आज ३३औंँ प्याब्सन स्थापना दिवस : ३३ वर्ष, १३ नेतृत्व

  • शुभाकर विश्वकर्मा

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले आज गौरवमय ३३ वर्ष पुरा गरेको छ । प्याब्सन २०४७ सालमा स्थापना भएको हो । प्याब्सनको शाखासमेत बाँके जिल्लामा समेत सोही साल स्थापना भएको हो । प्याब्सन बाँकेको संस्थापक अध्यक्ष विद्यामान राज भण्डारी हुन् । उनी जय बागेश्वरी बोडिङ्ग स्कूलका संस्थापक थिए । बाँकेमा अहिलेसम्म १३ जनाले प्याब्सन बाँकेको नेतृत्व गरेका छन् । ती मध्ये दुई जना महिलाले समेत यस संगठनको नेतृत्व गरे । हाल प्रतिनिधि सभा सदस्यसमेत रहेका नेपालगन्जका पूर्व नगरप्रमुख डाक्टर धवल शम्शेर राणाले समेत प्याब्सन बाँकेको नेतृत्व गरेका थिए । अन्य अध्यक्षहरुमा विजय लामा, विकास बहादुर सिंह, खड्क बहादुर बोहोरा, जगत तिमिल्सिना, ऋषिकेश जिसी, डाक्टर राजेश केशर खनाल, राजेन्द्र आचार्य, अर्जुनलाल नेवार रहेका छन् । कमला जिसी प्याब्सन बाँकेको नेतृत्व गर्ने गर्ने पहिलो महिला हुन् । यस्तै नेपालगन्जकी लता शर्माले समेत प्याब्सन बाँकेको कार्यबाहक अध्यक्षको जिम्मेवारी निभाएकी थिइन् । हाल यम रावत यसको अध्यक्ष छन् । अहिलेसम्म प्याब्सन बाँकेको नेतृत्व गरेका १३ जना मध्ये कोहलपुर क्षेत्रबाट भने दुई जनाले मात्रै नेतृत्व गरेका छन् । हाल अध्यक्ष रहेको रावत र पहिलो महिला अध्यक्ष कमला जिसी कोहलपुर क्षेत्रका हुन् । अन्य नेपालगन्ज क्षेत्रका रहेका छन् ।
    अन्य ६ वटा पालिकामा प्याब्सनका पालिका र नगर कमिटी रहेको अध्यक्ष रावतले बताए ।‘संघीयतापछि प्याब्सनले पालिकास्तरमा समेत आफ्नो संगठन विस्तार गरेको छ । बाँकेका आठ मध्ये ६ वटा पालिकामा हामी फैलिएका छौं । दुई वटा पालिकामा हामी विस्तार गर्दै छौ,’ अध्यक्ष रावतले भने । हाल बाँकेका आठ स्थानीय तहमध्ये राप्ती सोनारी र नरैनापुरमा यसका शाखा छैनन् । बाँके प्याब्सनमा १२४ विद्यालय आवद्ध रहेका छन् । ती मध्ये हाल ११४ विद्यालय सञ्चालनमा रहेको प्याब्सन बाँकेले जनाएको छ । बाँकी १० विद्यालय कोभिड पछि बन्द भए । प्याब्सन बाँकेमा आवद्ध विद्यालयहरुमा अनुमानित करिब ५० हजार विद्यार्थीहरु अध्ययन गर्छन् । दुई हजार बढी शिक्षक छन् भने ३ हजारको हाराहारीमा रोजगारी सिर्जना गरेको छ ।

    प्याब्सन स्थापनाको गौरवमय ३३ वर्षे यात्रा
    पुस २४ अर्थात आजकै दिन । वि.सं.२०४७ सालमा स्थापना भएको थियो, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल । प्याब्सन स्थापनाको मुख्य उद्देश्य निजी स्रोत रव्यवस्थापनबाट सञ्चालित निजी विद्यालयहरुको संरक्षकका रुपमा देशभरका विद्यालयलाई एउटै छातामुनी ल्याउने रहेको थियो । नेपालमा निजी शिक्षालयहरुको स्थापना भएको पनि भण्डै तीन दशक पुरा भएको छ । स्थापना कालदेखि नै प्याब्सनले देशभरि शैक्षिक कार्यक्रममा एकरुपता ल्याउने,संस्थागत हकहितका लागि काम गर्दे आएको छ । प्याब्सनले आर्थिक सामाजिक दायित्व अन्र्तगत राहत वितरणदेखि आर्थिक सहयोगसमेत गर्दै आएको छ । एक तथ्यांकअनुसार देशभर गुठी,कम्पनी र सहकारी निजी लगानीका करिब एघार हजार शिक्षण संस्थाहरु छन् । ती मध्ये प्याब्सनमा मात्रै आठ हहजार विद्यालय आवद्ध छन् । देशको झण्डै ३१ प्रतिशत शिक्षामा राज्यलाई निजी विद्यालयहरु लगानी गर्दै आएका छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा शैक्षिक क्षेत्रको योगदान ७ दशमलव २३ प्रतिशत छ । जिडिपीमा शिक्षाको योगदान बढ्दो क्रममा छ । यो आधारमा पनि निजी शैक्षिक क्षेत्रमा आर्थिक गतिविधि बढ्दो छ । यस्तै देशभरका अनुमानित ३ लाख भन्दा बढी शैक्षिक रोजगारी प्रदान गरेको छ । उनीहरुले विद्यालयको भौतिक संरचना, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन लगायतमा ७ खर्ब भन्दा बढी रुपैयाँ लगानी गरेका हुन् । एसइई परीक्षाको नतिजाको उत्तीर्ण प्रतिशत हेर्ने हो भने निजी विद्यालयको उत्तिर्ण प्रतिशत लगभग ९० प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । जबकी सामुदायिक विद्यालयको उत्तिर्ण प्रतिशत मात्र ३० प्रतिशतको हाराहारीमा रहेको छ । अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । यतिमात्रै होइन देशभर १० प्रतिशत भन्दा बढी विभिन्न वर्गका विद्यार्थीहरुलाई निःशुल्क अध्यापन र छात्रवृत्ति प्रदान गर्दै आएको छ । माध्यमिक तहसम्मको शिक्षामा देशलाई आत्मनिर्भर गराउनुका साथै विदेशिने ठूलो पैसा रोकेको छ

    कोहलपुरमा ३५ जना विद्यार्थीलाई छात्रवृत्ति
    कोहलपुर नगरपालिका क्षेत्रमा सञ्चालित निजी विद्यालयहरुले विद्यार्थीहरुलाई विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् । विभिन्न आठ शीर्षकमा विद्यालयहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेका हुन् । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका अनुसार ती विद्यालयहरुलाई कुल ३ हजार ५ सय ५६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । उनी विद्यालयहरुले पिछडिएको क्षेत्र,जेहेन्दार, द्धन्द्धपीडित, विपन्न असहाय,महिला, आदीबासी,जनजाति,मधेशी, दलित र अपांग शीर्षकमा पूर्ण तथा आंंशिक र निश्चित प्रतिशतमा छात्रवृत्ति प्रदान गर्छन् । त्यसमा पनि पूर्ण छात्रवृत्ति तथा ५०,६०,७०,८० प्रतिशतसम्म रहेको छ । शाखाका प्राविधिक सहायक बलबहादुर नेपालीले जेहेन्दार शीर्षकमा सबैभन्दा धेरै १ हजार १ सय ९७ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । उनले ६६ जना द्धन्द्धपीडित,७ सय १२ जना विपन्न असहाय,महिला ३ सय ९३ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । यस्तै ६ सय २३ जना आदीवासी जनजाति, ९७ जना मधेशी,२८१ जना दलित,४६ जना अपांगता भएका विद्यार्थी र १ सय ८१ ज्नाले पिछडिएको क्षेत्र शीर्षकमा छात्रवृत्ति प्राप्त गरेका छन् । प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुवेदीले विद्यालयहरुले आवश्यकतामा आधारित भएर छात्रवृत्ति प्रदान गर्दे आएका बताएका छन् । कोहलपुर नगरपालिकामा कूल ५७ वटा निजी विद्यालय सञ्चालनमा रहेका छन् । ती मध्ये कुल २२ वटा विद्यालय प्याब्सनमा आवद्ध छन् ।

     

  • २४ पुष २०८०, मंगलवार ०७:३१ प्रकाशित

  • Nabintech