कोहलपुर भ्यु टावर सर्वसाधारणका लागि खुल्ला, टिकट ७५ रुपैयाँ लाग्ने

  • नमस्ते कर्णाली

  • कोहलपुर : लामो समयको प्रयासपछि कोहलपुर ११ स्थित कोहलपुर भ्यु टावर सञ्चालनमा आएको छ ।  करोडौ लागतमा निर्माण गरिएको टावर सञ्चालनको लागि दाता नभएपछि कोहलपुर नगरपालिकाले आफै सञ्चालनमा ल्याएको हो ।  नगरपालिकाले यस अघि भ्यु टावर सञ्चालन र व्यवस्थापनका लागि तीनपटक टेण्डर आह्वान गरेको थियो । नगरपालिकाले टेण्डर आह्वान गर्दापनि टावर सञ्चालनका लागि आवेदन नै परेन । अन्नत नगरपालिका आफैले परिक्षणका लागि सञ्चालनमा ल्याएको छ ।

    कोहलपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि भनेर निर्माण गरिएको भ्यु टावर लामो समयदेखि प्रयोगविहीन अवस्थामा थियो । भ्यु टावर तत्कालीन नगर प्रमुख लुटबहादुर रावतको पालामा शिलान्यास गरिएको हो । ५ करोड ५३ लाख लागतमा निर्माण भएको  भ्यु टावर शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । भ्यु टावरबाट  कोहलपुरबाटछ कोहलपुरको मनोरम् दृष्य अवलोकन गर्न सर्वसाधारणका लागि खुल्ला गरिएको नगरपालिकाले जनाएको छ ।

    करोडौ लागतमा निर्माण गरिएको टावर लामो समयसम्म प्रयोगविहीन हुँदा राम्रो सन्देश जाने भन्दै नगरपालिका आफैले सञ्चालनमा ल्याएको कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य इश्वरीप्रसाद विश्वकर्माले जानकारी दिए । उनका अनुसार अब भ्यु टावरको सञ्चालन र व्यवस्थापन सबै नगरपालिकाले गर्नेछ । अबदेखि दैनिक सर्वसाधारणले प्रतिव्यक्ति ७५ रुपैयाँ तिरेर प्रवेश गर्न पाउनेछन् । गोलपार्कको सञ्चालन, टिकट काट्न र सुरक्षा व्यवस्थाका लागि नगर प्रहरी खटाइनेछ । प्रहरी हवल्दारको नेतृत्वमा तीन जना नगर प्रहरी खटाइनेछ ।

    टिकट काट्नको लागि नगर प्रहरी खटिने नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । उनका अनुसार गोलपार्कको सुरक्षा व्यवस्था नगर प्रहरीले नै सम्हाल्नेछ ।  यस्तै रातीको समयमा पनि दुई जना नगर प्रहरी परिचालन गरिने उनले बताए । गोलपार्क भित्र खानेपानी र शौचालयको व्यवस्था रहेको नगर प्रमुख थापाको भनाइ छ  ।

    ‘गोलपार्क परिक्षण कालका लागि सञ्चालनमा आएको छ ।  तत्काल नगरपालिकाले आफै सञ्चालन गर्ने हो । यसको सम्पूर्ण सुरक्षा व्यवस्था नगर प्रहरीले गर्नेछ,’ उनले भने, ‘पछि विस्तारै पर्यटकका लागि नास्ता खाने देखि अन्य व्यवस्था पर्यटकको चाप हेरेर हुनेछ । त्यसको लागि सम्पूर्ण संचरना तयार भइसकेको छ ।’

    भ्यु टावर सञ्चालनका लागि नगरपालिकाले निकै सास्ती व्यहोर्नु प¥यो । तीनपटक टेण्डर आह्वान गर्दासमेत आवेदन परेन ।  भ्युटावर सञ्चालन गर्न कार्यपालिका बैठक बसेर ११ नम्बर वडाका अध्यक्ष कल्पना शर्माको संयोजकत्वमा ५ सदस्यीय भ्युटावर व्यवस्थापन समिति गठन गरेको थियो ।  समितिले प्रतिवेदन बुझायो । तर भ्यु टावर सञ्चालनमा आउन सकेन । अन्तत बाध्य भएर नगरपालिकाले आफै सञ्चालनको निर्णय लिएको हो ।

  • २७ माघ २०८०, शनिबार १४:२४ प्रकाशित

  • Nabintech