मुगुका युवक काठमाडौंबाट ‘हत्कडी लाउन’ कोहलपुर पुगेपछि…

  • शुभाकर विश्वकर्मा

  • कोहलपुर ,प्रिय पाठक ! समाचारको शीर्षक सुन्दै जिल्ल पर्नुभयो होला । सोच्नु भयो होला कस्तो अचम्म ? होइन यो त सत्य हो । त्योपनि बाँकेको कोहलपुरमा घटेको घटना हो । घटना चाहीँ पुस मसान्ततिरको ।

    एकदिनको कुरा हो,पदमबहादुर शाही ‐नाम परिवर्तित) इलाका प्रहरी कार्यालय कोहलपुरको गेटमा पुगे । मुख्य गेटमा बसेका प्रहरीसँग नाम टिपाए । कार्यालय प्रमुखलाई भेट्ने कुरा बताए । उनीहरु तीन जना थिए । तीनैजना भित्र छिरे । सिधै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीको कार्यकक्षमा पुगे,उनीहरु । तिवारीलाई नमस्कारको अभिवादन गरे । तिवारीले पनि अभिवादन स्वीकार गर्दै अगाडीको सोफामा बस्ने इसारा गरे । केहीबेर सामान्य गफगाफ भयो ।

    कुराकानी चल्दै जाँदा तिवारीले उनीहरु आउनुको कारण सोधे ? तिवारीको जिज्ञासा नसकिन नपाउँदै ती १७ वर्षीय युवकले भने,‘हत्कडी लगाइ माग्न आएको सर ?’ तिवारी सुनाउँछन्,‘ती युवकले त्यस्तो कुरा सुनाउँदा म त जिल्ल परे ।’ न कार्यालयमा कुनै मुद्धा परेको छ । न त कुनै कसुर गरेको निवेदन नै परेको छ । एक निर्दोष मान्छेलाई कसरी हत्कडी लगाइदिने आफू नाजवाफ भएको तिवारीले सुनाए ।

    उनी भन्छन्,‘विस्तारै उनीहरुको नालीबेली खोतल्ने प्रयास गरे । बुझ्दै जाँदा त कुरा अर्कै रहेछ ।’ भएको के रहेछ भने, १७ वर्षीय शाही मुगुका रहेछन् । उनी काठमाडौं बस्दा रहेछन् । विज्ञान विषय लिएर प्लस टुमा अध्ययन गर्दा रहेछन् । ती युवकका आमा बुबा भने मुगुमै बस्छन् । उनीहरु प्रेसरमा कोहलपुर आएका रहेछन् गाडी चढेर । युवकले आफूलाई बताएको कुरा सुनाउँदै तिवारी भन्छन्,‘खासमा कुरा धार्मिक अन्धविश्वाससँग जोडिएको रहेछ । मुगुमा रहेका आमाबुबाले छोराको भविश्यका विषयमा गाउँकै धामी कहाँ हेराएका रहेछन् ।’ धामीले भनेका रहेछन्,तिम्रो छोरालाई त हत्कडी लाग्ने योग छ ।

    यदि एकपटक हत्कडी लगायो भने त्यो दोष कट्टा हुन्छ । धामीले भनेको कुरालाई विश्वास गरेर शाहीका आमाबुबाले कोहलपुरमा बसोबास गर्दै आएका अंकल अन्टीलाई भनेछन् । कोहलपुरमा रहेका अंकल अन्टीले पनि कोहलपुरमा बोलाउन सुझाव दिएछन् । ती युवकले भने,‘ म आउन मानिरहेको थिइन । आमाबुवाले प्रेसर गर्नुभयो । अंकल अन्टीले पनि आउन भनेपछि यहाँ आएको हुँ ।’ उनीसँग आएका आफन्त पनि अशिक्षित भने थिएनन् ।

    दुवै जना पढेलेखेका समाजका गन्यमान्ने नै थिए । अझ भनौ, हाम्रो समाजले मान्ने गरेको बौद्धिक वर्गभित्रै पर्ने रहेछन् । ४२ वर्षसम्म शिक्षण गरेका । केही वर्ष मात्रै अवकास पाएका रहेछन् । तिवारीका अनुसार प्रहरी कार्यालयमा पनि युवकलाई दोष कट्टा गर्नको लागि जोडबल गरिरहेका थिए । ‘उहाँहरु अहिलेपनि कत्रो ठूलो भ्रम बोकेर बसिरहनु भएको रहेछ । मैले निकैबेर सम्झाए,’ उनले भने,‘बल्ल बल्ल मान्नुभयो । हेर्नुहोस् त हाम्रो समाज अहिलेपनि कहाँ छ ।कस्तो अन्धविश्वास बोकेर बसिरहेको छ ।

    ती युवकलाई अब गाउँमा हत्कडी लगाएर होइन गाउँपालिकामा शिक्षाको उज्यालो छर्न सुझाव दिएको बताए । पछि उनीहरु कन्भिस भएर त्यहाँबाट फर्किए । हत्कडी लगाए दोष कट्टा हुने अन्धविश्वास मात्रै हो । तिवारी सुनाउँछन्, ‘हाम्रो समाजमा रहेको अन्धविश्वास हटाउनुपर्छ । हत्कडी लगाएर दोष कट्टा हुने भए, बजारमा भाडाका हत्कडी पाइन्थे नी ।’

    उनले आफूले अहिलेसम्मको प्रहरी करिअरमा अनौठो घटना घटेको बताए । समाजमा अहिलेपनि यस्तै थुप्रै अन्धविश्वास कायम रहेको भन्दै सबै मिलेर यस्ता भ्रम चिर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

     

  • १४ माघ २०८०, आईतवार १२:०६ प्रकाशित

  • Nabintech