राष्ट्र बैंक अर्थमन्त्रालयको शाखा जस्तो भयोः डा. महत

‘कमर्शीयल बैंकलाई नियमन गर्ने हो तर व्यवस्थापनमा हस्तक्षेप भने राष्ट्र बैंकले गर्नु हुदैन’


  • रासस

  • पूर्वअर्थमन्त्री डा. रामशरण महतले बैंकिङ क्षेत्रको नियामक निकायको रुपमा रहेको स्यायत्त संस्था नेपाल राष्ट्र बैंक अर्थमन्त्रालयको शाखा जस्तो भएको बताएका छन् । राष्ट्र बैंक स्वायत्त संस्था भएर पनि यसले आफै निर्णय गर्न नसकेको उनले बताए ।

    विकसित ठूला देशहरुमा पनि केन्द्रीय बैंक र सरकारबीच दूरी रहेको भन्दै उनले यहाँ भने कुनै ठाउँमा नियुक्ति गर्न पनि अर्थमन्त्रालयको स्वीकृति नलिई केन्द्रीय बैंकले गर्न नसक्ने उनले बताए ।

    ‘अमेरिकामा पनि रिजर्भ बैंक र सरकारबीच असहमति हुन्छन्, तर हाम्रो केन्द्रीय बैंक त अर्थमन्त्रालयको शाखा जस्तो भयो’ पूर्व अर्थमनत्री महतले भने, ‘कतिपय ठाउँमा नियक्तिका लागि पनि अर्थमन्त्रालयलाई सोध्नु पर्छ, स्वायत्तताको अर्थ रहेन ।’

    उनले कतिपय ठाउँमा केन्द्रीय बेंकले अनावश्यक नियम बनाएर वाणिज्य बैंकहरुको व्यवस्थापनमै हस्तक्षेप गर्ने गरेको भन्दै उनले त्यसो पनि गर्न नहुने बताए । अहिले संशोधनका लागि संसदमा पुगेको बैंक तथगा वित्तीय संस्था सम्बन्धी विधयेकको कतिपय व्यवस्थामा समेत उनले आपत्ति जनाए ।

    उनले बाफियामा सञ्चालकका लागि तोकिएको उमेर हद पनि गलत भएको बताए । ‘कमर्शीयल बैंकलाई नियमन गर्ने हो तर व्यवस्थापनमा हस्तक्षेप भने राष्ट्र बैंकले गर्नु हुदैन’ उनले भने, ‘ बाफियामा सीईओ नियुक्ति गर्दा पनि केन्द्रीय बैंकको स्वीकृति लिनु पर्ने, बोर्डमा जान पनि उमेर हद । यो ठिक भएन ।’

    बैंकको सञ्चालक समिति समेतको जिम्बेवारी पार्ट टाइममात्रै भएको उनले बताए । पूर्णकालिन जिम्बेवारी हुने प्रधानमन्त्री र मन्त्रीहरुको समेत उमेर नतोकिएको भन्दै उनले बैंक सञ्चालकको उमेर तोक्नु गलत हुने बताए ।

    ‘प्रधानमन्त्री र मन्त्री जति वर्षको भए पनि हुने अनि बोर्डमा बस्न चाहिँ किन उमेर हद ?’ उनले प्रश्न गरे । उनले एभरेष्ट बैंकको नाम नै लिएर त्यसका सञ्चालकलाई हटाउनका लागि ऐन बनाउन खोजिएको समेत बताए ।

    डा. महतले ९० वर्षका व्यत्तिःले एभरेष्ट बैंकको अध्यक्ष चलाए पनि त्यो बैंक धेरै राम्रो भएको भन्दै उमेर नभई क्षमता हेर्नु पर्ने उनले बताए ।

  • १ श्रावण २०७७, बिहीबार १०:०७ प्रकाशित

  • Nabintech