दिनानुदिन टाढिँदै गएको देखिन्छ।

    जुम्लाको चन्दननाथ नगरपालिका–५ का अमृत बुढाथोकी मगर भन्छन्, “कालोपत्रे त गरिएको छ, तर खाल्डा र साँघुरोपनका कारण यात्रा जोखिमपूर्ण छ।” मंगलबार बिहान ५ बजे सुर्खेतका लागि हिँडेका उनी राति १० बजे मात्र गन्तव्यमा पुगे। हिलाम्य सडकका कारण यात्रुहरूलाई गाडी तान्नेसम्मको अवस्था आउँछ।

    वर्षातमा सुर्खेत-जुम्ला यात्रा तीन दिनसम्म पनि पुग्न नसक्ने अवस्था रहने गरेको यात्रुहरू बताउँछन्। दैलेख, कालिकोट, जुम्ला लगायतका ठाउँमा दर्जनौँ स्थानमा सवारी जाम लाग्ने र पहिरोले सडक अवरुद्ध हुने क्रम दोहोरिएको छ। कनकासुन्दरी–३ का धनबहादुर रावत भन्छन्, “भोकभोकै रात बिताउनुपर्छ, राज्यले गुणस्तरीय र दिगो रूपमा राजमार्गको स्तरोन्नति गर्नुपर्छ।”

    गगने खोला, सेरीघाट, खुलालु जिरोपोइन्ट लगायतका सडक खण्ड अत्यन्त जोखिमपूर्ण अवस्थामा छन्। स्याउ किसान गोपाल रोकायाले स्याउ उत्पादन गरे पनि बाहिर पठाउन सडक अबरोध हुने चिन्ता व्यक्त गरे। “गत वर्ष ट्रकमै स्याउ खेर गयो, यो वर्ष पनि उही अवस्था दोहोरिने डर छ,” उनले भने।

    सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दहीखोला देखि खलङ्गासम्म १५ स्थानमा पहिरोको जोखिम उच्च छ। “एकछिन पहिरो पन्छायो, अर्को घण्टामै फेरि पहिरो आउँछ,” प्रमुख दीपेन्द्रकुमार चौधरीले भने। भिरालो जमिन, कमजोर माटो र अत्यधिक विस्फोटनले पहिरोको जोखिम झन् बढाएको बताइएको छ।

    यो वर्ष आकस्मिक बजेटबाट जोखिम क्षेत्रहरूमा सामान्य सुधार कार्य भइरहेको छ। करिब २४ करोड रुपैयाँको बजेटबाट केही खण्डमा कालोपत्रे र चौडाइको काम थालिएको डिभिजन कार्यालयले जनाएको छ। तर यो प्रयास पर्याप्त देखिएको छैन। गत दशकमा मात्र राजमार्गमा ९०१ जनाको मृत्यु र १५२७ जना घाइते भएको तथ्यांक प्रदेश प्रहरी कार्यालयको छ। पछिल्ला ३ वर्षमा मात्रै ३०१ जनाले ज्यान गुमाएका छन्।

    जुम्लाका संघीय सांसद विनिता कठायत भन्छिन्, “सरकारले कर्णालीका जनप्रतिनिधिलाई प्रतिनिधि नै मानेको छैन। जनतालाई नागरिक जस्तो व्यवहार गर्दैन।” उनले वर्तमान नेतृत्वसमेत कर्णालीको मुद्दा उठाउन असफल भएको आरोप लगाइन्।

    कर्णाली विकासको मेरुदण्ड मानिएको राजमार्ग पटकपटकको योजना र ठूलो लगानीपछि पनि जनताको पीडा कम गर्न असफल हुँदै गएको छ।

  • १९ असार २०८२, बिहीबार ०७:३९ प्रकाशित

  • Nabintech