बाँकेमा एमालेद्वारा वामपन्थी आन्दोलनका ६५ अग्रज नेता सम्मानित

  • नमस्ते कर्णाली

  • १४, माघ २०८१
    बाँके। बाँकेमा वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्ने अग्रज नेताहरूलाई सोमबार नेपालगञ्जमा सम्मान गरिएको छ। नेकपा (एमाले) बाँके शिक्षा तथा मानव स्रोत विभागको आयोजनामा सम्पन्न कार्यक्रममा नेकपाका संस्थापक सचिव स्व. रूपसिंह सिँजापतिसहित ६५ जना अग्रज नेताहरूलाई सम्मान गरिएको छ।२०२३ सालमा पार्टी सदस्यता प्राप्त गरेका केन्द्रीय सल्लाहकार तथा पूर्व सांसद बाबुराम गौतम, रोमहर्ष धिताल लगायतका अग्रज नेताहरूलाई सम्मान गरिएको हो।

    कार्यक्रममा नेकपा (एमाले) का सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले अग्रजहरूको योगदानले पार्टीलाई सही मार्गमा अघि बढ्न प्रेरित गरेको बताउँदै सम्मानले पार्टीप्रति थप जिम्मेवारीको भावना सिर्जना गर्ने धारणा राखेका छन् । “तपाईं अग्रजहरूको योगदानले नै पार्टी आजको अवस्थामा पुगेको हो। तपाईँहरूको मार्गदर्शनले हाम्रो यात्रा निरन्तर प्रगतिशील छ,” अर्यालले भनिन।

    सम्मानित नेताहरूमा रहेका खजुरा–२ का भक्तबहादुर केसीले पार्टी निर्माणमा आफूहरूले दिएको योगदानलाई स्मरण गर्दै जनताको पक्षमा केन्द्रित हुनेतर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराइन। उनले भनिन् , “पार्टीको आधार निर्माणका लागि हामीले धेरै मेहनत गर्यौं। अब जनताको हितलाई प्राथमिकतामा राख्न जरुरी छ।”

    नेकपा (एमाले) बाँके शिक्षा तथा मानव स्रोत विभागका प्रमुख सूर्य रोकायले पार्टी निर्माणका आरम्भिक दिनदेखि नै सक्रिय अग्रज नेताहरूको सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने बताए। रोकायका अनुसार, २०४६ सालभन्दा अघि नै पार्टीको संगठित सदस्यता लिएका नेताहरूलाई सम्मान गरिएको हो।

    पार्टीका आधार निर्माणमा अग्रज नेताहरूको भूमिकालाई स्मरण गर्दै कार्यक्रमले नेकपा (एमाले) ले पुराना नेतृत्वप्रति आफ्नो जिम्मेवारी र कृतज्ञता दर्शाएको छ। सम्मानित नेताहरूको योगदानले वामपन्थी आन्दोलनको जग बलियो बनाएको र आगामी दिनमा पनि उनीहरूको मार्गदर्शन पार्टीका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरिएको छ।

  • १४ माघ २०८१, सोमबार १९:०९ प्रकाशित

  • Nabintech