कोहलपुरमा करोडौका आयोजना प्रयोगविहीन : टर्मिनल भवन र भ्यु टावर सञ्चालनमा अन्यौल

  • नमस्ते कर्णाली

  • कोहलपुर : कोहलपुर नगरपालिकाकामा रहेका गौरवका आयोजनामा सञ्चालनमा चुनौती देखिएको छ । करोडौ लगानी गरेर निर्माण गरिएका गौरवका आयोजनाहरु सञ्चालनमा चुनौती देखिएको हो । कोहलपुरमा रहेका मुख्य दुई गौरवका आयोजना निर्माण सम्पन्न भएरपनि अझै सञ्चालनमा आउन सकेका छैनन् । लामो दुरीको बसपार्क आंशिक रुपमा मात्रै सञ्चालनमा आएको छ । उक्त बसपार्क कुल २९ करोड ५३ लाख ८ सय ९२ रुपैयाँ लागतमा निर्माण गरिएको हो । यस्तै ५ करोड ६३ लाखमा निर्माण गरिएको कोहलपुर भ्यु टावर अझै सञ्चालनमा आउन सकेको छैन । आन्तरिक आयका वृद्धि गर्ने उद्देश्यसहित करोडौ लगानीमा निर्माण गरिएका आयोजना सञ्चालनमा आउन नसक्दा नगरपालिकाको लगानी खेर जाने चिन्ता बढेको छ । आयोजना सञ्चालनका लागि पटकपटक बोलपत्र आह्वान गर्दापनि आवेदन नै नपरेपछि बसापार्कस्थित टर्मिनल भवन र कोहलपुर भ्यु टावर सञ्चालनमा अझै अन्यौल थपिएको हो ।


    पश्चिम क्षेत्रको अत्याधुनिक सेवासुविधासहित निर्माण गरिएको बसपार्कको मुख्य टर्मिनल भवन अझै सञ्चालनमा आउन सकेको छैन । टर्मिनल भवन बहालमा दिन गरिएका पटकपटक गरिएका प्रयासहरु असफल हुँदा नगरपालिका सहयोगी हातको खोजीमा छ । ६ पटकसम्म टेण्डर आह्वान गर्दासमेत एउटापनि आवेदन नपर्दा टर्मिनल भवन कहिलेबाट सञ्चालन हुने भन्ने टुंगो लाग्न सकेको छैन ।
    नगरपालिकाले उक्त भवन वार्षिक न्युनतम् १ करोड ७४ लाख ६५ हजार ४० रुपैयाँ निर्धारण गरेर पहिलोपटक २०७९ चैत १६ गते पहिलोपटक टेण्डर आह्वान गरेको थियो । नगरपालिकाले दोस्रोपटक २०८० बैशाख २० र तेस्रोपटक जेठ ११ गते टेण्डर आह्वान गरेको थियो । यस्तै चौथोपटक न्युनतम् मूल्य ८७ लाख ३३ हजार कायम गरी जेठ २९ गते सूचना प्रकाशन गर्दासमेत कुनैपनि आवेदन परेन । यस्तै पाँचोपटक असार २९ गते र छैठोपटक साउन २६ गते नगरपालिकाले सूचना प्रकाशन गरेको थियो ।

    ६पदकसम्म सूचना प्रकाशित गर्दा कुनैपनि आवेदन नपरेका कारण कोहलपुरको नयाँ बसपार्क व्यवस्थापन, टर्मिनल भवन भाडामा लगाउने विषयमा सरोकारवालाहरुको सुझाव माग गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ढोलकराज ढकालले बताएका छन् । शुक्रबार नगरपालिकाद्धारा आयोजित सरोकारवालाहरूसँग बृहत् अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकालले आयोजना सञ्चालनका लागि स्थानीय सरकार र निजी क्षेत्रको साझेदारीमा गर्न सकिने नयाँ क्षेत्रहरु पहिचान सार्वजनिक निजी सामmेदारी एंव समन्वयलाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाहरुको रचनात्मक सुझाव माग गरिएको बताए । उनका अनुसार अहिले सञ्चालनमा रहेका सटरसमेत खाली हुने अवस्थामा पुगेका छन् । नगरपालिकाले ५९ वटा सटर भाडामा दिएको थियो ।अहिले ५६ वटा मात्रै सटर सञ्चालनमा छन् । तर, ती सटरमा व्यवसाय गरिरहेका व्यवसायीहरु सम्झौता रद्द गर्नको लागि दैनिक निवेदन दिएर नगरपालिकामा आउने गरेको उनको भनाइ छ ।

    बसपार्क मात्रै होइन कोहलपुरको पर्यटन प्रवद्र्धनका लागि भनेर निर्माण गरिएको कोहलपुर भ्यु टावरको अवस्थापनि उस्तै छ । विभिन्न समयगरी तीन पटक सूचना प्रकाशित गर्दासमेत कुनैपनि व्यवसायीले सञ्चालनका लागि आवेदन दिएनन् । उक्त टावर सञ्चालनका लागि नगरपालिकाले वार्षिक न्युनतम् मूल्य २४ लाख कायम गरेको छ । भ्यु टावर लिफ्टसहितको छ । प्रमुख प्रकाशकीय अधिकृत भ्यु टावर सञ्चालनका लागि बहालमा लगाउन आवश्यक साझेदार संस्थाको खोजी, बहालमा लगाउने उपयुक्त विधि, नगरपालिकाको आन्तरिक आय प्राप्तिमा सहजीकरण तथा निजी क्षेत्रको प्रोत्साहन गरी साझेदारीको लागि समन्वयको अपेक्षा गरिएको बताए ।
    सरोकारवालासँग समन्वय र पूर्वाधार आवश्यक
    लामोदुरीको बसपार्कस्थित टर्मिनल भवन र कोहलपुर भ्यु टावर सञ्चालनका लागि सरोकारवालासँग समन्वय र पूर्वाधार आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । कोहलपुर नगरपालिकाबाट निर्मित नयाँ बसपार्क तथा कोहलपुर भ्यु टावरको व्यवस्थापन गर्ने सम्बन्धमा सरोकारवालाहरूसँग बृहत् अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले निर्माण भइसकेको संरचनाको संरक्षण आवश्यक रहेकोमा जोड दिएका छन् । उक्त अवसरमा बोल्दै व्यवसायी देवानन्द अर्यालले कोहलपुर भ्यु टावर सञ्चालनका लागि व्यवसाय एकरुपकताको बजार र सडक विस्तार गर्न आवश्यक रहेको बताए ।

    बाटो फराकिलो बनाउनुका साथै चिल्डे«न पार्क निर्माण गर्नुपर्ने उनको भनाइ छ । उनले बसपार्क सञ्चालनका लागि निजी क्षेत्रसँग साझेदारी गर्न सुझाव दिएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले आयोजना सञ्चालनमा महासंघको लागि सहजीकरण गरिने बताएका थिए । कोहलपुरका व्यवसायी राजेन्द्र श्रेष्ठले आयोजना सञ्चालनको लागि राजनीतिकरण गर्न नहुनेमा जोड दिएका थिए । कोहलपुर नगरपालिका वडा नम्बर ११ का पूर्वअध्यक्ष कर्णबहादुर थापाले रचनात्मक सुझावसहित सबैपक्षलाई समेटेर लैजान नगरपालिकालाई सुझाव दिए । उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश सरकारकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले दुवै आयोजना कोहलपुरको समृद्धि र पर्यटन प्रवद्र्धनसँग जोडिएकोले सञ्चालनमा विलम्भ गर्न नहुनेमा जोड दिइन् ।
    ‘हामी गम्भीर र चिन्तित छौ’

    पूर्णप्रसाद आचार्य
    नगर प्रमुख
    कोहलपुर नगरपालिका
    कोहलपुर नगरपालिकामा रहेका गौरवका आयोजना हाम्रा सम्पति हुन् । यिनको संरक्षण हाम्रो दायित्व हो । हामी आउँदा दुवै आयोजना निर्माणाधिन अवस्थामा थिए । हामीले दायित्व वहन गरेर निर्माण सम्पन्न ग¥र्यौ । अहिले बारम्बार सञ्चालनको लागि सूचना जारी गर्दासमेत कोहीपनि आएका छैनन् । बसपार्क सञ्चालन भइसकेको छ ।

    त्यो पनि पूर्ण रुपमा हुन सकेको छैन । टर्मिनल भवन भाडामा छैन । बसपार्क बनाउन ऋण लिइएको छ । वार्षिक २ करोड जति तिर्नुपर्छ । अर्कातिर भ्यु टावर सञ्चालनका लागि अध्ययन समिति बनायौं । प्रतिवेदन आयो । सोही अनुसार सूचना गरियो । तरपनि सञ्चालन हुन सकेको छैन । हामी चिन्तित छौं । गम्भीर छौ ।

  • २१ पुष २०८०, शनिबार १५:०१ प्रकाशित

  • Nabintech