कोहलपुर चिनाउन कोशेढुंगा सावित हुनेछ महोत्सव

  • शुभाकर विश्वकर्मा

  • बाँकेको कोहलपुर–११ स्थित खुल्ला मैदानमा पाँचौ कोहलपुर महोत्सव सुरु हुँदैछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिको कोहलपुरको आयोजनामा ‘पाँचौ प्रादेशिक औद्योगिक, लघु,घरेलु तथा कृषि, प्रविधि,व्यापार एंव पर्यटन महोत्सव–२०८०’ सुरु हुँदैछ । महोत्सवको नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले एक भव्य समारोहका बीच उद्घाटन गर्दैछन् । ‘मेहनत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको’ महोत्सवको मूल नारा रहेको छ ।
    घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेमविक्रम जिसीले महोत्सवमा स—साना उद्योगहरूबाट निर्मित सामग्रीहरू, कृषिका विविध विद्यासँगै घरेलु हस्तकला, काष्ठकला एवम् नेपाली कपडाका स्टलहरूसँगै अन्य विविध गतिविधिमार्फत महोत्सवलाई आकर्षित बनाइने योजना रहेको बताए । उनका अनुसार स्थानीय स्रोत साधनको सदुपयोग गरी उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगहरुको उत्पादित वस्तुहरुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्वसको उद्देश्य रहेको बताए । कोहलपुर क्षेत्रमा सुविधा सम्पन्न घरेलु तथा औद्योगिक संग्राहलय र अनुसन्धान केन्द्र स्थापना गर्ने महोत्सवको लक्ष्य रहेको पनि बताए ।
    महोत्सवलाई बहुआयामिक र पृथक बनाउने योजना रहेको सुनाउँदै उनले पहिलोपटक विचार,गन्थन र मन्थनसहितको टक शो कार्यक्रम सञ्चालन हुनेपनि बताए । यस्तै देशभित्रका सबै प्रकारका उत्पादन मुलक उद्योगका अलवा कृषि,वनपैदावार, हस्तकला,उर्जा बायोग्यास लगायत पर्यटन,औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरु रहने उनले बताए । उनका अनुसार महोत्सवमा ३ सयदेखि ३५० सम्म स्टल रहनेछन् । महोत्सव प्रादेशिक स्तरीय हुने भएकोले मौलिक कला परम्परा, रितिरिवाज र सांस्कृतिक एंव प्राकृतिक सम्पदाहरुको पहिचान हुनेगरी प्रचार प्रसारलाई मुख्य प्राथमिकता दिइएको छ । महोत्सवको मुख्य प्रायोजक डल्फिन ग्रुप कोहलपुर,७ बाँके रहेको छ । यस्तै संरक्षकका रुपमा कोहलपुर नगरपालिका नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र जिल्ला शाखा बाँके रहेका छन् ।

    विचार मन्थनको थलो हुनेछ ‘टक शो’
    महोत्सवको पृथक कार्यक्रमको रुपमा ‘टक शो’ कार्यक्रम रहेको छ । ‘टक शो’ विचार मन्थनको थलो हुनेछ । यसमा विभिन्न सरोकारवालाबीच विमर्श हुनेछ । यसलाई उद्यमशीलतासँग पनि जोड्ने लक्ष्य छ ।
    ‘टक शो’ मा पर्यटन,कृषि,युवा,स्वरोजगार,भौतिक पूर्वाधार,आर्थिक समृद्धि, रोजगारी सिर्जना, स्थानीय उत्पादन बजारीकरण, सहकारीको उत्थान लगायतका विषयमा बहस र सवाल–जवाफ गरिनेछ । यसमा किसान,उद्यमी, जनप्रनिधिदेखि सांसदसमेत सहभागी हुनेछन् । महोत्सव प्रचार प्रसार समितिका संयोजक इश्वर शर्माले ‘टक शो’ हरेक दिन एक घण्टा सञ्चालन हुनेछ । १० दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन र समापनका दिनबाहेक दैनिक कुनै एक विषयमा ‘टक शो’ सञ्चालन गरिनेछ । समग्रमा कोहलपुरको विकासका लागि नीतिगत तहमै व्यवस्था गर्न सहज हुने तरिकाले कार्यक्रम गरिने उनले बताएका छन् । स्थानीय उत्पादन बजारीकरण, रोजगारी सिर्जना र स्थानीय सरकारसँगको साझेदारी विकास हुने अपेक्षा गरिएको छ ।
    महोत्सव हेर्न आउनेलाई सुविधै सुविधा
    अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेश दिइनेछ । उनीहरुलाई मञ्चको अगाडी विशेष स्थान छुटाइएको छ । ग्रामीण स्तरका किसानहरूले महोत्सवमा स्टल रहनेछन् । सुरक्षाका दृष्टिले सिसिटिभी सहित ३ वटा आपत्कालीन गेट रहेका छ । सुरक्षा बन्दोबस्त रहेको छ । सुरक्षा र स्वास्थ्य हेल्थ डेस्कको समेत व्यवस्था रहेको छ । यस्तै दमकल र एम्बुलेन्ससमेत उपलब्ध हुनेछ ।
    महोत्सवका प्रमुख आकर्षण
    राष्ट्रिय तथा लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु र लुम्बिनी प्रदेशका मौलिक कलाको प्रदर्शनी गरिनेछ । कृषि उत्पादन एंव प्रविधिको प्रदर्शनी,पर्यटकीय स्थलहरुको जानकारीमूलक प्रदर्शनी, महिला उद्यमीद्धारा उत्पादित हस्तकलाको प्रदर्शनी गरिने भएको छ । यसैगरी,बैकल्पिक उर्जा, बैंक तथा वित्तीय संस्थाहरुको स्किम प्रदर्शनी, औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानबाछ उत्पादित वस्तुको प्रदर्शनी,बाल उद्यान, सांस्कृतिक क्रियाकलाप, थारु परिकार,सांस्कृतिक झाँकीहरु,स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति,टक शो, जिवन्त उद्योग संग्राहलय र जगंल सफारी रहेका छन् ।

    महोत्सवमा औद्योगिक स्टललाई प्राथमिकता दिइनेछ । विभिन्न संग्रहालय पनि आकर्षणका रुपमा रहेका छन् । स्थानीय उद्योगी व्यवसायीलाई विशेष छुटको व्यवस्था रहेको छ । यसैगरी स्थानीय रैथाने कृषि, अर्गानिक उत्पादन, स्थानीय सीपबाट उत्पादित वस्तु, स्वदेशी उद्योगबाट उत्पादित वस्तुको संरक्षण,प्रवद्र्धन र बजारीकरण गर्ने रहेको छ । स्थानीय उत्पादन बजारीकरणका लागि उद्योगी र व्यवसायीहरुलाई सहयोग गर्ने रहेको छ । यसैगरी औद्योगिक,लघु, घरेलु,कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एंव पर्यटन महोत्सवमार्फत स्थानीय उत्पादनको पर्वद्धन र बजारीकरण गरिनेछ । थारु संग्राहलय, मगर संग्राहलय लगायत स्थानीय लोपोन्मुख खाद्य वस्तुका स्टल, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रम हुनेछ । स्थानीय उत्पादनलाई विशेष प्रोत्साहन गरिनेछ ।

  • २५ माघ २०८०, बिहीबार १२:३७ प्रकाशित

  • Nabintech