तिला गाउँपालिकामा मृगको सफल उद्धार : सामूहिक प्रयासमा वन्यजन्तु सुरक्षित स्थानमा पुनःस्थापन

  • नमस्ते कर्णाली

  • १०, साउन २०८२
    जुम्ला।जुम्लाको तिला गाउँपालिका–३ कुडारीमा बगेर आएको वन्यजन्तु रतुवा (मृग) को सफलतापूर्वक उद्धार गरिएको छ। शुक्रबार बिहान ५:५० बजे तिला नदीमा बगिरहेको अवस्थामा मृगलाई स्थानीय मुनप्रसाद भट्टराईले देखेपछि उद्धार गरिएको हो।
    भट्टराईले तुरुन्तै प्रहरी चौकी कुडारीमा खबर गरेपछि प्रहरी सहायक निरीक्षक उत्तम कुमार बोहोराको नेतृत्वमा पुगेको टोलीले मृगलाई सुरक्षित रूपमा समातेर तातोपानी गाउँपालिका अन्तर्गतको सव डिभिजन वन कार्यालयमा बुझाएको थियो।

    सव डिभिजन वन कार्यालयका अधिकृत रवीन्द्र कुमार अधिकारीको समन्वयमा प्रहरी प्रतिनिधि, वडा सदस्य, पत्रकार तथा स्थानीयको रोहबरमा मृगलाई तिला गाउँपालिका–३ अन्तर्गत पर्ने खड्का पातल सामुदायिक वन क्षेत्रमा पुनःस्थापना गरिएको हो।
    उक्त वन क्षेत्र पूर्वमा सुन्दर सामुदायिक वन, पश्चिममा राष्ट्रिय वन, उत्तरमा राँका गाउँ र दक्षिणमा त्रिवेणी गाउँसँग जोडिएको छ।

    यस उद्धार अभियानमा वन अधिकृत रविन्द्र कुमार अधिकारी, सहायक तेस्रो चन्द्र बहादुर हमाल, प्रहरी प्रतिनिधि राजन कार्की, वडा सदस्य मैद्यनाथ योगी, समाजसेवी सरस्वती पाण्डे, महिला जागरण जुम्लाका संवाददाता तथा पत्रकार निराजन गौतमलगायतको सक्रिय भूमिका रहेको थियो।

    स्थानीयवासी तथा सरोकारवालाहरूले मृगको सकुशल उद्धार र सुरक्षित स्थानमा पुनःस्थापनामा खुसी व्यक्त गर्दै सामूहिक प्रयासको सराहना गरेका छन्।

  • ११ श्रावण २०८२, शनिबार १२:२२ प्रकाशित

  • Nabintech