‘स्थानीय तहको विकास गर्न संघ र प्रदेशमा निर्भर हुनुपर्ने बाध्यता छ’ : नगर प्रमुख पूर्ण प्रसाद आचार्य (अन्तरवार्ता)

  • नमस्ते कर्णाली

  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको ट्रान्जिट हो, कोहलपुर नगरपालिका । बाँकेको जिल्लाको उदाउँदो सहरको रुपमा रहेको कोहलपुर विकासोन्मुख अवस्थामा छ । घना बस्ती विकास हुँदै गइरहेको कोहलपुरमा विविधतायुक्त छ । पश्चिम नेपालमै राम्रो सहर हुने सम्भावना बोकेको कोहलपुरको बृहत्त विकासको खाँचो छ । बाँके जिल्लाको एकमात्र नगरका रुपमा रहेको कोहलपुरको विद्यामान अवस्था, यहाँको विकास, सम्भावना र चुनौतीको विषयमा केन्द्रित रहेर नमस्ते कर्णालीका लागि शुभाकर विश्वकर्माले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यसँग गरेको कुराकानीको सम्पादित अंश :

    १. सर्वप्रथम कोहलपुर नगरपालिकाको नगर प्रमुखका रुपमा जनताको सेवा गरिरहँदा अहिलेसम्म कस्तो अनुभव रहयो बताइदिनुहोस् न ?
    मैले जनप्रतिनिधिको रुपमा जनताको सेवा थालेको दुई वर्ष पुग्न लाग्यो । हामी जनताबाट निर्वाचित भएर आएको २२ महिना चलिरहेको छ । यो बीचमा कोहलपुर नगरपालिकामा हामीले गरेका,गर्न खोजेका,गर्न चाहिरहेका कामका बारेमा आम नागरिकको चासो रहेको छ । हामीले गर्ने हरेक काममा जनताहरुको चासो मात्रै होइन हामीसँग थुप्रै अपेक्षासमेत छ । हामीले सबैभन्दा पहिला विश्वासको वातावरण बन्नुपर्छ, आम नागरिकले यो पालिका हाम्रोपनि हो । जनतप्रतिनिधि हाम्रा हुन् भन्नका लागि जनप्रतिनिधिहरुको व्यवहार कार्यशैली पारदर्शी हुनुपर्छ भन्ने हाम्रो प्रतिबद्धता थियो । सोही अनुसार हामी लागिरहेका छौं । मुख्य कुरा पारदर्शिताको कुरा हो । विधि पद्धती अबलम्बन गर्ने कुरा हो । अहिलेसम्म हेर्दा तीनै तहका जनप्रतिनिधिहरुमा जनताको विश्वासको वातावरण नभएको मैले पाएको छु । किन भने सबै मान्छेहरुले काम गर्न सकेनन् भन्ने सुनिन्छ । यो निकै गम्भीर कुरा हो । यसको कारण हामी सत्यको नजिक पुगेका छैनौ भन्ने लाग्छ । सीमित स्रोत र साधनका बाबजुत कोहलपुरमा हामीले केही नयाँ गर्न खोजिरहेका छौं । हामी निर्वाचित भएर आइसकेपछि अघिल्लो सरकारले गरेका कामहरुलाई निरन्तरता दियौ । बसपार्क, भ्युटावर र कवर्ड हल लगायतका कामलाई हामीले पूर्णता दिने पर्यन्त गरेका छौं । यस्तै प्रशासनिक दायित्वसमेत लिन पर्यो । पहिलो वर्ष हामीले हाम्रो नीति अनुसार काम गर्न सकेनौ । अहिले चलिरहेको आवमा विकराल अवस्थामा रहेका क्षेत्रलाई प्राथमिकता दिएको छ । शिक्षातर्फ यसपटक बढी नै लगानी गरिएको छ । शिक्षा विकास हाम्रो प्राथमिकता रहेको छ । विद्यालयको अवस्था बिकराल छ । विद्यालयहरु शौचालय नभएको अवस्था झेलिरहेका छन् । शैक्षिक गुणस्तरमा ध्याना दिएका छौ । हामीले ठूला योजनामा हात हालेका छैनौ । आधारभुत कुरा सम्बोधनतर्फ हामीले ध्यान केन्द्रित गरेका छौं ।

    २. कोहलपुरको नगरप्रमुखको उम्मेदवार हुँदा गरेका बाचा र प्रतिबद्धताहरु नगरप्रमुखको रुपमा काम गरिरहेका अहिलेसम्म कतिको पूरा भए, तपाईंको अहिलेसम्मको आत्मसमीक्षा के हो ?
    ठ्याक्कै प्रतिशतका हिसाबमा चाहीँ म भन्न सक्दिन । घोषणापत्र तपाईंहरुसँग छ भने शिक्षालाई मैले प्राथमिकता दिएको थिए । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा हामी हिडिरहेका छौं । पहिलो वर्ष र यो वर्ष पनि हामीले पुरानो सरकारका योजनाहरुलाई निरन्तरता दिनुपर्ने बाध्यतामा रहेका छौं । ती योजनाहरु अहिलेपनि निर्माणको प्रक्रियामा छन् । सीमित बजेट र सीमित स्रोधन भएको हामी जस्तो स्थानीय सरकारसँग काम गर्न धेरै नै समस्या रहेको छ । पूर्ववर्ती सरकारका कामलाई नै निरन्तरता दिनुपरेको छ । यस हिसाबले अहिलेसम्म हामी ठूलो अन्यायमा छौं । हाम्रा मिसन र भिजन प्रस्तुत गर्नै सकिरहेका छौं । मिसन र भिजन भएर मात्रैपनि काम हुँदो रहेनछ । त्यसको लागि आर्थिकको आवश्यक पर्छ । हामीसँग स्रोत साधन एकदमै न्युन रहेको छ । त्यसले गर्दा हामी यता अल्झिरहेका छौं । तथापि कोहलपुरको आर्थिक सुशासनको पाटोमा मैले बढि नै ध्यान दिएको छु । यस सम्बन्धमा कतिपय नीतिगत निर्णयहरुपनि भएका छन् । विशेष गरी मेरो चाहना, कोहलपुरलाई हरित नगरका रुपमा विकसित गर्ने रहेको छ । सोही अनुसार मैले काम पनि अघि बढाएको छु । निश्चित उद्देश्य लिएर म अघि बढिरहेको छु ।

    ३. २२ महिनाको अवधिमा कोहलपुरको समृद्धि र विकासका लागि देखिने गरि भएका काम के के हुन् ?
    यसमा थुप्रै कुरा छन् । संस्थागत सुधार हामीले सुरु गरेको देखिने गरी भएको काम हो । त्यसका लागि हामीले लिएका नीतिहरु हेर्दापनि थाहा हुन्छ । खरिद् प्रक्रियादेखि कुपन सिस्टमको अन्त्यको लागि थुप्रै काम भएका छन् । हामी आएपछि आजका मितिसम्म कोटेशनका काम भएका छैनन् । प्रशासनिक खर्च नियमन निर्देशिका नै बनाएर हामीले काम सुरु गरेका छौं । कर्मचारी, शिक्षक छनौटलाई पारदर्शी रुपमा बनाइयो । खेलकुद क्षेत्रको विकासका लागि हामीले राष्ट्रिस्तरका प्रतियोगितासमेत सञ्चालन गरेका छौं । युवाहरुलाई सञ्जालमा आवद्ध गरेर मागमा आधारित योजना तर्जुमा गरिएको छ ।

    ४. कोहलपुर नगरपालिकाको विकासका लागि पूर्वाधार विकासका लागि के कस्ता कामहरु भएका छन् नी ?
    सुरुमा पनि मैले केही कुरा भनेको छु । कोहलपुर बाँके जिल्ला मात्रै होइन । पश्चिम नेपालको उदाउँदो सहर हो । यसमा तीनै वटा सरकारले नीतिगत रुपमै व्यवस्था गरेर लगानी गर्नुपर्ने देखिन्छ । यदि त्यसो गर्न सकियो भने कोहलपुरको विकासले फड्को मार्छ । शिक्षा, स्वास्थ्य,रोजगार र उद्यमशिलता जस्ता कुराहरुमा बढि नै लगानी गर्नुपर्ने मैले देखेको छु । अहिलेसम्मकोको अवस्था हेर्ने हो भने प्रदेश र संघीय सरकारले कोहलपुरको विकासका लागि चाँसो राखेको पाइदैन । अहिलेसम्म संघ र प्रदेशबाट कोहलपुरको पूर्वाधार निर्माणको लागि न बजेट नै आएको छ । न त कुनै योजना नै सञ्चालनमा छन् । हामी निर्वाचित भएपनि संघीय सरकारका विभिन्न मन्त्रालयहरुमा कोहलपुरको विकासका लागि अपील गर्दै आइरहेका छौं । तर अस्थिर राजनीतिका कारण हाम्रा योजनाले पूर्णता पाउन सकेका छैनौं अस्थीर राजनीतिको मारमा स्थानीय तहको विकास परेको छ । देशका बहुसंख्यक स्थानीय सरकार आत्मनिर्भर छैनन् । हामीपनि परनिर्भर छौं । प्रदेश र वित्तीय सहयोगको भरमा हामी चलिरहेका छौं । यो निकै ठूलो समस्या हो । आन्तरिक स्रोतबाट प्राप्त हुनेर रकमले ठूला योजना सञ्चालन गर्न पुग्दैन । यहाँको बसाइँसराइँको दर हेर्न विकास कछुवा गतिमा भइरहेको छ । स्थानीय सरकारले मात्रै ठुलै विकास गर्न सक्ने अवस्थामा छैन । तर पनि हामी विभिन्न निकायसँग समन्वय गरिरहेका छौं ।

    ५. कोहलपुर नगरपालिकामा खानेपानी र विद्युतीकरण प्रमुख समस्याका रुपमा रहेको छ, यसतर्फ ध्यान दिनु भएको छ की छैन ?
    यो अति महत्वपूर्ण प्रश्न हो, कोहलपुर नगरपालिकामा विशेषगरी खानेपानी र विद्युतको समस्या एकैपटक देखापर्छ । गर्मीको सिजनमा चैत्रदेखि असारसम्म यहाँका नागरिकले यस्तो समस्या व्यहोर्दे आएका छन् । धेरैबाट खानेपानी र विद्युतको भोल्टेज पुगेन भन्ने गुनासो आउँछ । कतिपय बजार भित्र र बाहिरी क्षेत्रमा समेत यस्ता समस्या बेलाबेलामा देखिने गरेका छन् । विकास गर्ने कुरा एकैपटक नहुने रहेछ । कोहलपुरमा खानेपानीको खास्सै देखिन्न । क्रमश खानेपानीको समस्याबाट मुक्त हुने चरणमा हुनुहुन्छ । किन भने कोहलपुरमा धेरै खानेपानीका योजना निर्माणधिन अवस्थामा रहेका छन् । यद्यपी यहाँको बसाइँसराइ र आवाधि जुन हिसाबमा बढिरहेको त्यसले गर्दा ठूलो खानेपानी आयोजना आवश्यकता छ । विद्युत विस्तारको कुरामा पनि बजार क्षेत्रमा खास्सै समस्या देखिन्न । ग्रामीण क्षेत्रहरुमा भने समस्याहरु छन् । ती समस्या समाधानका लागि विद्युत प्राधिकरणसँगको समन्वयमा हामीले विद्युत विस्तारलाई तिव्रता दिएका छौं । प्राधिकरण नाफामुखी संस्था हो । त्यसैले उसले जतिसक्दो सेवा विस्तार गर्छ । हामीले पनि उसँग मिलेर काम गरिरहेका छौं । विद्युत प्राधिकरणले केही महिना अघि हामीलाई एउटा पत्रसमेत पठाएको थियो । त्यहाँ उसले समस्या भएका क्षेत्र पहिचान गरी विद्युत विस्तार गर्ने कुरा सुनाएको थियो । हामीले वडाहरुलाई समन्वय गरेर धेरै ठाउँमा विद्युत विस्तार भएको छ ।
    ६. तपाईंको घोषणपत्र र प्रतिबद्धतामा कृषि क्षेत्रको विकास गरेर स्वरोजगार निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने भएको कुरा उल्लेख थियो । अहिलेसम्म स्वरोजगार निर्माण र रोजगारी सिर्जनाका साथै स्वास्थ्य क्षेत्रको विकासका लागि के के काम भएका छन् ?
    कृषि हाम्रो सम्भावना हो । कृषि क्षेत्रमा लागेका साथीहरुको अपेक्षा नगद् अनुदान रहेको मैले पाए । तर सरकारको नीति अनुदानमा आधारित छ । सुरुमा यस्तो पनि चलेको रैछ । सुरु सुरुमा प्रदेश सरकारहरुले यस्तो काम पनि गरेका रहेछन् । पालिकालेसमेत दिएका रहेछन् । झोलामा फर्म बोकेर अनुदान खानकै लागि दर्गुर्ने प्रविधि जायरै छ । नक्कली कृषक बनेर राज्यबाट अनुदान लिएका धेरै छन् । हामी आएपछि नगद् अनुदानलाई निरुत्साहित गरेका छौं । प्रविधि र प्राविधिकलाई कुनैपनि व्यवसायीलाई निरुत्साहित नगर्न र प्राविधिक सहयोग गर्न निर्देशन दिइएको छ । कृषि प्रविधिको सहयोगलाई जोड दिइएको छ । र कृषिका सम्भावना छ । तर यहाँका विकास र कृषि क्षेत्रको विकास विरोधाभास रुपमा रहेका मैले पाएको छु । विकास पनि गर्नुपर्ने छ । विकासको लागि पूर्वाधार बनाउनुपर्छ । त्यसको लागि जग्गा चाहिन्छ । यसले गर्दा खेतीयोग्य जमिन मासिदैँ गएको छ । जमिन नमासी विकास पनि हुँदैन । त्यसैले विकास र कृषि क्षेत्रको विकास विरोधाभासा छन् । सहरीकरण र कृषिकरण सँगै जादोँ रहेनछ । हामीले कृषि क्षेत्रको विकासका लागि तालिम दिन्छौ भन्छौ । उहाँहरु अहिलेसम्म आउनु भएको छैन । केही क्षेत्र कृषिमा राम्रो सम्भावना भएका क्षेत्र छन् । किसानहरुले कृषि खेती गरिहेका छन् । हामीले उहाँहरुलाई प्रोत्साहनपनि गरिहेका छौं । कृषि क्षेत्रको विकासलाई पनि प्राथमिकता दिएका छौं । त्यसैले कृषि क्षेत्रमार्फत पनि विकास गर्न सकिन्छ ।

    ७. कोहलपुरमा सुकुम्बासी समस्या प्रमुख समस्याका रुपमा रहेको छ, समस्या समाधानका लागि अहिलेसम्म के कस्ता प्रयास भएका छन् ?
    यो मुद्दा लामो समयदेखि रहदै आएको छ । यो देशव्यापी मुद्दासमेत हो । त्यसैले कोहलपुरमा पनि लामो समयदेखि बहसको विषय बन्दै आएको छ । भूमि आयोगले पनि काम गरिरहेका छ । आयोगसँगको समन्वयमा हामीले कोहलपुरका बहुसंख्यक वडामा जग्गा नापजाँच सुरु गरिसकेका छौं । वडा नम्बर १ बाट लालपूर्जा वितरणको कार्यसमेत सुरु हुन लागिसकेको छ । यो कार्यका लागि म निरन्तर आफै सक्रिय भएर पनि लागिरहेको छु । हाम्रौ पालामा यस्तो समस्या समाधानको पहल भएको छ । वडा नम्बर १ बाट सुरु हुन्छ । त्यसपछि क्रमश अन्य वडामा समेत वितरण गर्छौ कोहलपुरका २० औँ हजारलाई लालपूर्जा वितरण गर्ने हाम्रो लक्ष्य रहेको छ । अब कुनैपनि नागरिकले लालपूर्जा विहीन अवस्थामा पुग्नुपर्ने छैन ।

    ८. कोहलपुर नगरपालिकाको विकासका लागि जनप्रतिनिधि र कर्मचारीहरुबीच कस्तो समन्वय हुने गरेको छ ?
    जनप्रतिनिधिले नीतिगत निर्णय गर्ने हो । कर्मचारीहरुलाई त्यसलाई कार्यान्वयनमा लैजाने हो । कोहलपुरको सन्दर्भमा विगतमा के थियो भन्ने कुरा मैले खासै चासो दिएर हेरेको पनि छैन । तर यहाँ प्रमुख प्रशासकीय अधिकृत नटिक्ने समस्या थियो । त्यो चाँही हामी आएपछि अन्त्य गरेऔँ । एक जना कर्मचारी एक वर्ष भन्दा बढी टिक्ने वातावरण हामीले सुरु गरेको हो । अहिले पनि त्यसलाई निरन्तरता दिने तरखरमा हामी छौं । नीतिगत कुरा कार्यान्वयनमा कर्मचारीहरुको सहयोग र समर्थन आवश्यक छ । यसमा जनप्रतिनिधिहरुले पनि साथ दिनुपर्छ । अहिलेसम्म कर्मचारीहरुबाट असहयोग भएको महशुस मैले गरेको छैन । दुवै सरकार मिलेर कोहलपुरको समृद्धिको यात्रामा सहकार्य गरिरहेका छौं । धन्यवाद ।।

  • २५ फाल्गुन २०८०, शुक्रबार १०:१६ प्रकाशित

  • Nabintech