१०, चैत्र १०८१
बाँके ।राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल क्षेत्रबाट सुरु भई बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भइसकेको छ।
२०७० साल माघ १५ गतेदेखि निर्माण सुरु गरिएको यो खण्डको पहिलो सिंगल कालोपत्रको काम आगामी दुई दिनभित्र सम्पन्न हुने योजना प्रमुख ई. लिला बहादुर भण्डारीले जानकारी दिनुभयो। हाल ८ मिटर मात्र कालोपत्र गर्न बाँकी रहेको र चैत २५ गतेभित्र सम्पूर्ण खण्डमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
निर्माण कम्पनीले रु २ अर्ब ७८ करोड २९ लाख मा ठेक्का लिएको थियो। यद्यपि, कम्पनीले तीव्र गतिमा काम गरिरहेकाले निर्धारित समयभन्दा अघि नै काम सम्पन्न हुने सम्भावना रहेको भण्डारीले बताउनुभयो।
नेपालगञ्ज–गुलरिया खण्डको कूल लम्बाइ २७.६ किलोमिटर रहेको छ। जसमध्ये ११.६ किलोमिटर भागमा चार लेनमा सडक निर्माण गरिएको छ। बाँकी १६ किलोमिटर खण्डमा दुई लेनमा निर्माण भइरहेको छ, जहाँ करिब ३ किलोमिटर डबल कालोपत्र गर्न बाँकी छ।
निर्माण सम्पन्न भएसँगै नेपालगञ्ज र गुलरिया बीचको यात्रा छिटो, सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ। हुलाकी राजमार्गको स्तरोन्नतिले स्थानीयवासीको यातायात व्यवस्थापनमा सुधार ल्याउनुका साथै व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
निर्माण कम्पनीको सक्रियता र निर्देशनालयको प्रभावकारी अनुगमनका कारण निर्माण कार्य समयमै सम्पन्न हुनेमा सरोकारवालाहरू आशावादी छन्।