फोटोग्राफीबाट भविष्य निर्माण: जुम्लाका युवाले रोजगारीको नयाँ बाटो पहिल्याउँदै

  • नमस्ते कर्णाली

  • ५, साउन २०८२

    जुम्ला।जुम्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटका २० वर्षीय प्रकाश सुनारले जागिर नपाएपछि आत्मनिर्भर बन्ने मार्गको खोजी गरे। तीन वर्षे आईएसीएजी कोर्ष सकाएर जागिरको खोजीमा थुप्रै प्रयास गरे पनि जब सन्तुष्टि नपाए, उनले ‘काम पनि रमाइलो होस्, आम्दानी पनि होस्’ भन्ने सोचसहित फोटोग्राफीको बाटो रोजे।

    घुम्न आउने पर्यटकको फोटो खिच्ने विचारले उनी फोटोग्राफीतर्फ आकर्षित भए। सुरुवाती दिनमा क्यामेरा चलाउन नसक्ने प्रकाशले आफ्नो दाजु दिनेश सुनारको सहयोगमा अभ्यास गर्न थाले। कुनै औपचारिक तालिम नलिए पनि उनले अनुभवकै आधारमा अहिले फोटोग्राफरको रूपमा आफूलाई स्थापित गराएका छन्।

    हाल उनी जुम्लाको प्रसिद्ध पर्यटकीय स्थल पवित्र स्तुपा डुडुल चैत्यमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म फोटो खिच्ने काम गर्छन्। पर्यटकको मागअनुसार गुठिचौर, धिमीचौर, कर्णाली प्राविधिक शिक्षालय, खाली पाटन, केसर खेती क्षेत्रसम्म पुगेर पनि सेवा दिन्छन्। उनी भन्छन्, “अहिले पर्यटकहरू आफैं मेरो सेवा खोज्दै आउँछन्।”

    उनका दाजु दिनेश सुनारका अनुसार प्रकाशले दैनिक औसत ८० जनाको फोटो खिच्छन् र मासिक ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। कहिलेकाहीं ६०–७० हजारसम्म पुग्ने उनले बताए।

    प्रकाशको प्रेरणादायी यात्राले अन्य युवाहरूलाई पनि उर्जा दिएको छ। गुठिचौर गाउँपालिका–४ खल्लाबाडाका १९ वर्षीय अर्जुन नेपालीले पनि तीन महिनादेखि फोटोग्राफी सुरु गरेका छन्। उनी दिनमा दुई हजार रुपैयाँसम्म आम्दानी गर्छन् र त्यो आम्दानीले बहिनीहरूको पढाइ र पारिवारिक खर्च धानिरहेका छन्। अर्जुनले नेपालगञ्जको वाटर पार्कमा तीन महिने तालिम लिएका थिए।

    त्यस्तै, तिला गाउँपालिका–४ सापुल्लीका एकिन्द्र शाहीले दुई वर्षदेखि डुडुल चैत्यमा फोटो र भिडियो खिच्ने काम गर्दै आएका छन्। उनले प्रति फोटो २० र भिडियोको ५० रुपैयाँ लिन्छन्। “फोटोग्राफीले न केवल आम्दानी हुन्छ, यो ठाउँको प्रवर्द्धनमा पनि योगदान पुग्छ,” शाही बताउँछन्।

    रोल्पा गंगादेव गाउँपालिका–६ खानी गाउँका जीवन राना पनि हाल जुम्लामै फोटो खिच्ने व्यवसायमा सक्रिय छन्। उनी दैनिक एक–दुई हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।

    यी सबै युवाहरूले मुगाली बौद्ध मार्गी सेवा संघसँग एक वर्षे सम्झौतासहित प्रतिव्यक्ति ३ हजार रुपैयाँ राजस्व तिरेर काम गरिरहेका छन्। संघका चौकीदार गोर्ख बुढाका अनुसार डुडुल चैत्य क्षेत्रमा अहिले दैनिक ५ सयदेखि ७ सयभन्दा बढी पर्यटक आउँछन्। यहाँ प्रवेश गर्ने प्रत्येक पर्यटकले २० रुपैयाँ टिकट तिर्नुपर्ने व्यवस्था गरिएको छ।

    फोटोग्राफीलाई पेशा बनाएर आत्मनिर्भर बन्ने प्रकाश, अर्जुन, जीवन र एकिन्द्र जस्ता युवाहरूले आजको जमानामा सीप, सिर्जनशीलता र मेहनत भए रोजगारीको नयाँ ढोका आफैँ खोल्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूको कथा जुम्लाका अन्य युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

  • ६ श्रावण २०८२, सोमबार ०९:२४ प्रकाशित

  • Nabintech