ताँजाकोटका गाउँगाउँमा ‘फोर जी’ सेवा

कुनाकन्दरामा सञ्चारको सहज पहुँच


  • अशाेक भण्डारी

  • हुम्लाको ताँजाकोट गाउँपालिकामा पहिलोपटक नेपाल टेलिकमको फोेर जी सेवा सञ्चालनमा आएको छ । गाउँपालिकाको वडा नम्बर १ को जिमानाको लेकमा टावर निर्माण गरेर फोर जी सेवा सञ्चालनमा आएको हो । फोर जी सेवाका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएसँगै औपचारिक रुपमा सेवा सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले लामो समयको प्रयासपछि गाउँपालिकामा फोर जी सेवा सञ्चालन गर्न सफल भएको बताए । नेपाल टेलिकमको माइक्रो वेभबाट फोर जी सेवा सुचारु भएसँगै ताँजाकोट गाउँपालिकामा इन्टरनेट सेवा सहज भएको छ ।

    ‘फोर जी सेवाका लागि हामी निर्वाचित भएदेखि नै प्रयास गरिरहेका थियौ । हाम्रो प्रयासले सार्थकता पाएको छ,’ उनले भने,‘पालिकावासी सञ्चारको पहुँचमा आएका छन् । यो हाम्रो लागि खुसीको कुरा हो ।’ दुई वर्षको अथक प्रयासपछि सुविधा सम्पन्न सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको अध्यक्ष जैसीको भनाइ छ । लामो प्रयासपछि नेपाल टेलिकमको फोर जी सेवा स्थापना गर्न सफल भएको बताउँदै ताँजाकोटवासी अब इन्टरनेट सेवामा जोडिएको अध्यक्ष जैसीको भनाइ छ । सञ्चार सेवाबाट बञ्चित रहेका दुर्गम क्षेत्रका स्थानियलाई सञ्चारको पहुँचमा ल्याउन टावर निमार्णमा सहयोग गर्ने सहयोगी निकायलाई धन्यवाद दिएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्मा, संघीय सांसद कार्चेन लामा, प्रदेश सांसद, जिल्ला समन्वय समिति,जनप्रतिनिधि तथा पूर्व जनप्रतिनिधि र नेपाल टेलिकम लगायतका निकायको सहयोग तथा समन्वयमा टावर निमार्ण भएको गाउँपालिकाले जनाएको छ ।
    ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले सञ्चार अहिलेको मुख्य आवश्यक रहेको बताए । त्यहीं आवश्यकतालाई मध्यनजर गरेर फोर जी सेवा सञ्चालन भएको उनको भनाइ छ । अब कुनैपनि नागरिकले इन्टरनेट सेवाबाट बञ्चित हुनुनपर्ने उपाध्यक्ष थापाले बताए । यसअघि गाउँपालिकाले केन्द्रमा रहेको कार्यालयमा वल्र्डलिंकको इन्टरनेट सेवाबाट महंगोमा शुल्क तिरेर काम गर्दै आएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याङ्कुले गाउँपालिकामा फोर जी सेवा सञ्चालन हुँदा कार्य सम्पादनमा सहज हुने बताए । उनका अनुसार यसअघि इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राहीहरुलाई सहज सेवा प्रदानमा समस्या भइरहेको थियो । यसबाट पालिकाको आर्थिक व्यायभारसमेत कम हुने विश्वास गरिएको छ ।
    ताँजाकोटवासीमा खुसीयाली
    गाउँपालिकाको नारा नै छ, ‘समृद्ध ताँजाकोट,सुखी ताँजाकोटवासी ।’ मानिसको आधारभूत आवश्यकता मध्ये सञ्चार सेवाको पहुँच विस्तार हुँदा गाउँपालिकावासी निकै खुसी भएका छन् । पहिलोपटक फोर जी सेवा विस्तार हुँदा स्थानीयवासीहरुमा खुसीयाली नै छाएको छ । सामाजिक सञ्जालमा जनप्रतिनिधिहरुलाई स्थानीय धन्यवाद व्यक्त गरिरहेका छन् । स्थानीय गोपाल बुढाले गाउँपालिकाका जनप्रतिनिधिहरुले नमुना कार्य गर्दै आएको बताए । उनका अनुसार जनताद्धारा निर्वाचित प्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गरिरहेका छन् ।
    गाउँपालिकाका केही नमुना कार्य
    स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले केही नमुनायोग्य काम गर्दै आएका छन् । त्यसको पछिल्लो उदाहरणका रुपमा फोर जी सेवा विस्तारलाई लिन सकिन्छ । त्यतिमात्रै होइन वर्तमान प्रतिनिधिहरुको पहलमा अन्य थुपै्र काम भएका छन् । अहिलेसम्म ३६७ नागरिकका आवासहरु निर्माण र गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको जनाइएको छ । १० शथ्याको अस्पताल निर्माण भएको छ । ६ वटा विद्यालयका लागि पक्की भौतिक संरचना निर्माण भइरहेको छ । २० ओे हेक्टर जमिनमा फलफूल खेती भइरहेको पनि जनाइएको छ । सम्पूर्ण वडामा बिजुली सेवाको विस्तार गरिएको गाउँपालिकाले जनाएको छ । कामदारको खातामा ज्यालादेखि स्कुलमा विषयगत शिक्षकदेखि वडाहरुमा मोटरबाटो बनाउनेसम्म काम भएको भन्दै स्थानीयहरुले खुसीयाली मनाएका छन् ।

    ‘हाम्रो प्रयासले सार्थकता पाएको छ’


    लालकेश जैसी
    अध्यक्ष
    ताँजाकोट गाउँपालिका, हुम्ला
    ताँजाकोट गाउँपालिकामा फोर जी सेवा सञ्चालनमा आएको छ । लामो समयको प्रयासपछि सेवा सञ्चालन हुँदा हामी निकै खुसी छौं । यसमा गाउँपालिकाले टावर स्थलमा आवास निर्माणमा सहयोग गरेको छ । बाँकी सम्पूर्ण सहयोग संघीय सरकारको हो । नेपाल टेलिकमले सम्पूर्ण लगानी गरेको छ । टावर निर्माण कार्य हामी निर्वाचित हुनु पूर्व नै भएको थियो । ठेक्कामार्फत भारतीय कम्पनीले पाएको रहेछ । काम समयमै हुन सकेन । हामीले सञ्चार मन्त्रालयदेखि टेलिकम कैयौपटक धायौ । ठेक्का तोडेर नयाँ शिराबाट काम सुरु भयो । हामीले धेरै दौडधुप ग¥यौ । अहिले सेवा सुरु भएको छ । अब हामी दीगो बनाउन अघि बढ्छौ ।

    ‘फोर जी सेवा ठूलो सफलता हो’

    सुरेन्द्र थापा
    उपाध्यक्ष
    ताँजाकोट गाउँपालिका, हुम्ला
    अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता भनेको सञ्चारको पहुँच विस्तार हो । सञ्चारविना मानिसहरु सूचनाको हकबाट बञ्चित भइरहेको अवस्था थियो । अब त्यस्तो अवस्था रहेछ । हाम्रो पालिकामा सुविधासम्पन्न फोर जी सेवा सञ्चालनमा आएको छ । यो निकै ठूलो उपलब्धि हो । हामीले चुनावमा गरेका प्रतिबद्धता मध्येको एउटा योजना हो । यसले सार्थकता पाएको छ । सञ्चारको उचित पहुँच नहुँदा गाउँपालिकाको सेवा प्रवाहमा समेत समस्या भएको थियो । अब भने नागरिकले सहज सेवा पाउने भएका छन् । टावर निर्माणमा सहयोग गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ ।

    ‘प्रभावकारी सेवामा सहयोग पुग्ने अपेक्षा छ’

    राजेन्द्र स्याङ्कु
    नि. प्रमुख प्रशासकीय अधिकृत
    ताँजाकोट गाउँपालिका, हुम्ला
    ताँजाकोट गाउँपालिकामा फोर जी सेवा सञ्चालनमा आएको छ । लामो समयको प्रयासपछि यो सेवा सञ्चालनमा आएको हो । यसले हामीलाई कार्यलय प्रयोजनका काममा निकै सहज हुने अपेक्षा गरेका छौं । अहिलेसम्म गाउँपालिकाबाट वल्र्डलिंकको सेवा सञ्चालन भइरहेको थियो । नेट सोलो हुँदा हाम्रा नियमित कामसमेत प्रभावित हुने गरेका थिए । फोर जीले गर्दा खेरी राम्रो सुविधा हुने हाम्रो विश्वास रहेको छ । हाम्रो पालिकामा ८ वटा शाखा रहेका छन् । एकमुष्ट नेट आवश्यक परेको बेला सदरमुकाम धाउनुपर्ने अवस्था थियो । अब स्थानीयलाई समेत सेवा दिन सहज हुने भएको छ । सेवालाई प्रभावकारी बनाउने हाम्रो अभियान सफल हुनेछ ।

  • १९ पुष २०८०, बिहीबार ०८:०८ प्रकाशित

  • Nabintech