बाँकेमा भूमिहीनलाई धमाधम लालपुर्जा वितरण, कोहलपुर र राप्ती सोनारीमा तीव्र प्रक्रिया

  • नमस्ते कर्णाली

  • २५, जेष्ठ २०८२

    बाँके । भूमि समस्या समाधान आयोगले बाँके जिल्लामा भूमिहीन नागरिकलाई तीव्र रूपमा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्न थालेको छ। भूमिहीन दलित, सुकुम्वासी र अन्य अव्यवस्थित बसोवासीहरूलाई जग्गा सुनिश्चित गर्न आयोगले प्रक्रिया तीव्र बनाएको हो।

    भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार, हालसम्म कोहलपुर नगरपालिका–१ का ११७ भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण भइसकेको छ। यस्तै, ६८ अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी गरिएको उनले जानकारी दिनुभयो।

    “विवादरहित तरिकाले प्रक्रिया पूरा गरी प्रमाणपत्र वितरण गर्छौं,” अध्यक्ष खनालले भन्नुभयो। आयोगले बाँकेको कोहलपुर, बैजनाथ, खजुरा, जानकी, राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत ढंगले काम गरिरहेको छ।

    कोहलपुर–१ मा बसोवास गर्दै आएका ६८ अव्यवस्थित बसोवासीको नाममा जग्गा दर्ता गर्न सातदिने सूचना प्रकाशन भइसकेको छ। तोकिएको समयभित्र राजस्व बुझाई आवश्यक कागजातसहित उपस्थित हुने व्यक्तिलाई लालपुर्जा वितरण गरिने अध्यक्ष खनालले बताउनुभयो। साथै, कोहलपुर–१ का थप ८६४ अव्यवस्थित बसोवासीको दाबीविरोधका लागि पनि सूचना सार्वजनिक गरिएको छ।

    यस्तै, राप्ती सोनारी गाउँपालिका–९ मा भूमिहीन दलित, सुकुम्वासी र अन्य अव्यवस्थित बसोवासीलाई निस्सा वितरण कार्य पनि सुरु गरिएको छ। वडाध्यक्ष सोहनलाल थारूका अनुसार, “वडामा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकहरूले निस्सा पाएसँगै अब लालपुर्जा पाउने बाटो खुलेको छ।”

    राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले भने, “जिल्लाको ५१ प्रतिशत भूभाग ओगटेको राप्ती सोनारीमा भूमिसम्बन्धी समस्या समाधानमा विशेष चासो दिइएको छ। भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कार्यलाई हामीले प्राथमिकता दिएका छौँ।”

    भूमि समस्या समाधान आयोगको यस कदमले जिल्लाभरिका हजारौं भूमिहीन र सुकुम्वासीलाई सुरक्षित बसोबास र कानुनी जग्गा स्वामित्वको आशा दिएको छ।

     

     

  • २६ जेष्ठ २०८२, आईतवार ०६:४९ प्रकाशित

  • Nabintech