मदन भण्डारी राजमार्ग : सुर्खेतको जीवनरेखा बन्दै, विकास र सम्भावनाको नयाँ ढोका खुल्दै

  • नमस्ते कर्णाली

  • ९, पुस २०८२
    सुर्खेत ।कुनै समय सुर्खेतका पूर्व र पश्चिम भेगका बासिन्दाका लागि यात्रा आफैंमा संघर्ष थियो । कच्ची सडक, वर्षायाममा हिलाम्मे बाटो र घण्टौँ लामो जोखिमपूर्ण यात्राले नागरिकको दैनिकी कठिन बनाएको थियो । २०३२ सालमा धुलियाविट–गुमी–भेडावारी र २०५१ सालमा बड्डीचौर–बावियाचौर–विद्यापुर–गुटु–विजौरा–वेतान–लगाम सडक ट्र्याक खोलिए पनि राष्ट्रिय प्राथमिकतामा नपर्दा यी क्षेत्रका नागरिक वर्षौँसम्म कष्टकर यात्रामा बाध्य थिए ।
    सुर्खेत जिल्लालाई छोएर राष्ट्रिय प्राथमिकतामा राख्दै निर्माण थालिएको मदन भण्डारी राजमार्गले भने अब त्यो पीडादायी इतिहास बदल्ने आशा जगाएको छ । यो राजमार्ग सुर्खेतका नागरिकका लागि केवल सडक मात्र होइन, विकास, समृद्धि र सम्भावनाको नयाँ ढोका बन्दै गएको छ ।

    सुर्खेतको पूर्वी भाग गुर्भाकोट नगरपालिकाको भेडावारीबाट सुरु हुने मदन भण्डारी राजमार्ग पश्चिम चौकुने गाउँपालिकाको पाल्पाघाट हुँदै सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला प्रवेश गर्छ । गुर्भाकोट, लेकवेशी, वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका प्रत्यक्ष लाभग्राही बनेका छन् । सुर्खेतको मध्य भाग भएर पूर्व–पश्चिम जोड्ने यो सडकलाई जिल्लाकै ‘लाइफलाइन’ का रूपमा लिने गरिएको छ ।
    जिल्लाभित्र करिब १७७ किलोमिटर फैलिएको यस राजमार्गले भौगोलिक दूरी घटाउँदै नागरिकको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ । राजमार्गअन्तर्गत सल्यान सीमाको रैकरदेखि बड्डीचौरसम्म ८३ किलोमिटर र बड्डीचौर–लगाम–पाल्पाघाट खण्ड ९४ किलोमिटर सडक पर्दछ । यसअघि बोटेचौर–मालारानी–दाङ तुलसीपुर जोड्ने सडक अहिले सल्यान हुँदै रोल्पासम्म विस्तार भइसकेको छ । रैकर–बोटेचौर–भेडावारी र धुलियाविट–बाँगेशीमल–बड्डीचौर खण्ड यसअघि नै कालोपत्रे भइसकेका छन् ।
    हाल वीरेन्द्रनगरको धुलियाविट खण्डमा प्रि–मिक्स प्रविधिबाट कालोपत्रे भइरहेको छ । विद्युत् प्राधिकरणका पोल समयमै नसारिँदा केही ढिलाइ भए पनि काम निरन्तर अघि बढिरहेको छ । भेडावारी–गुमी–धुलियाविट सडक कालोपत्रे भएसँगै पूर्वी सुर्खेतका बासिन्दाले सहज र सुरक्षित यात्रा गर्न थालेका छन् ।
    कालिका–केएस भेरासी जेभीले एक अर्ब तीन करोड लागतमा धुलियाविट–भेडावारी ३५ किलोमिटर सडक २०७८ असार २८ गतेदेखि निर्माण थालेको हो । अहिले वीरेन्द्रनगर–छिन्चु हुँदै कर्णालीका उत्तर–पूर्वी जिल्लासहित दाङ, बुटवल र काठमाडौं जाने सवारी साधन यही मार्ग प्रयोग गरिरहेका छन् ।

    सडक कालोपत्रे भएसँगै स्थानीय कृषकले उत्पादन गरेका तरकारी, फलफूल र अन्न बजारसम्म पुर्‍याउन सहज भएको छ । समय र खर्च दुवै घट्दा स्थानीय आर्थिक गतिविधिमा उत्साह थपिएको छ । चौकुनेका स्थानीय हरी भण्डारी भन्छन्, “हिजो सदरमुकाम पुग्न दिन बित्थ्यो, आज यात्रा छिटो र सुरक्षित बन्दैछ । सडकले हाम्रो जीवन मात्रै होइन, आशा र सपना पनि जोडेको छ ।”
    पश्चिम सुर्खेततर्फ खम्बगाडे–गुटु–बल्दे–लगाम सडक दुई प्याकेजमा निर्माण भइरहेको छ । विद्यापुर–गुटु–बल्दे खण्डको करिब २२ किलोमिटरमध्ये ११ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ । २०७९ फागुन १७ देखि सुरु भएको यो आयोजना बानियाँ मोतिदान डी.एस. जेभीले एक अर्ब २१ करोड लागतमा निर्माण गरिरहेको छ । केही स्थानमा विवादका कारण काम प्रभावित भए पनि बाँकी खण्ड तीव्र गतिमा अघि बढेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर टोपनारायण पौडेल बताउँछन् ।

    सुर्खेत पश्चिमतर्फ महँगो तर दीर्घकालीन अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे भइरहेको छ । निर्माण व्यवसायीलाई आगामी फागुन १६ सम्म काम सक्ने समयसीमा दिइएको छ । सडक सम्पन्न भएपछि सुर्खेतका दुर्गम बस्तीहरू राष्ट्रिय सडक सञ्जालसँग जोडिने अपेक्षा गरिएको छ ।
    तेस्रो प्याकेजअन्तर्गत चौर खोला–विद्यापुर १० किलोमिटर र बल्दे–लगाम १५ किलोमिटर गरी २५ किलोमिटर सडक निर्माण भइरहेको छ । यसको लागत एक अर्ब ३६ करोड रुपैयाँ छ । आगामी असारसम्म चौर खोला–विद्यापुर खण्ड कालोपत्रे सक्ने लक्ष्य राखिएको छ ।
    राजमार्गको सुर्खेत खण्डमा २३ वटा पक्की पुल आवश्यक पर्नेमा हालसम्म १६ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । कर्णाली नदीको पाल्पाघाटमा पक्की पुल निर्माण भएमा राजमार्ग सुदूरपश्चिमको डोटीसँग प्रत्यक्ष जोडिनेछ । यसले दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, अछाम तथा कैलालीका उत्तरी भेगका नागरिकलाई सुर्खेत हुँदै दाङ, बुटवल र काठमाडौं पुग्न छोटो दूरी उपलब्ध गराउनेछ ।

    मदन भण्डारी राजमार्गले केवल सडक निर्माण मात्र होइन, पश्चिम सुर्खेतका गाउँ–बस्तीमा जीवनको दूरी घटाउँदै अवसर र आशाको बाटो खोल्दै लगेको छ । पहिले घण्टौँ लाग्ने यात्रा अब छिटो, सहज र सुरक्षित बन्दै जाँदा सुर्खेत विकासको नयाँ यात्रामा अघि बढिरहेको छ ।

  • ९ पुष २०८२, बुधबार ०६:१७ प्रकाशित

  • Nabintech