कोहलपुरमा प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० सुरु (फोटोफिचर)

  • नमस्ते कर्णाली

  • कोहलपुर : बाँकेको कोहलपुरमा प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० सुरु भएको छ । प्याब्सन कोहलपुरको सञ्चालन तथा व्यबस्थापनमा प्रतियोगिता सुरु भएको हो । कोहलपुरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगिताको शुक्रबार एक औपचारिक समारोहका बीच कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरे ।

    उक्त अवसरमा बोल्दै नगरप्रमुख आचार्यले विद्यार्थीहरुलाई शिक्षा मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनुपर्ने बताए । उनका अनुसार विभिन्न समयमा यस्ता रचनात्मक क्रियाकलाप आवश्यक रहेको छ । उद्घाटन सत्रमा बोल्दै प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुवेदीले देशमै पहिलोपटक कोहलपुरमा प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० सुरु गरिएको बताए ।

    विद्यार्थीमा भएका अन्तरनिहित क्षमताहरुलाई उजागार गर्ने र कोहलपुरमा खेल संस्कृतिको विकास गर्ने प्रतियोगिताको उद्देश्य रहेको अध्यक्ष सुवेदीको भनाइ छ । प्रतियोगितालाई सभ्य,भव्य र मर्यादित रुपमा सम्पन्न गरिने पनि उनले बताए ।
    प्याब्सन बैजनाथको सहकार्य रहेको प्रतियोगितामा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालनमा रहेका २७ वटा संस्थागत विद्यालय सहभागी छन् ।

    ती मध्ये ४ वटा बैजनाथ गाउँपालिकामा रहेका विद्यालय र बाँकी सबै कोहलपुरमा सञ्चालित विद्यालय रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा ७ सय ६१ जना मावि तह र ३ सय २३ जना आधारभूत तहका विद्यार्थी गरी कूल एक हजार ८४ जना खेलाडी सहभागी छन् । प्रतियोगिता आगामी पुष ८ गतेसम्म सञ्चालन हुनेछ ।

     

  • ६ पुष २०८०, शुक्रबार १८:१० प्रकाशित

  • Nabintech