सांसद सूर्य ढकालको प्रश्न– “२००७ सालदेखि एक पनि प्रधानमन्त्रीले पाँच वर्ष शासन गर्न नसक्नुको कारण के?”

  • नमस्ते कर्णाली

  • २६, बैशाख २०८२

    बाँके । प्रतिनिधि सभा बैठकमा बाँके क्षेत्र नं. १ बाट निर्वाचित सांसद सूर्य ढकालले मुलुकको दीर्घकालीन अस्थिरता, कमजोर आर्थिक प्रशासन र नागरिक सरोकारका विषयमा सदन गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।

    सभामुखको ध्यानाकर्षण गराउँदै सांसद ढकालले भने, “२००७ सालदेखि आजसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष शासन पूरा गर्न सकेनन्। किन यस्तो अस्थिरता कायम रहन्छ? यसबारे सदनमा गम्भीर बहस आवश्यक छ।”

    सांसद ढकालले काठमाडौँ उपत्यकाको दैनिक ट्राफिक जामको समस्या उठाउँदै १५ मिनेट लाग्ने बाटोमा एक घण्टा लाग्ने अवस्थालाई व्यवस्थापकीय असक्षमता भने। “ट्राफिक समस्या समाधानका लागि ठोस योजना र दीर्घकालीन दृष्टिकोण किन अपनाइँदैन?” भन्ने प्रश्न गर्दै उनले शहरी योजना र सार्वजनिक यातायात व्यवस्थापनमा आमूल सुधारको माग गरे।

    उद्योग र प्राविधिक शिक्षाको विषयमा बोल्दै ढकालले प्राविधिक शिक्षा परिषद् (CTEVT) मा १३ वर्षदेखि रोकिएका ४ हजारभन्दा बढी निवेदनबारे पनि आवाज उठाए। “हामी कर तिर्छौं, रोजगारी सिर्जना गर्छौं, सरकारकै सिफारिसमा विद्यार्थी निःशुल्क पढाउँछौं। तर, अनुमति किन दिइँदैन? हामीलाई अनुभूति किन गराइँदैन?” भन्दै उनले निजी क्षेत्रप्रतिको सरकारी दृष्टिकोणको पुनरावलोकन गर्नुपर्ने बताए।

    सांसद ढकालले सरकार स्वामित्वमा रहेका संस्थानहरू लगातार घाटामा जानु, पुँजीगत खर्च ३५ वर्षसम्म ४० प्रतिशतभन्दा माथि नपुग्नु, र राजस्व वृद्धिमा सदनको चासो नहुनुलाई गम्भीर नीति असफलताको संकेत बताए। “संसदमा राजस्व वृद्धि र खर्चको प्रभावकारिता जस्ता विषयमा किन बहस हुँदैन? नीति होइन, अब परिणाम चाहिन्छ,” उनले जोड दिए।

    उनले अन्त्यमा भने, “यस्ता बहस सदनभित्र गम्भीर रूपमा उठ्नुपर्छ। साझा दृष्टिकोण बनाएर कार्यान्वयनतर्फ उन्मुख हुन सभामुखज्यूको सक्रिय भूमिका आवश्यक छ।”

  • २६ बैशाख २०८२, शुक्रबार २०:२९ प्रकाशित

  • Nabintech