प्राधिकरणको निर्णयले कर्णालीमा जहाज नचल्दा बिरामी यात्रु मर्कामा

  • नमस्ते कर्णाली

  • मुगु जिल्ला लगायत कर्णालीका जिल्ला हरुमा १२ बजेपछि हवाई जहाज उडानमा रोक लगाएपछि यति बेला कर्णालीका नागरिकहरुले सास्ती खेपिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ साउनबाट दूर्गम स्थानका विमान स्थलहरुमा  दिउँसो १२ बजेदेखि मौसम खराब हुने अवस्थाले उडान गर्न रोक लगाउने निर्णय गरेपछि मुगु, हुम्ला , डोल्पा, जुम्लाका यात्रुहरुले सास्ती खेप्नु परेको हो ।  बर्षातका समयमा हवाइ दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले  १४ साउन दिउँसो १२ बजेबाट लागु हुने गरी तीन महिनासम्म उडानमा रोक लगाउने निर्णयले यहाँका बिरामी,नागरिक मर्कामा परेका हुन् ।  नेपालगञ्जबाट  दैनिक उडान भर्दै आएका मुगुको रारा विमानस्थल, लगायत डोल्पाको जुफाल, हुम्लाको सिमिकोट लगायतका जिल्लाका यात्रुहरु मर्कामा परेका छन् ।    रारा विमानस्थलमा हवाइ उडान नभएको एक हप्ता भयो । हवाइ यात्राबाट  नेपालगञ्ज पुग्ने यात्रुहरु रारा विमानस्थलमा जहाजको पर्खाइमा बस्ने गरेका छन् ।  बिहान मौसम नखुले पनि दिउँसो १२ बजेपििछ आकास खुल्ला  हुन्छ । तर, नागरिक उड्डयन प्राधिकरणको निर्णयले १२ बजेपछि उडान गर्न मिल्दैन । नेपालगञ्ज जाने यात्रुहरु हातमा टिकट लिएर विमान स्थलमा जहाजको पर्खाईमा बसेका छन् । प्रत्येक दिन १२ बजेपछि रारा विमानस्थलको मौसम सफा भए पनि तीन महिनासम्म १२ बजेपछि उडान भर्न रोक लगाएसँगै सबैभन्दा बढी बिरामीहरु मर्कामा परेको हेमन रारा टा«भल्सका  बजार ब्यवस्थापक  सोभबहादुर भामले बताए । दिउस १२ बजेभन्दा पछी उडान रोक गर्ने प्राधिकरणको निर्णय हुनुभन्दा पहिला रारा विमान स्थलमा नेपालगञ्जबाट सिता, समिट, तारा एयरलाइन्सले दैनिक एकदेखि दुई उडान भर्दै आएका थिए ।  नेपाल एयरलाइन्सले हप्तामा दुई दिन उडान गर्ने गरेको थियो ।  हप्ता दिनदेखि रारा विमानस्थलमा कुनै जहाजले उडान गर्न सकेका छैनन् ।   लामो समय जहाज उडान नहुँदा  सडक यातायातमार्फत् आफनो गन्तव्यमा पुग्ने भए पनि बर्षातको समय पहिरोले  ठाउँ ठाउँमा अवरुद्ध हुने भएका कारणले सबैजना जहाजको पर्खाइमा हुन्छन् ।  कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकप्टर वा जहाजबाट  सुबिधा सम्पन्न स्थान लैजानुपर्ने हुन्छ । तर, प्राधिकरणको निर्णयले सर्वसाधरण मर्कामा परेको छाँयानाथ रारा—५ का डिल्ली कामीले बताए । रारा विमानस्थलको मौसम १२ बजेपछि खुला हुने गर्छ ।  प्राधिकरणको निर्णयले १२ः ३० भित्र  जहाज उडिसक्नुपर्ने हुन्छ ।  रारा विमानस्थलको लागि यो निर्णय उपयुक्त नभएको  रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराईले बताए ।

  • २५ श्रावण २०८०, बिहीबार ०९:२९ प्रकाशित

  • Nabintech