लुम्बिनी प्रदेशमा ‘डोर टु डोर’ पशु उपचार अभियान, बाँझोपन समस्याबाट किसानलाई राहत

  • नमस्ते कर्णाली

  • बाँके ,१९ भदौ।
    मानिसलाई जस्तै पशुलाई पनि नियमित जाँच र उचित उपचार आवश्यक हुन्छ। यसतर्फ बेवास्ता हुँदा नेपाली किसानले हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको क्षति बेहोर्दै आएका छन्। हाल पशुपालक किसानका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ—पशुमा देखिने बाँझोपन समस्या। देशभर करिब २० प्रतिशत गाईभैंसीमा यो समस्या देखिने गरेको छ।

    यस समस्याको समाधानका लागि लुम्बिनी प्रदेश सरकारले सबै १२ जिल्लामा ‘डोर टु डोर’ पशु उपचार कार्यक्रम सञ्चालन गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको यस कार्यक्रममार्फत पशु चिकित्सकको टोली किसानकै गोठमा पुगेर जाँच, उपचार र परामर्श सेवा दिइरहेका छन्।

    प्रदेशका कृषि मन्त्री दिनेश पन्थीका अनुसार कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाइएको छ। उपचारपछि ९० दिनमा पुनः फलोअप हुने व्यवस्था गरिएको छ। जानकी गाउँपालिका–५ का वडाध्यक्ष टिकानाथ यादवका अनुसार बाँझोपन निवारणपछि किसान उत्साहित भएका छन्।

    पशु चिकित्सक जगतराम यादवले पोषणको कमी, रोग, हर्मोन असन्तुलन, ‘लम्पी स्किन’ महामारी, वंशाणुगत कारण तथा पाठेघरमा ट्युमर बन्ने जस्ता समस्याले पशुमा बाँझोपन देखिने गरेको बताए।

    प्रदेश सरकारका अनुसार ‘डोर टु डोर’ कार्यक्रम किसानमुखी पहलका रूपमा स्थापित हुँदै गएको छ। यसले उत्पादनमा वृद्धि, दूधमा आत्मनिर्भरता र किसानको मनोबल उच्च बनाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

  • १९ भाद्र २०८२, बिहीबार १७:१६ प्रकाशित

  • Nabintech